‘व्यापारी, ठेकेदार र नेता संलग्न रहेकाले प्राकृतिक स्रोत दोहन विरुद्ध लेख्न जोखिम छ’
प्राकृतिक स्रोत दोहन विरुद्ध लेख्ने पत्रकारलाई दिनानुदिन जोखिम बढिरहेको एक कार्यक्रमका वक्ताहरूले औंल्याएका छन्।
हिमाल मिडिया मेलाको ‘प्रकृति पत्रकारिताका जोखिम’ विषयक बहसमा बोल्दै पत्रकार रमेश भुषालले प्राकृतिक स्रोत दोहन गर्दा ठूलो रकम आर्जन हुने भएकाले यस क्षेत्रमा ठूला व्यापारी, ठेकेदार र नेता जोडिने भएकाले जोखिम हुने गरेको उल्लेख गरे। त्यसैले प्रकृति पत्रकारिता भनेको राजनीतिक दलका नेता, ठेकेदार र कर्मचारितन्त्र विरुद्ध लेख्नु रहेको उनको भनाइ थियो।
“प्रकृति पत्रकारिता भनेको ‘लक्जरी’ पत्रकारिता भन्ने भाष्य बनाइएको छ, तर वातावरण पत्रकारले प्राकृतिक स्रोत दोहन गरेर अकूत धन आर्जन गर्ने विरुद्ध समाचार लेख्ने भएकाले खतरा छ,” भुषालले भने, “युद्ध पत्रकारितापछि कुनै विधाको पत्रकारितामा जोखिम छ भने त्यो प्रकृति पत्रकारिता हो।”
उनका अनुसार अहिले राजनीतिक दलका नेताले नै वातावरण पत्रकारलाई विकासको विरोधी भन्ने भाष्य बनाएका छन्। त्यही भाष्यका कारण पत्रकारले जंगल फँडानी, चुरे दोहन, नदी दोहन, बालुवा उत्खनन जस्ता विषयमा समाचार लेख्दा सामाजिक सञ्जालमा ‘ट्रोल’ गर्ने र समाचारकक्षमै एकल्याउने प्रवृत्ति बढेको उनको भनाइ थियो।
दक्षिणएशियाका अन्य देशमा जस्तो नेपालमा पत्रकारलाई जोखिम नभए पनि बिस्तारै डरको माहोल बढेको उनले सुनाए। “पहिलेभन्दा मानिसहरू आफूलाई लागेको कुरा भन्न डराउन थालेका छन्,” भुषालले भने, “हामीले एकदम राम्रो किसिमको रिपोर्टिङ नगरेर पनि बाङ्लादेश र भारतमा जस्तो धेरै ‘थ्रेट’ नभएको पो हो कि!”
त्यस्तै, पत्रकार रामु सापकोटाले महोत्तरीको रातु खोलामा भइरहेको बालुवा उत्खननबारे रिपोर्टिङ गर्दा आइपरेको सुरक्षा थ्रेटको अनुभव सुनाए। स्थलगत रिपोर्टिङ गर्दा एक व्यक्तिले पछ्याएको उनले बताए। जसका कारण रिपोर्टिङको योजना नै बदल्नुपरेको थियो। “हामीलाई रातु खोलाको रिपोर्टिङ गर्न जाँदा जीपीएसले ट्रयाक गरिएको थियो, ताकि कसैले हमला गर्दा प्रहरीलाई खबर गर्न सकियोस्,” उनले भने।
आगामी दिनमा वातावरण पत्रकारलाई सुरक्षा जोखिम बढ्ने भएकाले पत्रकार र तिनका संस्थाले उनीहरूको सुरक्षाका लागि काम गर्नुपर्ने उनले बताए। यति हुँदाहुँदै पनि कतिपय पत्रकारको आफ्नै आचरणका कारण खतरा बढेको उनको भनाइ थियो।
उनीहरूसँग पत्रकार विद्या राईले बहस गरेकी थिइन्। वातावरणमा कलम चलाउने राईले जोखिम महसूस गर्दा के गर्ने भनेर प्रश्न गरेकी थिइन्।
त्यसमा आफ्नो अनुभव सुनाउँदै पत्रकार भुषालले रिपोर्टिङ गर्दा होस् कि त्यसपछि, कुनै जोखिम महसूस गरेमा सहकर्मी तथा साथीभाइलाई सुनाउनुपर्ने बताए। “कुनै न कुनै वेला खतरा बढ्दा आफ्नो नेटवर्कका साथीभाइलाई सुनाउनुपर्छ, ताकि केही आइलाग्दा सहयोग मिलोस्,” भुषालले भने।
धनुषाको औरही खोलामा भइरहेको अवैध उत्खनन विरुद्ध बोल्दा मारिएका वातावरण अभियन्ता दिलीप महतोका बहिनीहरू पनि कार्यशालामा उपस्थित थिए। उनीहरूले दाजुको मृत्युपछि दोहन विरुद्ध लेख्ने पत्रकारलाई दिलीप महतोको हविगत बनाइदिन्छु भन्ने धम्की दिएको सुनाए। अझै पनि औरही खोलाको उत्खनन नरोकिएकाले अन्य मानिसलाई पनि खतरा रहेको उनीहरूको भनाइ थियो।
दिलीपकी बहिनी लक्ष्मीले धनुषामा बस्न जोखिम भएको सुनाइन्। “गत स्थानीय चुनावको प्रचारमा जुन मेयरले जिते, उनले दिलीप मारिएको औरही खोलामा उत्खनन बन्द गर्छु भनेका थिए, अहिले तिनै मेयर ठेकेदारसँग मिलेका छन्,” लक्ष्मीले थपिन्, “मलाई लाग्छ, राज्य नै ठेकेदारले चलाएको छ।”
कार्यक्रममा सहभागी दिलीपकी अर्की बहिनी संगमले आफ्ना दाजुलाई पर्यावरण शहीद घोषणा गर्नुपर्ने बताइन्। “हाम्रा दाजुले पृथ्वी जोगाउनका लागि आफ्नो ज्यान दिएकाले उहाँलाई पर्यावरण शहीद घोषणा गर्नुपर्छ,” संगमले भनिन्। जसले गर्दा पर्यावरणमा काम गर्ने व्यक्तिको सम्मान हुने र हौसला बढ्ने उनको भनाइ थियो।
हिमाल मिडिया मेलाको यसअघिको सत्रमा ‘खोजमूलक जलवायु वित्त’ बारे विज्ञ राष्ट्रराज भण्डारीले प्रस्तुति राखेका थिए। उनले जलवायु परिवर्तनका समस्यासँग जुध्न संयुक्त राष्ट्रसंघले स्थापना गरेको हरित जलवायु कोष (जीसीएफ) प्रभावकारी बन्न नसकेकाले नेपाल जस्ता मुलुकले आन्तरिक स्रोतको समेत खोजी गरेर विकल्पमा जानुपर्ने बताएका थिए।
यसअघि जलस्रोतविद् अजय दीक्षितले जलवायु परिवर्तनले नदीमा असर परिरहेको बताएका थिए। उनले अहिलेकै गतिमा जलवायु परिवर्तन भइरहेमा आगामी २० वर्षमा नदी नै नरहन सक्ने भन्दै सचेत गराए।
त्यसभन्दा अघि पत्रकार नरेश नेवारले समाचारकक्षमा एआईको प्रयोगबारे प्रस्तुति राखेका थिए। साथै, लेखक एवं पत्रकार मोहन मैनाली र तथ्यांक विश्लेषक अरुण कार्कीले लेखनमा तथ्यांकको प्रस्तुति विषयमा बोलेका थिए।
मेलाको उद्घाटन समारोहमा माल्दिभ्सका पूर्व राष्ट्रपति मोहमद नशीदले विद्वत् प्रवचन राखेका थिए। उनी पूर्व पत्रकार एवं लेखक पनि हुन्।