‘जलवायु संकटसँग जुध्न लोकतन्त्र र प्रेस स्वतन्त्रता चाहिन्छ’
माल्दिभ्सका पूर्व राष्ट्रपति मोहमद नशीदले नेपाल र माल्दिभ्स लगायत कैयौं देशले जलवायु संकट खेपिरहेको उल्लेख गर्दै यससँग जुध्न पनि लोकतन्त्र र प्रेस स्वतन्त्रता चाहिने बताएका छन्।
जलवायु संकटसँग जुध्न के चाहिन्छ? नयाँ प्रविधि? सचेतना? वा यीभन्दा पनि बढी केही?
माल्दिभ्सका पूर्व राष्ट्रपति एवं पूर्व पत्रकार मोहमद नशीदका निम्ति जलवायु संकटसँग जुध्न र प्रकृति जोगाउन सबैभन्दा अत्यावश्यक पक्ष हो- लोकतन्त्र र पत्रकारिता।
ललितपुरस्थित पाटनढोकामा शुरू भएको हिमाल मिडिया मेला २०२४ को उद्घाटन समारोहमा विद्वत् प्रवचन दिंदै पूर्व राष्ट्रपति नशीदले जलवायु संकटसँग जुध्न लोकतन्त्रको पैरवी गरे।
“लोकतन्त्र र प्रेस स्वतन्त्रता भएनन् भने जलवायु संकट सिर्जना गर्ने कामहरू भइरहनेछन्,” पूर्व राष्ट्रपति नशीदले भने, “पत्रकारले प्रश्न गरेनन् भने अनावश्यक बाँधहरू बन्नेछन्। अनावश्यक सडक बन्नेछन्। अनावश्यक विमानस्थल बन्नेछन्। प्रकृतिको दोहन भइरहनेछ।”
जलवायु संकट बढिरहेको हुनाले अब त्यस सम्बन्धी समाचार प्रकाशन नगर्नु असम्भवप्रायः भइसकेको उनको भनाइ थियो। साथै उनले जलवायु संकटको विषय वातावरणीय पत्रकारको मात्र विषय नभई अर्थ र वित्त संवाददाताको पनि विषय बन्नुपर्ने तर्क गरे।
“जलवायु संकटको असर अर्थतन्त्रमा सबैभन्दा बढी छ। मानिसको जीविकाको संकटबारे मात्र होइन, अर्थतन्त्रमा परेको असर पनि लेख्न जरूरी छ,” उनले भने।
नशीदले कार्बन व्यापारको आवश्यकतामा पनि जोड दिए। विकासोन्मुख वा विकासशील देशहरूले जंगल जोगाएकै कारणले विकसित देशहरूले गरेको कार्बन उत्सर्जन सोसेको हुनाले पश्चिमा मुलुकले त्यस बापत आर्थिक व्ययभार उठाउनुपर्ने उनको भनाइ थियो।
“विकसित देशमा जंगल कम छन्। ग्लोबल साउथमा धेरै जंगल छन्। हामीले धेरै कार्बन सोसेका छौं। हामीसँग जंगल नभएको भए पृथ्वीको अस्तित्व संकटमा पर्ने थियो,” नशीदले भने।
हामी फरक बाटोमा हिंड्नुपर्ने उनको भनाइ थियो। “औद्योगिक देशहरू हिंडेको प्रगतिको बाटोमा हामी पनि हिंड्यौं भने प्रकृति अझ बढी जोखिममा पर्नेछ। तर फरक बाटोमा हिंड्न पनि हामीलाई पैसा चाहिन्छ। त्यसका लागि जंगलबाट पैसा आउनुपर्छ। त्यो पैसा कार्बन एक्सचेन्जबाट आउँछ,” नशीदले भने।
पश्चिमा देशहरूले प्रकृति विनाशकारी विकासको अभ्यास गरेको हुनाले जलवायु संकट निम्तिएको इतिहासबाट सिक्दै विकासोन्मुख देशहरूले प्रकृति जोगाउँदै विकास गर्ने वैकल्पिक विकासको बाटो हिंड्नुपर्ने उनको भनाइ थियो। “हामी पनि विकासका लागि पश्चिमाले जस्तै गर्नुपर्छ भन्छौं भने हामी गलत बाटोमा हुनेछौं,” नशीदले थपे, “उनीहरू मूर्ख थिए भनेर हामी पनि मूर्ख हुन सक्दैनौं। हामीले पश्चिमा देशबाट शिक्षा लिन जरूरी छ।”
पूर्व राष्ट्रपति नशीदसँगको संवादमा मेला आयोजक समितिका अध्यक्ष कुन्द दीक्षितले जलवायु संकट वातावरणीय मात्र नभई राजनीतिक समाचार पनि भएको तर्क गरे। “विकास पत्रकारिता, वातावरण पत्रकारिता भन्न छोडौं, बरु यीसँग जोडिएका राजनीति खोतलौं,” दीक्षितले भने।
नशीद र दीक्षित दुवैले संसारैभरि पत्रकारहरू जोखिममा पर्ने क्रम बढिरहेकोमा चिन्ता व्यक्त गरे। “गाजामा मात्रै एक हजारभन्दा बढी पत्रकार मारिएका छन्,” दीक्षितले भने, “पत्रकारहरूको मुख थुन्न दुष्प्रचार गर्ने फौज खडा गरिएको छ।”
माल्दिभ्सका पूर्व राष्ट्रपति नशीदले पत्रकारमाथिको जोखिम बढ्दै जाने संकेत गरे। “पत्रकारका हिसाबले हामीले सामना गर्ने जोखिम बढ्दो छ,” नशीदले भने, “गाजामा सत्य बोलेकै कारणले एक हजारभन्दा बढी पत्रकार मारिएका छन्। यो जोखिम शायद बढ्दै जानेछ।”
हिमाल मिडिया मेलामा चार वटा कार्यशाला, दुई वटा प्यानल छलफल र एउटा विशेष प्रस्तुति रहनेछन्। मेलामा पत्रकारसँगै विभिन्न क्षेत्रका व्यक्तिको सहभागिता छ।