अमेरिकी विद्यार्थी आन्दोलनप्रति दक्षिणएशियाका विद्यार्थी संगठनहरूको ऐक्यबद्धता
दक्षिणएशियाका विद्यार्थी संगठनहरूले अमेरिकामा जारी विद्यार्थी आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै कोलम्बिया विश्वविद्यालय र अमेरिकी सरकारबाट भएको दमनको विरोध गरेका छन्।
बाङ्लादेश, भारत, नेपाल, श्रीलंका र पाकिस्तानका विद्यार्थी संगठनहरूले एक संयुक्त विज्ञप्ति जारी गर्दै दक्षिणएशियाका सबै वामपन्थी तथा प्रजातान्त्रिक विद्यार्थी संगठनहरूका तर्फबाट अमेरिकाको यस ऐतिहासिक विद्यार्थी आन्दोलनप्रति आफूहरूको ऐक्यबद्धता रहेको जनाएका हुन्। नेपालबाट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) र अखिल नेपाल विद्यार्थी युनियन (समाजवादी)ले ऐक्यबद्धता व्यक्त गरेका छन्।
‘अमेरिकाका सडकमा महीनौंदेखि चलेको आन्दोलन र यसमा अहिले विद्यार्थी समुदायको संलग्नताले हामीलाई भियतनाम युद्ध विरुद्ध बढेको जनचेतनाको याद दिलाएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘आज, यी आवाज र प्रतिरोधले साम्राज्यवादी-फासीवादी युद्ध संयन्त्रलाई थरथर मात्र बनाउँदैनन् विश्वभरका शान्तिप्रेमी जनतामाझ दृढ संकल्प र आशाको लहरहरूको सञ्चार समेत गर्छन्।
दक्षिणएशियाली विद्यार्थी संगठनहरूले अमेरिकी विद्यार्थी आन्दोलनको मुख्य अजेन्डासँग सहमत भएको बताउँदै आन्दोलनका क्रममा कारबाहीमा परेका विद्यार्थी र शिक्षकहरूको रिहाइको पनि माग गरेका छन्। यस्तै, प्रहरी र सेनालाई प्रजातान्त्रिक आन्दोलनबाट पछि हट्न र यस्ता परिस्थितिको सामना गर्नुपरे प्रजातान्त्रिक मान्यता अपनाउन पनि माग गरेका छन्।
विद्यार्थी संगठनहरूले विश्वभरका शान्तिप्रेमी विद्यार्थी र जनतालाई यस आन्दोलनप्रति ऐक्यबद्धता व्यक्त गर्न तथा युद्ध र नरसंहारका लागि निर्देश गरिएका भौतिक र बौद्धिक स्रोतसाधन विरुद्ध आवाज उठाउन आग्रह गरेका छन्।
प्यालेस्टाइनमा भइरहेको इजरायली आक्रमणको विरोधमा अहिले अमेरिकी विश्वविद्यालयहरू अशान्त छन्। विद्यार्थीहरूले इजरायललाई अमेरिकाले गरिरहेको सैन्य सहयोग तथा हतियार विक्रेता र युद्धबाट नाफा कमाउने कम्पनीसँगको सम्बन्ध अन्त्य हुनुपर्ने माग गरिरहेका छन्।
गत वैशाख ६ गते कोलम्बिया विश्वविद्यालयमा आन्दोलनरत ७०० विद्यार्थीलाई प्रहरीले गिरफ्तार गरेको थियो।