व्यवसायी राजेन्द्र खेतान सहित ६ ब्यांकका उच्च अधिकारी कारबाहीमा
वित्तीय अनुशासन नाघेर काम गर्ने ब्यांकर तथा ऋणी व्यवसायीलाई नेपाल राष्ट्र ब्यांकले कारबाही गरेको छ।
केन्द्रीय ब्यांकले ६ ब्यांकलाई कारबाही गरेको हो। राष्ट्र ब्यांकको सुपरिवेक्षण विभागले सार्वजनिक गरेको विवरण अनुसार चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा नियामकीय व्यवस्था उल्लंघन गर्ने ब्यांकका प्रमुख कार्यकारी अधिकृतहरू पनि कारबाहीमा परेका छन्।
लक्ष्मी सनराइज, कुमारी, प्राइम र नेपाल इन्भेष्टमेण्ट मेगा ब्यांकलाई कारबाही गरिएको हो। सम्पत्ति शुद्धीकरण निवारणका लागि तोकिएको अवस्था उल्लंघन गर्ने लुम्बिनी विकास र एक्सल डेभलपमेन्ट ब्यांक पनि कारबाहीमा परेका छन्।
राष्ट्र ब्यांंकबाट जारी एकीकृत निर्देशन बमोजिम कर्जा सापटको वर्गीकरण नगरेको, कर्जा नोक्सानी बापत कायम गर्नुपर्ने व्यवस्था कायम नगरेको, जोखिम भारित सम्पत्ति गणना गर्दा वास्तविकभन्दा कम गरेको लगायत कैफियत भेटिएपछि प्राइम कमर्सियल ब्यांकका प्रमुख कार्यकारी अधिकृतलाई चेतावनी दिएको राष्ट्र ब्यांकले जनाएको छ। प्रचलित कानून र राष्ट्र ब्यांकबाट जारी भएका नीति, निर्देशन तथा नियमनको परिपालना भए/नभएको सम्बन्धमा सञ्चालक समितिबाट पर्याप्त अनुगमन नभएको हुँदा प्राइम कमर्सियल ब्यांकको सञ्चालक समितिलाई पनि सचेत गराइएको छ।
त्यसैगरी, कुमारी ब्यांकमा पनि कर्जा सापटको वर्गीकरण नगरेको, कर्जा नोक्सानी बापत कायम गर्नुपर्ने व्यवस्था कायम नगरेको, सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी एकीकृत कार्यविधि, २०७५ विपरीत ब्याज अनुदान दिएको सहितका कैफियत भेटिएको थियो।
यही कैफियतका कारण ब्यांकका प्रमुख कार्यकारी अधिकृतलाई सचेत गराइएको राष्ट्र ब्यांकले जनाएको छ। राष्ट्र ब्यांकको सुपरिवेक्षण विभाग प्रमुख देवकुमार ढकालले कानून विपरीत दिइएको ब्याज अनुदान ऋणीबाट फिर्ता गराएर राष्ट्र ब्यांकको खातामा जम्मा गर्न निर्देशन पनि दिइसकिएको बताए।
कुमारी ब्यांकले राष्ट्र ब्यांकको मार्गदर्शन विपरीत प्रमुख कार्यकारी अधिकृतलाई रु. दुई करोड तीन लाख तलबभत्ता र सुविधा दिएकाले उक्त रकम फिर्ता गराएको तथा सञ्चालक समितिलाई सचेत गराएको पनि केन्द्रीय ब्यांकले जनाएको छ।
त्यस्तै, नेपाल इन्भेष्टमेण्ट मेगा ब्यांकले पनि कर्जालाई कानून विपरीत सदाबहार देखाएको, सामाजिक उत्तरदायित्व बापतको खर्चलाई गणना गरी आधार दर कायम गरेको, पूँजीकोष गणना गर्दा केही कर्जाहरूको जोखिम भारित सम्पत्तिलाई कम देखाई पूँजीकोष गणना गरेको भेटिएको थियो। ब्यांकका प्रमुख कार्यकारी अधिकृतलाई पनि सचेत गराएको राष्ट्र ब्यांकले जनाएको छ।
यस्तै, केन्द्रीय ब्यांकले लक्ष्मी सनराइज (साविकको लक्ष्मी ब्यांक)को संस्थापक शेयरधनी तथा व्यवसायी राजेन्द्र खेतानलाई १० लाख रुपैयाँ नगद जरिवाना गराएको छ। ब्यांकमा एक प्रतिशतभन्दा बढी लगानी गरेका संस्थापक शेयरधनी खेतानले सोही ब्यांंकका ऋणी पंकज झुनझुनवालालाई प्रवाह गरेको रु.१२ करोड ऋणमध्ये रु.११ करोड ४४ लाख आफ्नो खातामा ट्रान्सफर गराएको भेटिएको थियो। यसले पंकजका नाममा खेतानले नै ऋण झिकेर उपयोग गरेको देखिएको हो।
कर्जाको दुरुपयोग गरेकोमा ब्यांकका प्रमुख कार्यकारी अधिकृतलाई पनि सचेत गराइएको छ। कानून अनुसार कर्जा दुरुपयोग फौजदारी मुद्दा हो। तर केन्द्रीय ब्यांकले कर्जा दुरुपयोगमा लामो समयदेखि नरम कारबाही मात्रै गर्दै आएको छ।