‘अध्ययन तथा बस्नेखाने खर्चको व्यवस्था गरेर मात्र सन्तानलाई क्यानडा पठाउनू’
क्यानडास्थित नेपाली राजदूतावासले अध्ययनका लागि क्यानडा जान चाहने नेपाली विद्यार्थीहरूलाई सचेतना अपनाउन आग्रह गरेको छ।
आफू पढ्ने कलेज तथा विश्वविद्यालय, आफू बस्ने स्थानको भूगोल, हावापानी, रहनसहन साथै भाषा, सांस्कृतिक भिन्नता, बस्नेखाने खर्चको प्रबन्ध र स्वास्थ्य बीमा आदिका बारेमा पूर्ण अध्ययन तथा प्रबन्ध गरेर मात्र क्यानडा आउन दूतावासले आग्रह गरेको छ। दूतावासले कलेज तथा विश्वविद्यालयको गुणस्तर र विश्वसनीयता यकीन गरेर मात्र शैक्षिक शुल्क तिर्न र डेरा खोज्दा पनि घर मालिकको तथ्य सूचना लिएर मात्र भाडा रकम भुक्तानी गर्न पनि अनुरोध गरेको छ।
सामाजिक सञ्जालका विज्ञापनमा मात्र भर परी भुक्तानी गर्दा ठगीमा पर्न सकिने भन्दै सचेत पनि गराएको छ।
क्यानडामा अध्ययन गर्ने सोच भएमा धेरै सूचनाहरू सम्बन्धित वेबसाइटमा उपलब्ध हुने बताउँदै केही विषयमा प्रस्ट हुन चाहेमा क्यानडामा रहने साथीभाइ, गैरआवासीय नेपाली संघ वा नेपाली समुदायका संघसंस्था तथा तिनका पदाधिकारीहरूसँग सम्पर्क गरी जानकारी लिन उचित हुने पनि दूतावासले जनाएको छ।
यस्तै, आफ्ना छोराछोरीलाई अध्ययन अवधिभरका लागि चाहिने शैक्षिक शुल्क र बस्नेखाने खर्चको व्यवस्था गरेर मात्र क्यानडा पठाउन दूतावासले अभिभावकहरू समक्ष आग्रह गरेको छ। साथै, क्यानडा पठाइसकेपछि आफ्ना सन्तानसँग नियमित सम्पर्कमा रहन, उनीहरू समस्यासँग कसरी जुधिरहेका छन् भन्नेबारे जानकारी लिन तथा मनोवैज्ञानिक तथा आर्थिक रूपले सहयोग गर्न भनेको छ।
‘क्यानडा पढ्न आउने विद्यार्थीहरूले आउनासाथ रोजगारी पाइहाल्छन् भन्ने भ्रममा रहँदा कलिला उमेरका छोराछोरीमा पर्ने अति आवश्यक खर्चका समस्या र मनोवैज्ञानिक तनावका बारेमा हेक्का राख्ने र त्यस्ता समस्या आउनै नदिने गर्नुपर्दछ,’ दूतावासको सूचनामा भनिएको छ।
यस्तै, शैक्षिक परामर्शदाता संस्थाहरूलाई अपर्याप्त, अवास्तविक र यथार्थभन्दा बाहिर बढाइचढाइ गरी गरिएको प्रचार, प्रसार र सूचना प्रवाहबाट विद्यार्थीलाई पर्न सक्ने समस्याबारे हेक्का राख्न भनिएको छ।
क्यानडा सरकारले शैक्षिक पूर्वाधार एवं आवास सुविधामा परेको चापलाई ध्यान दिंदै गत जनवरीमा अन्तर्राष्ट्रिय विद्यार्थीहरू सम्बन्धी नयाँ नीति लिएको पनि दूतावासले स्मरण गराएको छ। क्यानडाले अन्तर्राष्ट्रिय विद्यार्थीको संख्या दुई वर्षका लागि ३५ प्रतिशतले घटाउने र निजी-सार्वजनिक साझेदारीमा सञ्चालन भइरहेका कलेजमा भर्ना भएका स्नातक र सोभन्दा मुनिका तहमा अध्ययन गर्ने विद्यार्थीलाई आगामी सेप्टेम्बरबाट श्रम स्वीकृति जारी नगर्ने नीति लिएको छ। विद्यार्थीहरूलाई यी नीतिबारे विशेष ध्यान दिन दूतावासको आग्रह छ।