‘जलवायु परिवर्तनसँग जुध्न दाताको मात्र भर नपरौं’
जलवायु परिवर्तनका समस्यासँग जुध्न संयुक्त राष्ट्रसंघले स्थापना गरेको हरित जलवायु कोष (जीसीएफ) प्रभावकारी बन्न नसकेको भन्दै नेपाल जस्ता मुलुकले आन्तरिक स्रोतको समेत खोजी गरेर विकल्पमा जानुपर्ने विज्ञहरूले बताएका छन्।
हिमाल मिडिया मेलाको ‘खोजमूलक जलवायु वित्त’ कार्यशालामा बोल्दै जलवायु वित्तका विज्ञ राष्ट्रराज भण्डारीले जीसीएफबाट रकम पाउने प्रक्रिया लामो भएको र कोषमा अपेक्षित रकम जम्मा नभएकाले स्थानीय स्तरमै विकल्प खोज्नुपर्ने बताएका हुन्। फिलिपिन्स लगायतका मुलुकमा स्थानीय तहमै वैकल्पिक कोष मार्फत काम भइरहेको उदाहरण दिंदै भण्डारीले भने, “नेपालले पनि जीसीएफमा मात्रै भर पर्नु हुँदैन। अरू नै स्रोत खोजेर अगाडि बढ्न सकिन्छ।”
जलवायु परिवर्तनको असरको क्षतिपूर्तिका लागि बीमाको अवधारणामा जानुपर्नेमा भण्डारीले जोड दिए। “जलवायु परिवर्तनका कारण हुने विपत्तिबाट पीडित हुनेहरूलाई बीमा नीतिसँग जोडेर क्षतिपूर्ति भराउने व्यवस्था हुनुपर्छ,” उनले थपे, “जलवायु परिवर्तनका कारण बालीनाली नासियो, बाढीपहिरो गयो भने त्यसको क्षतिपूर्तिको एउटा मोडालिटी बीमा हुन सक्छ।”
नेपालले जलवायु परिवर्तनका नाममा लिने ऋण समेत प्राथमिकताका आधारमा नभई जथाभावी प्रयोगमा आइरहेको भन्दै भण्डारीले आपत्ति जनाए।
“विकासे संस्थाले दिने ऋण, अनुदानसँगै उनीहरूको स्वार्थ पनि भित्रिने भएकाले यस्ता परियोजना छनोटमै समस्या देखिने गरेका छन्,” पत्रकार रमेश कुमारसँग संवाद गर्दै भण्डारीले भने, “विश्वमा हरित जलवायुको परिभाषामै एकरूपता छैन। हामीलाई हरित नलागेको चीज दाता वा विकास सहायता दिनेलाई हरित लागेको हुन सक्छ। त्यसैले हाम्रो प्राथमिकता एकातिर र परियोजना छनोट अर्कातिर भइरहेको छ।”
सामुदायिक वनको अवधारणा मार्फत वन जोगाएर विश्वमै उदाहरणीय मानिएको नेपालले फेरि वन संरक्षण गर्न ऋण लिइरहेको उदाहरण दिंदै भण्डारीले यो अनौठो भइरहेको बताए। पत्रकार रमेश कुमारले एशियाली विकास ब्यांंकले जलवायु परिवर्तनको असर कम गर्नकै लागि भनेर नेपाललाई २५ अर्ब रुपैयाँ ऋण दिएर बागमती नदी सङ्लो पार्न शिवपुरीमा बाँध बाँध्ने अमिल्दो परियोजना ल्याएको अर्को उदाहरण सुनाए।
हिमाल मिडिया मेलामा यसअघि जलस्रोतविद् अजय दीक्षितले जलवायु परिवर्तनले नदीमा असर परिरहेको बताएका थिए। उनले अहिलेकै गतिमा जलवायु परिवर्तन भइरहेमा आगामी २० वर्षमा नदी नै नरहन सक्ने भन्दै सचेत गराए।
त्यस्तै, यसअघि पत्रकार नरेश नेवारले समाचारकक्षमा एआईको प्रयोगबारे प्रस्तुति राखेका थिए। साथै, लेखक एवं पत्रकार मोहन मैनाली र तथ्यांक विश्लेषक अरुण कार्कीले लेखनमा तथ्यांकको प्रस्तुति विषयमा बोलेका थिए।
मेलाको उद्घाटन समारोहमा माल्दिभ्सका पूर्व राष्ट्रपति मोहमद नशीदले विद्वत् प्रवचन राखेका थिए। उनी पूर्व पत्रकार एवं लेखक पनि हुन्।