नेपाल विरुद्धको चौथो खेलमा ब्याटिङ गर्दै वेस्ट इन्डिज
टी-२० क्रिकेट शृंखला अन्तर्गत नेपाल विरुद्धको चौथो खेलमा वेस्ट इन्डिजको ‘ए’ टोली ब्याटिङ गरिरहेको छ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा वेस्ट इन्डिजले टस जितेर ब्याटिङ रोजेको हो। शृंखला जोगाउन नेपाल आज खेल जित्नै पर्ने दबाबमा छ।
नेपाली टोलीमा रोहितकुमार पौडेल, कुशल भुर्तेल, आसिफ शेख, कुशल मल्ल, सन्दीप जोरा, गुल्सन झा, दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी, प्रतिश जीसी, ललितनारायण राजवंशी र अभिनाश बोहरा छन्।
यसअघि भएका तीन खेलमध्ये वेस्ट इन्डिजले दुई खेल जितेको छ भने नेपालले एउटा खेल मात्रै जितेको छ। यही वैशाख १५ गते भएको पहिलो खेलमा नेपाल चार विकेटले विजयी भएको थियो।
यसैगरी, वैशाख १६ गते भएको दोस्रो खेलमा भने नेपाल वेस्ट इन्डिजसँग १० रनले पराजित भयो। वैशाख १९ मा भएको तेस्रो खेलमा भने नेपाल वेस्ट इन्डिजसँग ७६ रनले पराजित भएको थियो।
पाँच खेलको जारी शृंखलामा आजको खेल वेस्ट इन्डिजले जितेमा शृंखला जित्नेछ। नेपालले शृंखला जोगाउन आजको खेल जित्नै पर्नेछ।