आगलागीमा गुम्यो जायजेथा
आगलागीका कारण ४६ परिवारका घर खरानी भएका छन्।
वैशाख १८ गते सप्तरीको महादेवा गाउँपालिका-१, चिम्टी टोलका चन्द्रनारायण यादवको घरमा कान्छा छोरा वरुणको विवाहभोज चलिरहेको थियो। आफन्तको जमघटले घरमा खुशीको माहोल थियो।
यादवकै छिमेकी चनरदेवी सदा पनि त्यस दिन खुशी देखिएकी थिइन्। केही महीनाअघि गाउँकै साहुसँग लिएको ऋण बापतको ५० हजार रुपैयाँ तिर्न रकम जोहो गरिसकेकी थिइन्। कामको सिलसिलामा सिरहामा रहेका पतिले एक साताअघि मात्रै पठाइदिएको रकम उनले घरको बाकसभित्र राखेकी थिइन्। कामको व्यस्तताले साहुलाई तिरिहाल्न भने भ्याएकी थिइनन्।
तर यादव र सदा दुवैको खुशी क्षणभरमै बिलायो। मंगलबार दिउँसो गाउँमा भएको भीषण आगलागीले यी दुई सहित धेरैको जायजेथा खरानी भयो। स्थानीय शत्रुधन यादवको घरबाट आगलागी शुरू भएको थियो।
जिल्ला प्रहरी कार्यालय, सप्तरीका प्रमुख प्रहरी उपरीक्षक गजुसिद्दी बज्राचार्यका अनुसार त्यस दिनको आगलागीबाट ४६ परिवारका ४६ घर, ११ वटा गोठ र नौ वटा भान्सा जलेर नष्ट भएका छन्।
चन्द्रनारायणका छोरा वरुण नेपाल प्रहरीमा सर्लाही जिल्लामा कार्यरत छन्। एक साताअघि मात्रै विवाहका लागि बिदा लिएर घर आएका थिए। तर विवाह त भयो, बस्ने ठाउँ भने खरानी बन्यो। ससुरालीले दिएका पलङ सहितका फर्निचर, फ्रीज, लत्ताकपडा सबै नष्ट भयो।
“आठ तोला जति सुन, १५ तोला चाँदीका साथै सबै सामान जल्यो,” चन्द्रनारायणले भने, “भर्खरै विवाह गरेर ल्याएकी बुहारी र छोरालाई अर्को गाउँ पठाउनुपर्ने बाध्यता आइलाग्यो।”
चनरदेवीले पनि ऋण तिर्न राखेको ५० हजार सहित घर र घरभित्रका केही सामान बाँकी नरहेको बताइन्। “आगलागीले सबैथोक जल्यो, खानलाई पनि केही बाँकी रहेन,” उनी भन्छिन्, “अब कसरी घर बनाउने?”
प्रमुख जिल्ला अधिकारी किरण थापा हुरी चलेका वेला भएको आगलागीले ठूलो क्षति गराएको बताउँछन्। विभिन्न संघसंस्थासँग पहल गरी राहत वितरण कार्य अघि बढाइएको पनि उनले जानकारी दिए। वैशाख १९ गते जिल्ला विपद् व्यवस्थापन समिति, रेडक्रस, सप्तरी उद्योग वाणिज्य संघ लगायतले अग्निपीडितलाई राहत वितरण गरेका थिए।
प्रमुख जिल्ला अधिकारी थापाले अग्निपीडितको आवास पुनर्निर्माण तथा पुनःस्थापना कार्यविधि बमोजिम घरधुरी सर्भे गर्न स्वयंसेवक परिचालन गरिने पनि बताए।
सप्तरीमा एक साताअघि मात्रै भएको आगलागीबाट एकै गाउँका २४ घर जलेर नष्ट भएका थिए। गत वैशाख ९ गते कञ्चनरूप-५, पडेमारामा आगलागी हुँदा बस्ती विनाश भएको थियो।
यो पनि पढ्नुहोस् : दशककै अत्यधिक डढेलो, देशैभर संकट