नेपालीहरू सामूहिक रूपमा रूसी सेना त्याग्दै छन् : युक्रेनी गुप्तचर
युक्रेनी रक्षा मन्त्रालयको मुख्य गुप्तचर संस्थाले नेपालीहरूले सामूहिक रूपमा रूसी सेना त्यागिरहेको जानकारी दिएको छ।
‘रूसी सशस्त्र बलको सैन्य युनिट २९३२८ मा खटाइएका नेपाली भाडाका सैनिकहरू भाग्नुको मुख्य कारण मस्कोभाइट फील्ड कमान्डरको क्रूर व्यवहार (निश्चित मृत्यु हुने आदेश पालना नगर्दा दिइएको गैरन्यायिक मृत्युदण्ड र वाचा गरिए अनुसार नदिइएको पारिश्रमिक) रहेको छ,’ गुप्तचर संस्थालाई उद्धृत गर्दै इन्टरफ्याक्स युक्रेनले लेखेको छ।
रूसी सेनाले हाल भगौडाहरूलाई विशेषगरी लुहान्स्क क्षेत्रमा खोजिरहेको छ। तर युक्रेनी गुप्तचर एजेन्सीका अनुसार यो खोजले कुनै नतीजा ल्याउँदैन।
युक्रेनी गुप्तचरका अनुसार रूसी सेनाको मोटरवाहनयुक्त राइफल सैन्य युनिटको नेतृत्वले आफ्ना प्रतिवेदनमा तथा शीर्ष तहमा नेपालीहरूले फौज त्याग्नुमा ‘भूकम्पका कारण मातृभूमि फर्किएको’ बताएको छ। जसलाई युक्रेनी गुप्तचरले रूसी सेनाको बकवास भनेको छ।
‘यद्यपि रूसनियन्त्रित लुहान्स्क क्षेत्रबाट आफ्नै बलबुतामा नेपाल फर्किन सहज छैन। यसका अलावा रूसी सेनाको हिस्सा भई युक्रेन विरुद्धको आक्रमणमा सहभागी हुँदा नेपालीहरूले आफ्नो देशमा मुद्दा खेप्नुपर्ने हुन सक्छ। परिणामतः नेपाली भाडाका लडाकूहरूको सजिलै पैसा कमाउने रहर पासोमा परिणत भएको छ जहाँबाट सुरक्षितसाथ बाहिर निस्कन असम्भव जस्तै छ,’ युक्रेनी गुप्तचरले भनेको छ।
यो पनि पढ्नुहोस् :