‘मानव जाति ७० हजार वर्षपछि फेरि बसाइँसराइको युगमा फर्केको छ’
इतिहासमा युद्ध र द्वन्द्वले मानिसलाई बसाइँसराइ गर्न बाध्य पार्दै आएको भए पनि अहिले वातावरणीय प्रकोपले विस्थापित गरिरहेको एक कार्यक्रमका वक्ताले बताएका छन्।
१२३ वर्षअघि मानव जाति प्रकृतिलाई प्राकृतिक रूपमै भोग्थ्यो। गर्मी मौसममा सामान्य गर्मी हुन्थ्यो, जाडोमा सामान्य जाडो। वर्षातमा सामान्य वर्षा। तर यी १२३ वर्षमा मानिसले पृथ्वीलाई आफैंले नचिन्ने गरी परिवर्तन गरिदिएको छ।
वातावरण र जलवायु परिवर्तनमा केन्द्रित भारतीय सञ्चारमाध्यम डाउन टु अर्थका सम्पादक रिचर्ड महापात्रले यी १२३ वर्षमा मानव जातिका कारण सिर्जित जलवायु परिवर्तन र त्यसका असरबारे विस्तृतमा चर्चा गरे।
हिमाल मिडिया मेलाको अन्तिम सत्रमा ‘वातावरणको राजनीति र मिडिया’ शीर्षकमा विशेष प्रस्तुति दिंदै महापात्रले वर्तमान वातावरणीय संकटको परिदृश्य प्रस्तुत गरे।
उनका अनुसार पृथ्वीका एक अर्ब मानिस स्वास्थ्यका हिसाबले सबै कोणबाट बस्न अयोग्य स्थानमा बसिरहेछन्। तीन अर्ब मानिस उच्च तापमा बाँचिरहेका छन्। ठूलो मात्रामा जीवहरू नाश भइरहेका छन्। अमेजन जंगल घाँसे मैदानमा परिणत भइरहेछ भने नेपाल मरुभूमि बन्दै छ।
नेपालका ६० प्रतिशत मानिस उच्च गर्मीमा बाँचिरहेका छन्। समुद्रको पानी तातेर आगो लागे सरह भएको छ। नयाँ नयाँ मौसमहरू सिर्जना भइरहेका छन् जसको नाम हामीलाई थाहा छैन।
“आज ४५ वर्ष वा त्योभन्दा कम उमेरको कोही मानिस छ भने उसले जीवनमा सामान्य मौसम अनुभव गरेकै छैन, कि त उच्च गर्मी कि त अति ठन्डी भोगेको छ,” महापात्रले भने, “अब यो पुस्ताले सामान्य मौसम अनुभव गर्ने नै छैन।”
यो जलवायु परिवर्तनले मानिसलाई ७० हजार वर्षअघिको इतिहासमा फर्काइदिएको महापात्रले विश्लेषण गरे। “७० हजार वर्षअघि पृथ्वीमा ठूलो जलवायु प्रकोप भएपछि मानिसहरू अफ्रिका छोडेर संसारभर फैलिएका थिए, अहिले फेरि मानिसहरू बसाइँ सर्न बाध्य छन्,” उनले भने।
उनका अनुसार २१औं शताब्दी बसाइँसराइको युग बन्दै छ। “इतिहासमा युद्ध र द्वन्द्वले मानिसलाई बसाइँ सर्न बाध्य बनाउँथ्यो। अहिले जलवायु संकटले बसाइँ सर्न बाध्य बनाइरहेको छ। युद्धले भन्दा बढी मात्रामा वातावरणीय प्रकोपले मानिसलाई विस्थापित गरिरहेको छ,” महापात्रले भने।
उनले जलवायु परिवर्तन राजनीतिक विषय भएको टिप्पणी गर्दै यससँग जोडिएका सबै समाचार राजनीतिक हुने पनि व्याख्या गरे। पत्रकारिताले अहिले प्राविधिक विषयका रूपमा यसलाई प्रस्तुत गर्दा मानवीय संलग्नताको पाटो बिर्सेको उनको टिप्पणी थियो। महापात्रको सुझाव थियो, “सबै विकासमा जलवायु हेरौं, हरेक विकासमा वातावरणीय पक्ष छ।”
यस सत्रमा उनीसँग पत्रकार कनकमणि दीक्षितले संवाद गरेका थिए। यससँगै हिमाल मिडिया मेलाको तेस्रो संस्करण सकिएको छ।
यसअघि ‘पर्यावरणको अर्थशास्त्र’ मा बोल्दै विज्ञहरूले राज्य संयन्त्रको उदासीनताले वातावरणीय अपराध बढिरहेको औंल्याएका थिए।
त्यसअघिको प्रकृति पत्रकारिताका जोखिम विषयक बहसमा पत्रकारद्वय रमेश भुषाल र रामु सापकोटाले प्राकृतिक स्रोतको दोहनमा ठूला व्यापारी, ठेकेदार र नेताको संलग्नता भएकाले यस विरुद्ध लेख्न जोखिम रहेको सुनाएका थिए।
‘खोजमूलक जलवायु वित्त’ बारे विज्ञ राष्ट्रराज भण्डारीले प्रस्तुति राखेका थिए। उनले जलवायु परिवर्तनका समस्यासँग जुध्न संयुक्त राष्ट्रसंघले स्थापना गरेको हरित जलवायु कोष (जीसीएफ) प्रभावकारी बन्न नसकेकाले नेपाल जस्ता मुलुकले आन्तरिक स्रोतको समेत खोजी गरेर विकल्पमा जानुपर्ने बताएका थिए।
जलस्रोतविद् अजय दीक्षितले जलवायु परिवर्तनले नदीमा असर परिरहेको बताएका थिए। उनले अहिलेकै गतिमा जलवायु परिवर्तन भइरहेमा आगामी २० वर्षमा नदी नै नरहन सक्ने भन्दै सचेत गराए।
त्यस्तै, पत्रकार नरेश नेवारले समाचारकक्षमा एआईको प्रयोगबारे प्रस्तुति राखेका थिए। साथै, लेखक एवं पत्रकार मोहन मैनाली र तथ्यांक विश्लेषक अरुण कार्कीले लेखनमा तथ्यांकको प्रस्तुति विषयमा बोलेका थिए।
मेलाको उद्घाटन समारोहमा माल्दिभ्सका पूर्व राष्ट्रपति मोहमद नशीदले विद्वत् प्रवचन राखेका थिए। उनी पूर्व पत्रकार एवं लेखक पनि हुन्।