देशैभर विषालु हावा, अकर्मण्य छ सरकार
वायु प्रदूषण उच्च रहेको र त्यसको मुख्य कारण डढेलो रहेको स्विकारे पनि सरकारी अधिकारी भन्छन्, ‘आजको भोलि केही गर्न सकिन्न।’
६ दिनअघि वैशाख १४ मा पत्रकार नारायण अमृतले सामाजिक सञ्जाल एक्समा ‘सडकमा हिंडिरहँदा आँखा पोल्ने, आँसु आउने र दृश्य धमिलो देखिने’ गरेको भन्दै प्रश्न गरे- ‘काठमाडौंको हावामा बढ्दो प्रदूषणको प्रभाव त होइन?’
पत्रकार अमृतले यस्तो जिज्ञासा गरिरहँदा काठमाडौंको वायुको गुणस्तर १९४ थियो। विश्व स्वास्थ्य संगठनका अनुसार यो गुणस्तरको हावा सबैका लागि अस्वस्थकर हो। त्यो दिन काठमाडौं विश्वकै सबैभन्दा प्रदूषित शहरमा गनिएको थियो।
विश्व स्वास्थ्य संगठनका अनुसार वायुको गुणस्तर सूचकांक ५० सम्मलाई स्वस्थ र १०० सम्मलाई सन्तोषजनक मानिन्छ। त्यसभन्दा माथि १५० सम्मलाई श्वासप्रश्वास सम्बन्धी रोग भएका व्यक्ति, वृद्धवृद्धा, बालबालिका, किशोरकिशोरीका लागि अस्वस्थ मानिन्छ।
त्यस्तै, २०० सम्मलाई अस्वस्थ, त्यसभन्दा माथि ३०० सम्मलाई हानिकारक मानिन्छ। यससँगै ३०० भन्दा माथिलाई जोखिमयुक्त मानिएको छ।
काठमाडौंको वायु संसारकै अत्यन्त खराबको सूचीमा पर्ने गरी प्रदूषित भएको सरकार नै स्वीकार गर्छ। पछिल्ला केही महीनादेखि काठमाडौंका बासिन्दाले डरलाग्दो वायु प्रदूषणको सामना गर्नुपरिरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकी बताउँछन्।
‘वर्ल्ड एअर क्वालिटी इन्डेक्स प्रोजेक्ट’ ले प्रकाशन गर्ने ‘एअर क्वालिटी इन्डेक्स’ (वायु गुणस्तर सूचकांक) अनुसार गत चैत २८ मा काठमाडौंको वायुको गुणस्तर २४५ थियो। त्यस दिन पनि काठमाडौं विश्वकै सबैभन्दा प्रदूषित शहर बनेको थियो। त्यसको तीन सातापछि आज वैशाख १९ मा पनि काठमाडौंको वायु अस्वस्थकर नै छ।
बुधबारको वायुको गुणस्तर १८६ छ। कतिसम्म भने, नेपालसँग टी-२० क्रिकेट शृंखला खेल्न आएका वेस्टइन्डिजका खेलाडीले मैदानमै मास्क लगाए। नेपाललाई ७६ रनले जितेपछि वेस्ट इन्डिजका खेलाडी एन्ड्रे प्लेचरले काठमाडौंको ‘धूलोको सामना गर्न’ मास्क लगाउनुपरेको प्रतिक्रिया दिए।
काठमाडौंको वायु बस्नै असहज हुने गरी प्रदूषित भएको छ। एअर क्वालिटी इन्डेक्स अनुसार काठमाडौं मात्र नभई देशका सबैजसो शहरको वायु यसरी नै प्रदूषित छ। पर्यटकीय नगरी पोखरा त्यसमध्ये एक हो।
देशैभर वायु प्रदूषण हुँदा स्वस्थ हावा लिन पाउने मानव अधिकार नै उल्लंघन भएको ठहर छ राष्ट्रिय मानव अधिकार आयोगको। आयोगले गत चैत २८ गते ‘स्वच्छ तथा स्वस्थ वातावरणको हक सुनिश्चित गर्न’ नेपाल सरकारलाई आह्वान गर्दै प्रेस विज्ञप्ति पनि जारी गरेको थियो। “तर नेपाल सरकार यसबारे सचेत भएको छैन,” आयोगका सहसचिव श्यामबाबु काफ्ले भन्छन्।
यसबीच सरकारले एउटै काम गरेको छ- मास्क लगाउने सल्लाह दिंदै विज्ञप्ति प्रकाशन गर्ने। किन सरकार उदासीन छ त? स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. बुढाथोकी प्रदूषणको मुख्य कारण देशैभर लागेको डढेलो भएकाले नियन्त्रण गर्न नसकिएको तर्क गर्छन्।
वन तथा वातावरण मन्त्रालय अन्तर्गतको वातावरण विभागका सूचना अधिकारी दीपक ज्ञवाली पनि वायु प्रदूषणको मुख्य कारक आगलागी भएको स्विकार्छन्। मन्त्रालयको तथ्यांक अनुसार पछिल्लो सातादेखि नेपालमा दैनिक १६० भन्दा बढी स्थानमा डढेलो लागिरहेको छ। मन्त्रालयका अनुसार कतिपय स्थानमा केही दिनदेखि यस्तो आगलागी नियन्त्रण बाहिर गइरहेको छ।
स्थानीय तहले सक्रियता नदेखाएकै कारण डढेलो नियन्त्रण नभएको आरोप छ संघीय सरकारको। यो काम तीनै तहका सरकारको जिम्मेवारी भएको तर्क गर्दै वन तथा वातावरण मन्त्रालयका प्रवक्ता बद्रीराज ढुंगाना स्थानीय तहले सक्रियता नदेखाएको आरोप लगाउँछन्। ढुंगाना भन्छन्, “७५३ स्थानीय तहले यसबारे सचेतना गरेको देखिंदैन। हामीले पनि आजको भोलि गर्न सक्ने केही छैन। आजै केही गरेर भोलि नै वायु प्रदूषण कम हुने पनि हैन। आगलागी नियन्त्रण लिने पर्याप्त प्रविधि र बजेट पनि छैन।”
विज्ञहरू भने सरकारी तर्कसँग सहमत छैनन्। त्रिभुवन विश्वविद्यालयको केन्द्रीय वातावरण विभागकी प्राध्यापक रेजिना मास्के सरकार कुनै पनि बहाना बनाएर पन्छिन नमिल्ने तर्क गर्छिन्। “सरकारले तुरुन्तै बैठक बोलाएर विभिन्न उपायको खोजी गर्ने हो,” मास्के भन्छिन्, “तर सरकारमा त्यो तदारुकता देखिंदैन।”
डढेलो नियन्त्रणका लागि उच्च प्राथमिकता दिंदै वायु प्रदूषण नियन्त्रण गर्ने अन्य विधिहरू पनि अपनाउन उनी सरकारलाई सल्लाह दिन्छिन्।
वायु संकट शृंखलाका थप सामग्री :