हिमाल मिडिया मेला प्रारम्भ
सञ्चारजगत्का विविध आयाम र चुनौतीबारे बहस गर्न ललितपुरमा हिमाल मिडिया मेला २०२४ प्रारम्भ भएको छ।
हिमालमिडिया प्रालिले आयोजना गरेको मेलाको उद्घाटन समारोहमा माल्दिभ्सका पूर्व राष्ट्रपति मोहमद नशीद जीसीएसकेले विद्वत् प्रवचन दिएका छन्। नशीद लेखक एवं पूर्व पत्रकार पनि हुन्।
आयोजक समितिका अध्यक्ष कुन्द दीक्षितले मेलामा पत्रकारिता जगत्का जल्दाबल्दा विषयमा बहस हुने बताए। यो हिमाल मिडिया मेलाको तेस्रो संस्करण हो। मेलाको यो संस्करण प्रकृति पत्रकारितामा केन्द्रित रहनेछ।
पाटनढोकास्थित यलमाया केन्द्रमा शुरू भएको एकदिने मेलामा मिडिया सम्बन्धी विभिन्न सत्रमा छलफल हुनेछ। मेलामा भारतको डाउन टु अर्थ म्यागेजिनका सम्पादक रिचर्ड महापात्रको विशेष प्रस्तुति रहनेछ। उनले वातावरणको राजनीति र मिडियाबारे बोल्नेछन्।
यससँगै समाचारकक्षमा एआईको प्रयोग, पर्यावरणको अर्थशास्त्र, जलवायु वित्त, तथ्यांक, प्रकृति पत्रकारिताको जोखिम लगायत विविध विषयमा छलफल हुनेछ।
हिमालमिडिया स्थापनाको २५ वर्ष पूरा भएको अवसरमा २०७९ सालदेखि हिमालमिडिया प्रालिले मेला आयोजना गर्दै आएको छ।