संरक्षणकर्मी आचार्यलाई बेलायतको प्रसिद्ध ह्वीट्ली अवार्ड
लाटोकोसेरोको संरक्षणमा काम गर्दै आएका संरक्षणकर्मी राजु आचार्य बेलायती संस्था ह्वीट्ली फन्ड फर नेचरले प्रदान गर्ने पुरस्कारबाट पुरस्कृत भएका छन्।
प्रकृतिका साथीहरू संस्थाका संस्थापक आचार्यले सरकारले लागू गरेको दशवर्षे लाटोकोसेरो कार्ययोजना निर्माण र कार्यान्वयनमा प्रभावकारी काम गरेका थिए। कार्ययोजनाले लाटोकोसेरोको अवैध शिकार तथा व्यापार र वासस्थान जोगाउन मार्गनिर्देश गरेको छ।
बेलायतको प्रसिद्ध ह्वीट्ली पुरस्कारले नेपालमा लाटोकोसेरो संरक्षण क्रियाकलापलाई अझ गति दिने आशा व्यक्त गरिएको छ। नेपालमा पाइने २३ प्रजातिका लाटोकोसेरो संरक्षणमा ह्वीट्ली पुरस्कार प्रभावकारी हुने ह्वीट्ली फन्ड फर नेचरद्वारा जारी विज्ञप्तिमा जनाइएको छ। ह्वीट्ली फन्ड फर नेचर पुरस्कारबाट पुरस्कृत भएपछि उनले दुई वर्षका लागि झन्डै ४० लाख बराबरको आर्थिक सहयोग पाउनेछन्, जुन सहयोग संरक्षणका विविध काममा खर्च गरिने जनाइएको छ।
आचार्यले वैशाख १९ मा लन्डनको रोयल जिओग्राफिक सोसाइटीमा आयोजित कार्यक्रममा बेलायती अधिराजकुमारी एनेबाट पुरस्कार ग्रहण गरेका छन्। ह्वीट्ली फन्ड फर नेचरका सद्भावना राजदूत तथा संस्थाका हितैषी सर डेभिड एटेनब्रोले पुरस्कार पाउने संरक्षणकर्मीको संख्या बढ्दै जाँदा विश्वमा संरक्षण अगुवाको सञ्जाल विस्तार हुँदै जाने आशा व्यक्त गरेका छन्। “ह्वीट्ली पुरस्कार विजेताहरूको सञ्जालले संकटमा कस्तो काम गर्नुपर्छ भन्ने ज्ञान आफू र समुदायमा बाँड्नेछ,” उनले भने।
बोलीचालीको भाषामा उल्लु भनिने लाटोकोसेरो तथा हुचिल रातमा सक्रिय हुने शिकारी प्रजातिको चरो हो। नेपालमा पाइने हुचिल, हाप्सिलो, महाकौशिक, भासोलुक, उलुक र कालपेचक लाटोकोसेरो प्रजाति संकटापन्न अवस्थामा छन्। वासस्थानको विनाश, आहाराको अभाव, कृषिजन्य रासायनिक मल तथा विषादीको प्रयोग संकटका कारक भएको संरक्षणकर्मी आचार्यले हिमालखबरसँगको अन्तर्वार्तामा बताएका थिए।
नेपालमा अभिलेख भएका २३ प्रजातिका लाटोकोसेरोमध्ये नौ प्रजातिका लाटोकोसेरो राष्ट्रिय रूपमा संकटापन्न अवस्थामा छन् भने दुई प्रजातिबारे भरपर्दो जानकारी छैन। लाटोकोसेरो जोगाउन आचार्यले नेतृत्व गरेको संस्था प्रकृतिका साथीहरूले १२ वर्षदेखि गाउँठाउँमै गएर महोत्सव आयोजना गर्दै आएको छ।
“मलाई साथसहयोग दिने स्थानीय बासिन्दा तथा सहकर्मीको उत्साहले निरन्तर काममा लाग्ने प्रेरणा मिलेको छ,” पुरस्कृत भएपछि आचार्यले भनेका छन्। गाउँठाउँमा उल्लु जोगाउने क्रियाकलाप गरिरहँदा उनलाई सबैले ‘उल्लु सर’ को नाउले चिन्ने गर्छन्।
यो पनि पढ्नुहोस् : ‘लाटोकोसेरो जोगाउनका लागि पैसा नै छैन’