‘तथ्यांकको आकर्षक प्रस्तुतिले लेखन विश्वसनीय र प्रभावकारी हुन्छ’
लेखनलाई विश्वसनीय र प्रभावकारी बनाउन तथ्यांकको आकर्षक प्रस्तुति आवश्यक भएको एक कार्यशालाका वक्ताले बताएका छन्।
पत्रकारितामा तथ्यांकको महत्त्व के हुन्छ? तथ्यांक राखेर मात्रै कुनै पनि कथा प्रभावकारी हुन्छ? वा तथ्यांक समावेश नगरी कुनै पनि कथा तयार हुन्छ?
लेखक तथा पत्रकार मोहन मैनालीले तथ्यांकको सही विश्लेषण र आकर्षक प्रस्तुतिले मात्रै लेखन विश्वसनीय तथा प्रभावकारी हुने बताएका छन्। ललितपुरस्थित पाटनढोकामा शुरू भएको हिमाल मिडिया मेलाको ‘आकर्षक कथाका लागि तथ्यांक उत्खनन’ कार्यशालामा बोल्दै मैनालीले तथ्यांकको प्रस्तुतिमा जोड दिएका हुन्।
पछिल्लो पटक प्रकाशित बसाइँसराइ सम्बन्धी कथाका लागि तथ्यांक खोज्न र त्यसलाई प्रस्तुति गर्न गरेको कामको प्रकिया सुनाएका थिए। मैनालीले तमर क्षेत्रको जनजीवनबारे तीन वटा स्टोरी लेखेका थिए। जसमा खडेरी र अनिकाल, पानीको अभाव र बाढीले मानिसको उठीबास लागेको पूर्वी पहाडी क्षेत्रको कथा लेखेका थिए।
उनले लेखेका कथामा गत तीन दशकमा हरेक वर्ष परेको पानी, खडेरी, बाढी र ती ठाउँको जनसंख्याको अन्तर केलाएका थिए। ३० वर्षको तथ्यांक केलाएर उनले कतिपय ठाउँमा खडेरीले, कतिपय ठाउँमा बाढीले र कतिपय ठाउँमा पानीको अभावले मानिस बसाइँ सरेको खुलाएका थिए।
कार्यशालामा मैनालीले यो कथा लेख्नका लागि तथ्यांक खोज्न पाएको सास्ती, तथ्यांक प्राप्त गरेपछि त्यसलाई आकर्षक प्रस्तुतिका लागि गरेको मेहनत र त्यसपछि तयार भएको कथाको प्रभावबारे अनुभव सुनाए। “तथ्यांकले कथालाई विश्वसनीय र प्रभावकारी मात्र होइन, आकर्षक पनि बनाउँदो रहेछ,” उनले भने।
कार्यशालामा राजतन्त्रको समयमा देशभर मूर्ति चोरीको कथा तयार पार्दाको अनुभव पनि सुनाए। उनले राष्ट्रिय समाचार समितिमा २०३० सालमा मूर्ति चोरी सम्बन्धी छापिएका समाचारका आधारमा तथ्यांक दृश्यांकन गरेका थिए। तथ्यांक दृश्यांकनमा राजतन्त्रको समयमा धेरै मूर्ति चोरी हुने गरेको तथ्य उजागर गरिएको थियो।
“कथामा तथ्यांकको आकर्षक प्रस्तुति गरियो भने हचुवाका भरमा गाली गर्ने मानिसको पनि मुख थुनिंदो रहेछ,” मैनालीले भने।
कार्यशालामा तथ्यांक विश्लेषक अरुण कार्कीले डढेलो, आगलागी, वर्षा, भूकम्प, बाढी लगायत विभिन्न घटनाका वर्षौं पुराना तथ्यांक कहाँबाट कसरी निकाल्न सकिन्छ भन्ने तरीका सिकाएका थिए। स्याटेलाइट र रिमोट सेन्सिङ लगायत प्रविधिबाट तापक्रम, नदीको बहाव, वर्षा, वनजंगल, प्राकृतिक विपत्ति, विकास र विनाशबारेका तथ्यांक निःशुल्क उपलब्ध हुने उनले सुनाए।
उनका अनुसार पत्रकारले तथ्यांक खोज्ने प्राविधिक सिप सिक्ने हो भने कसरी नदीहरू सुक्दै गए, कसरी गाउँ शहरमा रूपान्तरण भए, कसरी हिमालको हिउँ सुक्दै गयो, कसरी वनजंगल मासिंदै गए, कसरी प्राकृतिक स्रोत दोहन हुँदै गयो भन्ने कथा आकर्षक रूपले प्रस्तुत गर्न सकिन्छ। “पत्रकारले तथ्यांक खोज्न र त्यसलाई विश्लेषण गरेर प्रस्तुत गर्न सिक्ने हो भने कथाले नयाँ उचाइ हासिल गर्छ,” कार्कीले भने।
उनले जंगल फँडानी, नदी दोहन, बाढी र डढेलोको विषयमा गरिएका तथ्यांक कथा उदाहरण सहित देखाएका थिए। “कतिपय अवस्थामा सरकारी निकायमा तथ्यांक पाइन्न, पत्रकार आफैंले तथ्यांक खोजेर प्रस्तुत गर्नुपर्छ,” कार्कीले भने।
हिमाल मिडिया मेलामा यसअघि पत्रकार नरेश नेवारले एआईबारे प्रस्तुति राखेका थिए। त्यसअघि उद्घाटन समारोहमा माल्दिभ्सका पूर्व राष्ट्रपति मोहमद नशीदले विद्वत् प्रवचन दिएका थिए।