धूवाँको पर्दा
यो आगलागीलाई सामान्य रूपमा लिनु र बर्सेनि हुने घटनाकै स्तरमा राख्नु भनेको बालुवामा टाउको लुकाउनु सरह हो। यस वर्ष दशककै सबैभन्दा धेरै डढेलो लागिरहेको छ, तर यसको संकट र गम्भीरता नबुझ्नु डरलाग्दो असफलता हो।
यस वर्ष देशैभर लागिरहेको डढेलो मात्रै वायु संकटको मुख्य कारक होइन। नेपालमा के भएछ भनेर जान्ने इच्छाले मूलधारका सञ्चारमाध्यम चहार्ने जोकोहीले तीन वटा घटना मुख्य रूपमा उठाइएको पाउँछन्, (१) लगानी सम्मेलन (२) उपनिर्वाचन र (३) गृहमन्त्री रवि लामिछाने संलग्न रहेको सहकारी प्रकरण।
तर सञ्चारमाध्यमले निकै कम स्थान दिएको राष्ट्रिय संकटको स्तरको अर्को घटना छ, देशैभर एक महीनाभन्दा बढी समयदेखि लागेको डढेलो। यो डढेलोको लहरले अर्थतन्त्र र पर्यावरणलाई अकल्पनीय क्षति त पुर्याएको छ नै, वायु प्रदूषणका कारण नेपालीको औसत आयु पनि घटाइरहेछ।
यस्तो अवस्थामा कुनै पनि जिम्मेवार सरकार अरू सबै काम थाँती राखेर युद्धस्तरमा डढेलो निभाउन लागिपर्ने थियो। नेपालमा भने त्यस्तो भएको छैन। यस प्रकोपको असर कतिसम्म भयावह हुन सक्छ भन्नेबारे राज्यका निकायले मापन गरेको वा बुझेको देखिंदैन।
त्यसो त सञ्चारमाध्यमले पनि यो खतराको घण्टी बजाउनुपर्ने थियो। तर अधिकांश सञ्चारमाध्यममा काठमाडौंकै मालिक र सम्पादकले के महत्त्वपूर्ण छ, कुन घटनाबारे रिपोर्टिङ गर्ने र कुन नगर्ने भन्ने निर्णय गर्छन्। कुन समाचारले प्राथमिकता पाउने भन्ने पनि तिनैले निर्णय गर्छन्।
यो आगलागीलाई सामान्य रूपमा लिनु र बर्सेनि हुने घटनाकै स्तरमा राख्नु भनेको बालुवामा टाउको लुकाउनु सरह हो। यस वर्ष दशककै सबैभन्दा धेरै डढेलो लागिरहेको छ, तर यसको संकट र गम्भीरता नबुझ्नु डरलाग्दो असफलता हो।
सन् २००९ र २०२१ का गर्मी याम पनि खराब नै थिए, तर ती वर्षहरूमा यसपालि जस्तो देशैभर डढेलो फैलिएको पनि थिएन र यति लामो समयसम्म लागेको पनि थिएन। फागुनको मध्यदेखि नै देशैभर सयौं ठाउँमा डढेलो लागिसकेको थियो। अहिले देशैभर फैलिएको छ। डढेलोका कारण सिंगो पहाडी र तराई क्षेत्र जलिरहेको छ। जंगलको डढेलो फैलिएर मानव बस्ती र जीवन नष्ट गरिरहेको छ।
यस वर्ष यतिसारो डढेलो फैलिनुका अनेकौं कारण छन्। जलवायु परिवर्तनलाई मात्र दोष लगाउँदा मुख्य पाटो छुट्छ। वसन्त ऋतु शुरू भएपछि पानी पर्दा नयाँ पालुवा पलाओस् भनेर किसानले घाँसे मैदानमा जानाजान आगो लगाउने गर्छन्।
शिकारीले पनि वन्यजन्तुलाई पासोमा पार्न आगो लगाउने गर्छन्। तराईमा भूमाफियाले जबर्जस्ती जंगलमा आगो सल्काउने गर्छन्।
यस पटक हिउँदमा कम पानी पर्यो। लामो खडेरीका कारण जताततै सुक्खा छायो।
अर्कातर्फ, पछिल्ला तीन दशकमा नेपालको जंगल क्षेत्र बढेर देशको कुल क्षेत्रफलको ४५ प्रतिशत हिस्सा ओगट्ने भएको छ। ग्रामीण पहाडी भेगबाट भइरहेको आम बसाइँसराइका कारण इन्धन र अन्य कारणले जंगल उपयोग गर्नेहरू घटिरहेका छन्। त्यसैले एक झिल्कोमै डढेलो लाग्ने खतरा प्रचुर थियो।
कृषिकर्मका लागि भूमिगत जलको अत्यधिक दोहन, परम्परागत पोखरीलाई गरिएको बेवास्ता जस्ता कारणले पहिले नै सुक्खा भएको जमीन यस पटकको लामो खडेरीले झनै सुक्खा हुन पुग्यो। यी सबै कारणले गर्दा सुक्खा भएको चुरेको तल्लो भाग एक झिल्कोले नै सल्किन पुग्यो।
धूवाँको अर्को कारण हो, किसानले गहुँ काटेपछि बाँकी रहेका ठुटामा आगो लगाउने प्रचलन। अधिकांश युवा विदेश गएकाले गाउँमा जनशक्तिको अभाव छ। त्यसैले गहुँ काटेपछि अर्को बाली लगाउनका लागि खेत तयार पार्न किसानले ठुटामा आगो लगाउँछन्।
चैतदेखि नै नेपालको वायु प्रदूषण संकटको तहमा छ। लामो समयदेखि वायु गुणस्तर सूचकांक (एक्यूआई) २५० देखि ३०० को बीचमा छ। विश्व स्वास्थ्य संगठनका अनुसार वायुको गुणस्तर सूचकांक ५० सम्मलाई स्वस्थ र १०० सम्मलाई सन्तोषजनक मानिन्छ।
त्यसभन्दा माथि १५० सम्मलाई श्वासप्रश्वास सम्बन्धी रोग भएका व्यक्ति, वृद्धवृद्धा, बालबालिका, किशोरकिशोरीका लागि अस्वस्थ मानिन्छ। त्यस्तै, २०० सम्मलाई अस्वस्थ, त्यसभन्दा माथि ३०० सम्मलाई हानिकारक र ३०० भन्दा माथिलाई जोखिमयुक्त मानिएको छ।
यी धूवाँ र काठमाडौंमा सवारीसाधनले उत्सर्जन गर्ने धूवाँका कारण हप्तौंदेखि काठमाडौं संसारकै सबैभन्दा बढी वायु प्रदूषित शहरको सूचीमा छ। जसले गर्दा श्वासप्रश्वासका दीर्घरोगी अस्पताल भर्ना हुन बाध्य भएका त छन् नै, युवामा पनि श्वासप्रश्वाससँग सम्बन्धित समस्या देखा परिरहेका छन्।
मानव स्वास्थ्यलाई पर्ने असर त छँदै छ, वायु प्रदूषणले अर्थतन्त्रमा पनि गम्भीर क्षति पुर्याएको छ। पर्यटकको संख्या उच्च हुने यो मौसममा पोखरा विमानस्थलमा यो साता अधिकांश समय उडान हुन सकेन। हिमाल हेर्न आएका सयौं पर्यटक त्यसबाट वञ्चित भए। देशका विभिन्न विमानस्थलमा हजारौं पर्यटक अलपत्र छन्।
डढेलोका कारण सिर्जना भएको धूवाँ र खरानी उडेर हिमालसम्म पुगेको छ जहाँ पहिलेदेखि नै हिमतालहरू पग्लिरहेका छन्। यो धूलो-धूवाँका कारण मैलिएको हिउँ झनै छिटो पग्लिनेछ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भूकम्प र बाढी सँगसागै आगलागीको प्रकोपमा ध्यान दिन आवश्यक छ।
छिटै प्रि-मनसुनको वर्षाले यो डढेलो निभाउनेछ र हाम्रो भाग्यवादी समाजले अर्को वर्ष फेरि डढेलो नलाग्दासम्म यो प्रकोप बिर्सनेछ। त्यसपछि फेरि बाढी, पहिरो जस्ता ‘प्राकृतिक प्रकोप’ को मौसम शुरू हुनेछ। त्यसका लागि पनि हामीले पर्याप्त तयारी गरेका छैनौं।
यो वर्ष आगलागीको प्रकोपका लागि तयारी गर्न निकै ढिलो भइसकेको छ, तर आउने वर्षका लागि तयारी गर्न यस्ता काम गर्न सकिन्छ :
- वडा तहसम्मको सचेतना अभियान र हेलचेक्य्राइँ गर्नेलाई दण्ड।
- आगो निभाउन तालीमप्राप्त सुरक्षा संयन्त्र र उनीहरूलाई साधनस्रोतको बन्दोबस्त।
- विकट स्थलमा आगो निभाउने क्षमता सहित नेपाली सेनाका हेलिकोप्टरको तयारी।
- पातपतिंगर घटाउने गरी जंगल व्यवस्थापन।
(नेपाली टाइम्सबाट। अंग्रेजीमा पढ्न यहाँ क्लिक गर्नुहोस्।)
वायु संकट शृंखलाका थप सामग्री :