विश्वकपअघि घरेलु मैदानमा अन्तिम खेल खेल्दै राष्ट्रिय टोली
आईसीसी टी-२० विश्वकपअघि नेपाली टोली घरेलु मैदानमा आज अन्तिम खेल खेल्दै छ।
नेपाल भ्रमणमा रहेको वेस्ट इन्डिजको ‘ए’ टोलीसँगै आज पाँचौं टी-२० खेल हुँदै छ। यसअघि भएका चार खेलमा नेपालले एक र वेस्ट इन्डिजले तीन खेल जितेका छन्।
नेपाल र वेस्ट इन्डिजबीचको खेल आज मध्याह्न १२:१५ बजे कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ। यो शृङ्खला वेस्ट इन्डिजले जितिसकेको छ।
शृङ्खलाको पहिलो खेलमा नेपाल चार विकेटले विजयी हुँदा दोस्रो खेलमा १० रन र तेस्रो खेलमा ७६ रनले पराजित भएको थियो। चौथो खेलमा वेस्ट इन्डिजसँग २८ रनले पराजित भएको थियो।
यो प्रतियोगिता सकिएसँगै नेपाली टोली टी-२० विश्वकपका लागि प्रस्थान गर्नेछ। नेपाली टोलीलाई शुक्रबार नै बिदाइ गरिसकिएको छ।
नेपाल क्रिकेट संघ (क्यान)ले रोहित पौडेलको नेतृत्वमा १५ सदस्यीय नेपाली टोली घोषणा गरिसकेको छ। विश्वकप खेल्ने टोलीमा रोहित पौडेल, आसिफ शेख, अनिल साह, कुशल भुर्तेल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, गुल्सन झा, सोमपाल कामी, प्रतिश जीसी, सन्दीप जोरा, अविनाश बोहरा, सागर ढकाल र कमलसिंह ऐरी छन्।
टी-२० विश्वकप आउँदो जेठ १९ गतेदेखि वेस्ट इन्डिज र अमेरिकामा हुँदै छ। नेपाल रहेको समूह ‘डी’ मा बाङ्लादेश, दक्षिण अफ्रिका, श्रीलंका र नेदरल्यान्ड्स छन्।
नेपालले पहिलो खेल जेठ २२ मा नेदरल्यान्ड्ससँग खेल्नेछ।