समाचारकक्षमा एआई कसरी प्रयोग गर्ने?
हिमाल मिडिया मेलाको तेस्रो संस्करणमा पत्रकार नरेश नेवारले समाचारकक्षमा एआईको प्रयोग कसरी गर्ने भन्ने विषयमा प्रस्तुति राखेका छन्।
ललितपुरको पाटनढोकास्थित यलमाया केन्द्रमा आयोजित मेलामा ‘समचारकक्षमा एआई’ विषयक कार्यशालामा पत्रकार नेवारले बदलिंदो परिवेशमा एआईको प्रयोग अपरिहार्य भएको बताए। अहिले एआई सर्वव्यापी भइसकेको उनको भनाइ थियो। “जसले सामाजिक सञ्जाल प्रयोग गर्छ, उसले एआई प्रयोग गर्छ,” उनले भने।
एआईलाई उत्पादनशील वा हानिकारक बनाउने भन्ने प्रयोगकर्ताकै हातमा निर्भर रहने उनले बताए। पत्रकारका लागि विशेषगरी समाचार सामग्री उत्पादनमा एआई सहायक हुन सक्ने अनुभव उनले सुनाए।
यस्तै, समाचार सामग्रीबारे योजना बनाउन, शुद्धाशुद्धि हेर्न, अनुवाद गर्न, ग्राफिक्स बनाउन, ठूला प्रतिवेदनहरूको सारांश गर्न, आफ्नो लेखनशैली समीक्षा गर्न पनि एआईको प्रयोग गर्न सकिने उनले बताए।
अहिलेको समयमा थुप्रै काममा पत्रकारका लागि एआईको महत्त्वपूर्ण भूमिका रहेको उनको भनाइ थियो। “एउटै एआई टूलले पनि अनेक काम गर्ने भएकाले त्यसलाई तपाईं कसरी प्रयोग गर्नुहुन्छ भन्ने महत्त्वपूर्ण हुन्छ,” नेवारले थपे।
एआई भनिरहँदा तस्वीर र भिडिओबारे मात्रै सोच्न नहुने बताउँदै एआई ‘लार्ज ल्याङ्वेज मोडल (एलएलएम)’ भएको र च्याटजीपीटीले मात्रै ४० करोड वेबपेजबाट पाँच खर्ब शब्द भण्डारण गरेको उनले सुनाए। एआईले धेरै काम सहज बनाए पनि सम्पूर्ण रूपले त्यसमै निर्भर भने बन्न नहुनेमा जोड दिए। विशेषगरी पत्रकारले शुद्धाशुद्धि जाँच गर्न एआई प्रयोग गर्न सकिए पनि सम्पादन कार्यमा भने यसको प्रयोग गर्न नहुने नेवारको भनाइ थियो।
यस्तै, असान्दर्भिक रूपमा एआई सिर्जनाको प्रयोग गर्न नहुने पनि उनले बताए। “मेरो मुख्य सन्देश चाहिं तस्वीर, भिडिओ र कन्टेन्ट उत्पादन गर्न एआई प्रयोग नगर्नुहोस्। तपाईंले आफ्नै सिर्जना प्रयोग गर्नुपर्छ,” उनले भने।
नेवारले आफ्नो प्रस्तुतिमा डीपफेक तस्वीर र भिडिओ कसरी छ्ट्याउने, कसरी समाचारको शब्दलाई भिडिओमा रूपान्तरण गर्ने भन्नेबारे जानकारी दिए। नेवारले एआईबाट भिडिओ बनाउने न्यूनतम करीब १४६ टूल भएको पनि बताए। यस्तै, एआई तस्वीर सिर्जना गर्ने न्यूनतम ५१७ टूल भएको जानकारी दिए। “एआईले स्टक इमेजबाट तस्वीरहरू लिने भएकाले कपिराइट सम्बन्धी समस्या पनि आउँदैन,” नेवारले भने।
तर एआई सिर्जित तस्वीर र भिडिओको गुणस्तर बढ्दै जाँदा यसले चिन्ता थपेको उनले सुनाए। एआई सञ्चालनका लागि सुपर कम्प्युटरहरू प्रयोग हुने र यसले अत्यन्तै ऊर्जा खपत गरिरहेको उनको भनाइ थियो।
अर्कातर्फ, हरेक पटक सामाजिक सञ्जाल वा एआई टूल प्रयोग गर्दा एआईको संसारमा हाम्रो व्यक्तिगत पाटाे झन् उजागर हुँदै जाने हुँदा यो पक्षमा ख्याल गर्न पनि उनले सुझाए। “एआईसँग हामी सतर्क हुनुपर्छ। हामीले हरेक पटक च्याटजीपीटीसँग कुरा गरिरहँदा यसले हामीबाट सिकिरहेको हुन्छ,” उनले भने।
त्यस्तै, पत्रकार कुन्द दीक्षितले इन्टरनेटमा जे ‘इनपुट’ दिएका हुन्छौं, एआईले त्यति नै हाम्राबारे जान्ने भएकाले सतर्क हुन आवश्यक रहेको बताए। अहिलेसम्म एआई पत्रकारका लागि सहायक र अवसर नै भइरहे पनि अबको दुई-तीन वर्षपछि यो चुनौतीका रूपमा उभिन सक्ने दीक्षितको भनाइ थियो।
यसअघि हिमाल मिडिया मेलाको उद्घाटन समारोहमा माल्दिभ्सका पूर्व राष्ट्रपति मोहमद नशीद जीसीएसकेले विद्वत् प्रवचन दिए। सन् २००८ देखि २०१२ सम्म माल्दिभ्सको राष्ट्रपति रहेका नशीद पूर्व पत्रकार र अभियन्ता समेत हुन्।