नेपाललाई २९ रनले हराउँदै वेस्ट इन्डिजले जित्यो टी-२० शृंखला
नेपाललाई २९ रनले हराउँदै आगन्तुक टोली वेस्ट इन्डिजले टी-२० शृंखला जितेको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहीबार भएको चौथो खेल जित्दै वेस्ट इन्डिजले ३-१ ले शृंखला कब्जा गरेको हो। यसअघि वेस्ट इन्डिजले दुई र नेपालले एक खेल जितेका थिए भने एक खेल बाँकी छ।
वेस्ट इन्डिजले दिएको २१० रनको लक्ष्य पछ्याउने क्रममा नेपाल सबै विकेट गुमाएर १८१ रनमै समेटियो। नेपालका लागि कप्तान रोहित पौडेलले ८२ रन बनाए। उनले ४७ बलमा सात चौका र पाँच छक्का प्रहार गरे।
त्यस्तै, सन्दीप जोरा, दीपेन्द्रसिंह ऐरी र गुल्सन झाले १९/१९ तथा अविनाश बोहराले १७ र सोमपाल कामीले १० रन बनाए। अन्य खेलाडीले भने दोहोरो अंकमा रन जोड्न सकेनन्।
वेस्ट इन्डिजका लागि म्याथ्यु फोर्ड र हेडेन वासले तीन-तीन तथा फाबिन अलेन र गुडाकेस मोटिईले दुई-दुई विकेट लिए।
यसअघि ब्याटिङ गरेको वेस्ट इन्डिजले जोनसन चार्ल्स र एन्ड्रु फ्लेचरको अर्धशतकमा तीन विकेट गुमाउँदै २०९ रन बनाएको थियो। फ्लेचरले ५४ बलमा नौ चौका र चार छक्का प्रहार गर्दै ८४ रन बनाए।
त्यस्तै, चार्ल्सले ३० बलमा तीन चौका र ६ छक्का प्रहार गर्दै ५८ रन बनाए। वेस्ट इन्डिजका लागि फबियन अलेनले ३३ रन बनाए।
नेपालका लागि कुशल भुर्तेलले दुई र प्रतिश जीसीले एक विकेट लिए। अन्य बलर महँगा सावित भए।
पाँच खेलको टी-२० शृंखलाका लागि वेस्ट इन्डिजको ‘ए’ टोली नेपाल भ्रमणमा छ। यो शृंखलाको अन्तिम खेल शनिबार दिउँसो १ बजे त्रिवि क्रिकेट मैदानमा हुनेछ।