गण्डकीका मुख्यमन्त्रीले वैशाख २३ मा विश्वासको मत लिने
गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले वैशाख २३ गते विश्वासको मत लिने भएका छन्।
मुख्यमन्त्री अधिकारीले विश्वासको मत सम्बन्धी प्रस्ताव शुक्रबार गण्डकी प्रदेश सभामा दर्ता गराएका छन्। वैशाख २३ गते अपराह्न ३ बजे विश्वासको मत लिने प्रस्ताव दर्ता गरिएको गण्डकी प्रदेश सभाका सचिव हरिराज पोख्रेलले बताए।
गत चैत २५ गते अधिकारी मुख्यमन्त्री नियुक्त भएका थिए। संविधानको धारा १६८ को उपधारा २ बमोजिम नेकपा (माओवादी केन्द्र) र स्वतन्त्र सांसदको समर्थनमा उनी मुख्यमन्त्री बनेका हुन्।
दुई वा दुईभन्दा बढी दलको समर्थनमा नियुक्त मुख्यमन्त्रीले ३० दिनभित्र प्रदेश सभाबाट विश्वासको मत लिनुपर्ने संविधानको धारा १६८ को उपधारा ४ मा व्यवस्था गरिएको छ। सोही व्यवस्था अनुसार उनले विश्वासको मत लिन लागेका हुन्।
उनी सभामुखलाई समेत गणना गरेर मुख्यमन्त्री नियुक्त भएका थिए। यस विरुद्ध सर्वोच्च अदालतमा रिट परेको थियो। प्रदेश सभाबाट विश्वासको मत लिनै पर्ने प्रावधान रहेको उल्लेख गर्दै सर्वोच्च अदालतले रिट खारेज गरेको थियो।
६० सदस्यीय गण्डकी प्रदेश सभामा बहुमतका लागि ३१ सांसदको समर्थन आवश्यक पर्छ। प्रदेश सभामा एमालेका २२ र माओवादीका सभामुख सहित आठ सांसद छन्। स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे)ले पनि अधिकारीलाई समर्थन जनाएका छन्।
त्यस्तै, प्रदेश सभामा कांग्रेसका २७ र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का दुई सांसद छन्। विश्वासको मत लिंदा भने बराबर भएमा मात्रै सभामुखले मत दिन पाउनेछन्। त्यसैले मुख्यमन्त्री अधिकारीलाई विश्वासको मत जुटाउन मुश्किल छ।
यो पनि पढ्नुहोस् : कोशीकै बाटोमा गण्डकी, मध्यावधिको जोखिम