दशककै अत्यधिक डढेलो, देशैभर संकट
बितेको अप्रिल महीना नेपालमा पछिल्लो दशककै सर्वाधिक डढेलो लागेको महीनामध्ये एक हुन पुग्दा देशैभर संकट निम्तिएको छ।
अमेरिकी अन्तरिक्ष सम्बन्धी संस्था नासाको मोडिज भूउपग्रहले संकलन गरेको तथ्यांकको विश्लेषणले पछिल्लो १३ वर्षयताकै सर्वाधिक डढेलो लाग्ने महीनामा गत अप्रिल पनि रहेको देखाएको हो। सन् २०२४ को अप्रिल महीनाभरि नेपालमा तीन हजार ४१५ स्थानमा डढेलो लागेको थियो। यो दिनहुँ सरदरमा ११४ स्थानमा लागेको डढेलो हो।
यसअघि सन् २०१६ र २०२१ को अप्रिल महीनामा उच्च संख्यामा डढेलो लागेको तथ्यांक छ। सन् २०१६ को अप्रिलमा देशभरि तीन हजार ८६३ स्थान र सन् २०२१ को अप्रिलमा तीन हजार ८८३ ठाउँमा डढेलो लागेको थियो। गत १३ वर्षमा यी तीन वर्षका अप्रिलमा सर्वाधिक धेरै डढेलो सल्किएका छन्। सामान्यतयाः वर्षभरिका अन्य महीनाका तुलनामा अप्रिलमा बढी डढेलो लाग्छ।
हिउँदमा कम पानी परेको तथा औसत तापक्रम पनि बढेकाले यो वर्ष डढेलोको संख्या बढेको विज्ञहरू बताउँछन्। जल तथा मौसम विज्ञान विभागका अनुसार यो वर्षको हिउँद अवधिमा सरदर वर्षाको २०.५ प्रतिशत मात्रै पानी परेको थियो। सामान्यतयाः हिउँदमा ६०.९ मिलिमिटर पानी पर्नुपर्नेमा यो वर्षको हिउँदमा १२.५ मिलिमिटर मात्रै वर्षा भयो। प्रि-मनसुन अवधि शुरू भइसक्दा पनि वर्षा न्यून छ।
विगतको भन्दा यो वर्ष डढेलोको प्रवृत्तिमा फेरबदल आएको छ। कुनै एक वर्ष धेरै स्थानमा डढेलो लागे अर्को वर्ष थोरै स्थानमा मात्रै डढेलो लाग्ने गरेको विगतको प्रवृत्ति थियो। जस्तै, सन् २०१६ मा पाँच हजार १९० स्थानमा डढेलो लागेको थियो। त्यस लगत्तैको वर्ष सन् २०१७ मा एक हजार ५४५ स्थानमा मात्रै डढेलो लागेको थियो।
विगत १३ वर्षमा सर्वाधिक डढेलो सल्किएको वर्ष थियो, सन् २०२१। यो वर्ष देशका ६ हजार ५३७ स्थानमा डढेलो लागेको थियो। तर त्यस लगत्तैको वर्ष सन् २०२२ मा एक हजार ५२८ स्थानमा डढेलो सीमित भएको थियो। यसले कुनै वर्ष डढेलो तीव्र गतिमा फैलिए लगत्तैको वर्ष डढेलो कम स्थानमा मात्रै लाग्ने गरेको देखाउँछ।
तर गत वर्ष डढेलो धेरै स्थानमा सल्किए पनि यो वर्ष त्योभन्दा बढी स्थानमा डढेलो लागेको तथ्यांकले देखाउँछ। सन् २०२३ मा तीन हजार १९५ स्थानमा डढेलो सल्किएको थियो। यो वर्ष भने त्यसभन्दा पनि बढेर पहिलो चार महीनामै चार हजार ११४ स्थानमा डढेलो लागिसकेको छ।
वन तथा भू-संरक्षण विभागका उपमहानिर्देशक दिपक ज्ञवाली सन् २०२४ सर्वाधिक डढेलो लाग्ने वर्षका रुपमा दरिनसक्ने आकलन गर्छन्। “अहिलेसम्मको प्रवृत्ति हेर्दा यो वर्ष डढेलो धेरै स्थानमा सल्किनसक्ने जोखिम छ,” ज्ञवाली भन्छन्।
गत १३ वर्षमा सालाखाला हरेक वर्ष दुई हजार ५५५ स्थानमा डढेलो लागेको तथ्यांकले देखाउँछ। तर सन् २०२४ मा भने जनवरीदेखि अप्रिलसम्म चार महीनामै चार हजार ११४ स्थानमा डढेलो लागिसकेको छ।
कहाँ लाग्यो डढेलो?
मोडिसको तथ्यांकले यो वर्ष लुम्बिनी प्रदेशमा सबैभन्दा धेरै डढेलो सल्किएको देखाउँछ। गत जनवरीदेखि अप्रिल महीनासम्म लुम्बिनीका एक हजार १०८ स्थानमा डढेलो लागेको थियो। सुदूरपश्चिमका ७२२ स्थानमा, कर्णालीका ६८५ स्थानमा, बागमतीका ६१० स्थानमा डढेलो लागेको तथ्यांक छ। त्यस्तै, मधेशका ३४० स्थानमा, कोशीका ३४० स्थानमा र गण्डकीका २७४ स्थानमा डढेलो लागेको छ।
खासगरी पछिल्लो समयमा वर्षा कम भएकाले देशको पश्चिमी भागमा बढी डढेलो लागेको देखिएको छ। प्रि-मनसुन शुरू भइसकेपछि देशको पूर्वी भागमा केही वर्षा भएकाले ती क्षेत्रका वन केही ओसिलो हुन पुगेका थिए।
जिल्लागत आधारमा हेर्दा दाङ र सुर्खेतमा सर्वाधिक धेरै समान २६० स्थानमा डढेलो लागेको छ। चितवनको वनको २४६ स्थानमा बर्दियामा २०७ स्थानमा र सल्यानको २०० स्थानमा डढेलो लागेको छ।
सामान्यतयाः नेपालमा प्राकृतिकभन्दा मानवीय कारणले डढेलो सल्किने गरेको देखिएको छ। वन तथा भूसंरक्षण विभागका उपमहानिर्देशक ज्ञवाली ९५ प्रतिशतभन्दा बढी डढेलो जानी नजानी मानिसले लगाउने गरेको बताउँछन्। “कतिपय स्थानमा दुर्घटनाबाट डढेलो शुरू भएको हुन्छ, धेरै स्थानमा भने घाँस पलाउँछ भनेर स्थानीयले नै डढेलो सल्काउने गरेका छन्,” उनले भने।
पछिल्ला वर्षमा गाउँबाट शहरतिर जनसंख्या बसाइसराई भइरहेका कारण डढेलोको जोखिम अझै बढेको छ। गाउँमा बस्ने जनसंख्या कम हुँदा खेतीपातीको क्रम पनि घटेको छ। जसले गर्दा खेत वा बारी बाँझो राख्ने क्रम बढेसँगै बोटविरुवा हुर्किदै गएर जंगल झ्याम्मिएको छ। काम नलाग्ने रुख विरुवाका हाँगा छिमलेर दाउरा बनाउने काम भएको छैन। जसले गर्दा वस्ती र वन आपसमा जोडिनपुगेका छन्। “अहिले पहाडका खरबारीमा खर काट्न छोडिएको छ। खरबारी वन जस्तै भएको र खेतबारी खरबारी जस्तै बनेको छ,” ज्ञवाली भन्छन्, “जसकारण वनमा कतै डढेलो सल्किए त्यो गाउँसम्मै आइपुग्न सजिलो भएको छ।”
डढेलो र आगलागीमा परेर सन् २०२४ को पहिलो चार महीनामा मात्रै ६२ जनाको ज्यान गएको गृह मन्त्रालयको तथ्यांक छ। यसबाट तीन हजार ६४ परिवार प्रभावित भएका छन्। ८६४ घर पूर्ण रुपमा ध्वस्त भएका छन् भने ४९१ घरमा आंशिक क्षति पुगेको छ। आगलागीका कारण बितेका चार महीनामा मात्रै एक अर्ब १२ करोड १० लाख रुपैयाँ बराबरको क्षति भएको छ। तर वनमा लागेको डढेलोले कति वनजन्तु, वनस्पति र जैविक विविधतामा असर पर्यो भन्ने अभिलेख छैन।
त्यसो त कानूनले वनमा डढेलो लगाउनेलाई कडा कानूनी कारबाहीको व्यवस्था गरेको छ। वन ऐन, २०७६ ले वनजंगलमा आगो झोस्ने वा आगलागी गर्नेलाई क्षति भएको बिगो असुल गरी तीन वर्षसम्म कैद वा ६० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजायको व्यवस्था गरेको छ। तर वनमा आगो लगाउने व्यक्तिको पहिचान गर्नमा तदारुकता नहुँदा कारबाही पनि हुने गरेको छैन।
सरकारले आफ्ना नीतिमा पनि डढेलो नियन्त्रणलाई प्राथमिकतामा राख्ने गरेको छ। वन डढेलो व्यवस्थापन रणनीति, २०६७ मा डढेलो नियन्त्रण गर्न नीतिगत, कानूनी तथा संरचनागत सुधारको प्रस्ताव गरिएको छ। तर वन डढेलो भयावह प्रकोप बनिसके पनि रोकथाम तथा नियन्त्रणका लागि नीतिगत, कानूनी तथा संरचनागत व्यवस्था कमजोर भएको सरकारकै अधिकारी बताउँछन्।
वन तथा भूसंरक्षण विभागका उप महानिर्देशक ज्ञवाली वन डढेलोको निरपेक्ष नियन्त्रणभन्दा पनि व्यवस्थापन आवश्यक रहेको बताउँछन्। वन डढेलो व्यवस्थापन रणनीति, २०६७ ले पनि वन व्यवस्थापन गर्न, बासस्थान सुधारको लागि वा घाँसेमैदान व्यवस्थापनका लागि नियन्त्रित र व्यवस्थित डढेलो आवश्यक रहेको उल्लेख गरेको छ। वन लाग्ने डढेलो फैलन नदिन गाउँको छेउ तथा जंगलमा ससाना पोखरी बनाउने, फायर लाइन बनाउने उपाय अपनाउन सकिने भए पनि वनसँग सम्बन्धित सरकारी निकाय र उपभोक्ता पनि खेलाची गर्दै आएका छन्।
यस बाहेकका उन्नत प्रविधिमा जानै सकिएको छैन। वन तथा भूसंरक्षण विभागका उपमहानिर्देशक ज्ञवाली स्याउला र सोत्तर व्यवस्थापन नगरे आगामी वर्षहरूमा पनि डढेलो बढ्दै जाने जोखिम भएको बताउँछन्। उनी भन्छन्, “स्थानीयदेखि संघीय सरकारसम्मले यो गम्भीर राष्ट्रिय समस्या हो भन्ने नबुझे डढेलोले ठूलै संकट निम्त्याउन सक्छ।”
वायु प्रदूषणको कारण
डढेलोले वन सम्पदा, मानवीय र आर्थिक मात्रै क्षति पुर्याएको छैन, सिंगो वातावरणलाई नै अस्वस्थ बनाउन भूमिका खेलेको छ। गत चैतको तेस्रो सातादेखि उच्च रुपमा भइरहेको वायु प्रदूषणको मुख्य जिम्मेवार डढेलो भएको आकलन छ। मौसमविद् विनोद पोखरेल सहितका अनुसन्धाताको भर्खरै प्रकाशित अध्ययनले वन डढेलो बढेका वेला काठमाडौं उपत्यकामा वायु प्रदूषण बढेको निष्कर्ष निकालेको थियो। सन् २०१८ देखि २०२२ सम्मको तथ्यांकमा आधारित यो अध्ययनले डढेलो र वायु प्रदूषणबीच सिधै सम्बन्ध देखाएको थियो।
सन् २०२४ को पहिलो चार महीनामा काठमाडौं उपत्यकाका रत्नपार्क, पुल्चोक, महाराजगञ्ज, कान्तिपथ लगायतका स्थानमा कुनै दिन पनि वायुको गुणस्तर श्वास फेर्न लायक देखिएको छैन। जस्तै, रत्नपार्कमा पछिल्लो चार महीनाको ‘पीएम २.५’ दैनिक सरदर १५५ माइक्रोग्राम प्रति घनमिटर छ। यो विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्डको १० गुणाभन्दा धेरै हो।
संगठनले २४ घण्टामा सरदर ‘पीएम २.५’ को मात्रा १५ भएमा त्यसलाई स्वस्थ मानेको छ। पार्टिकुलेट म्याटर भनिने ‘पीएम २.५’ ले हावामा हुने आँखाले नदेखिने धूलो र धुवाँको कणको घनत्वलाई बुझाउँछ।
वायु संकट शृंखलाका थप सामग्री :