‘राज्य संयन्त्रको उदासीनताले वातावरणीय अपराध बढिरहेछ’
राज्य संयन्त्रको उदासीनताकै कारण वातावरणीय अपराध बढिरहेको विज्ञहरूले बताएका छन्।
‘वायु प्रदूषणका कारण नेपालमा बर्सेनि ४२ हजार १०० जना र काठमाडौंमा पाँच हजार ८४ जनाको निधन हुन्छ।’ तथ्यांक प्रस्तुत गर्दै वातावरणविद् भूषण तुलाधरले सोधे, “सरकारको भूमिका के त?”
मन्त्रिपरिषद्ले चार वर्षअघि नै काठमाडौं उपत्यका वायु गुणस्तर कार्ययोजना पारित गरेको भए पनि त्यसको कार्यान्वयन नभएकोमा उनले चिन्ता जनाए। ललितपुरको पाटनढोकामा आयोजित हिमाल मिडिया मेलाको ‘पर्यावरणको अर्थशास्त्र’ सत्रमा बोल्दै तुलाधरले यस्तो प्रश्न गरेका हुन्।
अर्का वक्ता कानून व्यवसायी सञ्जय अधिकारीले पनि राज्यका जिम्मेवार व्यक्तिहरूले कर्तव्य निर्वाह नगर्दा वातावरणीय अपराध भएको तर्क गरे। “हाम्रो संविधानले विकास र वातावरणबीच सन्तुलन कायम गर्नुपर्छ भनेको छ,” अधिकारीले टिप्पणी गरे, “तर सरकारले बेवास्ता गर्दा र कर्पोरेट हाउसहरू नाफाकेन्द्रित हुँदा वातावरण विनाश बढिरहेको छ।”
अधिवक्ता अधिकारीले वातावरण सन्तुलन सहितको विकासमा ध्यान दिनुपर्नेमा जोड दिए। त्यसो गर्न नसक्दा वातावरणीय विनाश बढेको उनको भनाइ थियो। “बुद्धको जन्मस्थल लुम्बिनीमा काठमाडौंभन्दा धेरै प्रदूषण छ। बुद्धको जन्मस्थलमा आएर मास्क लगाएर ध्यान गर्न बाध्य छन्,” उनले भने।
त्यस्तै, सरकार पनि जिम्मेवार नभएकोमा उनले रोष प्रकट गरे। नियम-कानून भए पनि त्यसको कार्यान्वयन कमजोर भएको उनको तर्क थियो। “त्यसको उदाहरण वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) हो, जुन कपीपेस्ट गर्ने गरिन्छ,” उनले भने।
पत्रकार सोनिया अवालेले संयोजन गरेको सत्रमा वातावरणविद् तुलाधरले उपलब्ध विकल्पहरूको प्रयोगमा रहेको उदासीनताप्रति पनि टिप्पणी गरे। “हामीसँग विकल्प नभएको होइन, छ। सफा टेम्पो छ, तर बागमती प्रदेशले नियम बनाएको छ, सात वर्षभन्दा नयाँ गाडीलाई विद्युतीय गाडीमा रूपान्तरण गर्न पाइँदैन भनिन्छ,” तुलाधरले भने।
नेपालले गर्ने कार्बन उत्सर्जनको मात्रा बढ्दै गएको तथ्यांक प्रस्तुत गर्दै उनले विद्युतीय यातायातमा जोड दिनुपर्ने बताए।
हिमाल मिडिया मेलाको यसअघिको प्रकृति पत्रकारिताका जोखिम विषयक बहसमा पत्रकारद्वय रमेश भुषाल र रामु सापकोटाले प्राकृतिक स्रोतको दोहनमा ठूला व्यापारी, ठेकेदार र नेताको संलग्नता भएकाले यस विरुद्ध लेख्न जोखिम रहेको सुनाएका थिए।
त्यस्तै, यसअघिको सत्रमा ‘खोजमूलक जलवायु वित्त’ बारे विज्ञ राष्ट्रराज भण्डारीले प्रस्तुति राखेका थिए। उनले जलवायु परिवर्तनका समस्यासँग जुध्न संयुक्त राष्ट्रसंघले स्थापना गरेको हरित जलवायु कोष (जीसीएफ) प्रभावकारी बन्न नसकेकाले नेपाल जस्ता मुलुकले आन्तरिक स्रोतको समेत खोजी गरेर विकल्पमा जानुपर्ने बताएका थिए।
जलस्रोतविद् अजय दीक्षितले जलवायु परिवर्तनले नदीमा असर परिरहेको बताएका थिए। उनले अहिलेकै गतिमा जलवायु परिवर्तन भइरहेमा आगामी २० वर्षमा नदी नै नरहन सक्ने भन्दै सचेत गराए।
त्यस्तै, यसअघि पत्रकार नरेश नेवारले समाचारकक्षमा एआईको प्रयोगबारे प्रस्तुति राखेका थिए। साथै, लेखक एवं पत्रकार मोहन मैनाली र तथ्यांक विश्लेषक अरुण कार्कीले लेखनमा तथ्यांकको प्रस्तुति विषयमा बोलेका थिए।
मेलाको उद्घाटन समारोहमा माल्दिभ्सका पूर्व राष्ट्रपति मोहमद नशीदले विद्वत् प्रवचन राखेका थिए। उनी पूर्व पत्रकार एवं लेखक पनि हुन्।