मेरो नागरिकताबारे अफवाह
मेरो नागरिकता रद्द गरिएको समाचार प्रकाशन भइरहँदा म व्यवस्थापिका संसद्मा जनताद्वारा प्रत्यक्ष चुनिएर आएको सांसद थिएँ।
‘राजेन्द्र महतोको नागरिकता रद्द!’
२०७६ साउन १९ गते पत्रपत्रिकामा ब्यानर समाचार छापिए। रेडियो, टेलिभिजनले जोडजोडले फुके।
त्यस दिनको मन्त्रिपरिषद् बैठकले अशोक साह, विन्दे महतो, दानदेवी महतो, सोशील महतो, राजेन्द्र महतो, राजेश्वर महतो, रामकिशोर महतो र राजकुमार महतोको नागरिकता रद्द गरेको रहेछ।
रद्द गरिएकामध्ये एक जनाको नाम मेरो नामसँग मिल्न गएछ। मन्त्रिपरिषद्ले गरेको निर्णयको समाचार सम्प्रेषण गर्दा बदनियत राखेर मधेशी समुदायको अपमान गर्न यति भनियो- राजेन्द्र महतो लगायतको नागरिकता रद्द! झूटो विवरण पेश गरी नागरिकता लिएको देखिएकाले उनीहरूको नागरिकता रद्द गर्नुपरेको जानकारी तत्कालीन सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले दिए।
नागरिकता रद्द हुनेहरूको विवरण नखुलाइएकाले मानिसहरूले मेरै नागरिकता रद्द भएको ठाने। अनि मलाई मन नपराउने मानिसहरूलाई के चाहियो? हाम्रो समाज त्यसै पनि प्रतिक्रियात्मक छ। सत्य थाहा पाउने जाँगरै कसलाई छ र! हेडलाइन पढ्यो, तरंगित भइहाल्यो। प्रतिक्रिया दिइहाल्यो। र त त्यसको आयु क्षणिक हुन्छ। अल्पायुको हुन्छ।
डढेलो झैं त्यो समाचार सर्वत्र फैलियो। मधेशमा समेत त्यो खबर पुग्यो। मधेशी जनता त्यो षड्यन्त्रको विरोधमा झन् आन्दोलित भए।
यो त एउटा उदाहरण मात्रै हो। नेपालको नश्लीय सत्ताले मधेशीसँग नेपाली हुनुको प्रमाण मागिरहन्छ। पाइला पाइलामा ‘नेपाली भएको प्रमाण देखा’ भनेर अपमानित गरिरहन्छ। गरीबी, अभाव र बेरोजगारीले मधेशीहरू जति पिल्सिएका छन्, त्योभन्दा दोब्बर उनीहरू राज्यको अपमान, घृणा र द्वेषले थिचिएका छन्।
यस्तो भुंग्रोभित्र आममधेशी मात्र होइन, पटक पटक सांसद र मन्त्री भइसकेका अविचलित संघर्षबाट उदाएका म जस्ता मान्छे पनि पर्नुपरेको छ। मधेशमा कुनै आन्दोलन हुँदा जहिले पनि मेरो काठमाडौंस्थित घरमा ढुंगामुढा हुन्छ। ती ढुंगामुढा गर्नेहरूले मेरो घरमा प्रहार गर्दा मधेशीमाथि नै प्रहार गर्यौं भन्ने ठान्दा हुन्। यो विभेदकारी सोच हो। मधेश विरोधी तत्त्वलाई जीवित राख्ने काम राज्यले गरेको छ।
म मधेशकै माटोमा जन्मिएँ। त्यहींको माटोमा बाल्यकाल कोरें। उमेर बढ्दै जाँदा सपना देखें। मधेशका धूपमा खारिएका चरा-बचेराको आर्तनाद, तिनको विद्रोहको गीत सुनेर हुर्किएँ। हृदयमा क्रान्तिको फिलिंगो अटुट जगाएँ। यहींको माटोमा कोर्न सिकें मैले परिवर्तनका अक्षरहरू। मेरो अन्तस्करणबाट निस्किएको विद्रोहको आवाज मधेशीका लागि मुक्तिको प्रेरणा बन्यो। नश्लीय चिन्तनधाराका शासक वर्ग विरुद्ध प्रतिरोधको आवाज बन्यो।
म शान्तिगामी हुँ। मधेशी प्रायः शान्ति र अहिंसाका द्योतक हुन्। उर्वरा र सिर्जनाका पर्याय बनिरहेका उनीहरूका हातहरूले सर्वनाशको राँको उचाल्न सक्दैनन्। त्यसैले त्यसको त्यही अनुसारको प्रतिक्रिया लिन मैले कहिले पनि उचित ठानिनँ। एक सुरले आफ्नो मूल्य र मान्यतामा अडिग रहिरहें। म सत्यको पक्षधर हुँ। ढिलोचाँडोको कुरा मात्र हो। सत्य एक दिन वास्तविक रूपमा देखिन्छ नै। मेरा वा कसैबारे भ्रम छर्दैमा त्यो सत्य हुँदैन।
सदियौंदेखि शासक वर्गको अपमान सहेर पनि मधेशीहरू राज्यको अन्तिम किनाराको पहरेदार बनेका छन्। रक्षक बनेका छन्। ग्रीष्म याममा मधेशीकै थाप्लामाथि आगो खनिन्छ। खोलानालाले पनि उनीहरूकै घरबारी र खेतखलियानमा डुबान र कटानको धारिलो तरबार उज्याइरहन्छन्। शासक वर्गको अपमान मधेशीको भागमा परेकै छ, प्रकृतिले पनि हामीहरूलाई न्याय गरेको छैन। यो सबै सहेर माटोको रक्षा गरिरहेका मधेशीको हुर्मत लिन शासक वर्गले छोडेको छैन।
यस विरुद्ध सिंहदरबारतिर औंला ठड्याएर विद्रोहको भाषा बोल्न मैले मधेशमै सिकेको हुँ। राज्यले खडा गरेको विभेदको पर्खाल, कोरिएको एकल जातीय, भाषिक पहिचानको सीमारेखाले सिकाएका हुन्।
आफ्नो ऊर्जावान् समय यही देश र जनतामा लगानी गरें। यही देशका म जस्ता उत्पीडनमा परेका जनताका अधिकारका लागि आवाज उठाएँ। तर म नै यो देशको नागरिक नरहेको भ्रम सरकारी तवरबाट फिंजाइयो। यहाँका नश्लीय मिडिया त्यही चिन्तनको उत्तराधिकारीका रूपमा देखा परे। उनीहरूले आफ्नो बल र बुताले भ्याएसम्म त्यो खबर सम्प्रेषित गरे।
देशका मूलधारका भनिने प्रायः सञ्चारमाध्यम पूर्वाग्रही भएकाले पनि यस्तो समाचार प्रसारण भएको थियो। उनीहरूका निम्ति मधेश भनेको पूर्व-पश्चिम राजमार्गभन्दा अरू केही होइन। त्यसैले त उनीहरूले मन्त्रिपरिषद्को निर्णय बाहिरिने बित्तिकै कुन राजेन्द्र महतोको नागरिकता खारेज भएको हो भनेर विस्तृत विवरण खोज्ने कुनै प्रयाससम्म गरेनन्। नाम मात्र मिलेकै आधारमा मेरो तस्वीर राखेर हेडलाइन राखे- ‘राजेन्द्र महतोको नागरिकता खारेज!’
जति वेला नाम मिलेको कुराको आड लिएर ममाथि तर्कहीन र मिथ्या आरोप लगाइयो त्यति खेर म व्यवस्थापिका संसद्मा जनताद्वारा प्रत्यक्ष चुनिएर आएको सांसद थिएँ। मैले तत्कालै संसद्भित्रै आपत्ति जनाएँ। विरोध दर्ज गरें। नागरिकता खारेज भएका ती व्यक्तिबारे अन्य विवरण किन नखुलाएको भनेर सरकारको नियतमाथि प्रश्न गरें।
त्यसपछि मात्रै मिडियाले मैले संसद्मा उठाएको आवाजलाई स्थान दियो। तर आजसम्म पनि मिडियाले विवरण खुलाएर नेपाली नागरिकता रद्द गरिएका ती राजेन्द्र महतो र म एकै होइन भन्ने सत्य प्रस्ट पार्ने चेष्टा समेत गरेको छैन। बरु तिनै समाचारका आधारमा आमजनमानस र राजनीतिक वृत्तमा समेत भ्रम छर्ने काम भएको छ।
त्यसैले मैले भन्ने गरेको छु, नेपाल सबै नेपालीका लागि बनेको छैन। राष्ट्रनिर्माणको प्रक्रिया अझै पनि पूरा भएको छैन। तथापि त्यस्ता झूटा र भ्रमपूर्ण खबरले जनता र मेरो दूरीलाई बढाउन सकेका छैनन्। आखिर म पनि यही देशको नागरिक हुँ। मैले मेरै देशको संविधानले गरेको व्यवस्थामा टेकेर नागरिकता प्राप्त गरेको हुँ। जब जब मेरो नागरिकताबारे प्रश्न उठाइन्छ तब तब म नागरिकता लिंदाको समय सम्झिन्छु।
प्रवेशिका परीक्षा उत्तीर्ण गर्नासाथ नागरिकताको आवश्यकता परिहाल्यो। प्राविधिक विषय अध्ययन गर्न नागरिकताको आवश्यकता पर्थ्यो।
एक दिन सर्लाही जिल्ला पञ्चायत कार्यालय, मंगलवामा जिल्ला सभापति रामध्यानराय यादवलाई भेट्न गएँ, नागरिकताका लागि सिफारिश लिन। त्यहाँ भेल्ही गाउँ पञ्चायतका प्रधानपञ्च मधुनन्दन मिश्रा बसिरहेका थिए।
“बउवा, पञ्चायतके सिफारिश लिअवा त सिफारिश क दे वो (बाबू! गाउँ पञ्चायतको सिफारिश लिएर आऊ, अनि नागरिकताका लागि सिफारिश गरिदिन्छु),” उनले मलाई नम्र भाषामा भने।
त्यस दिन गाउँ पञ्चायतको सिफारिश नभएकाले नागरिकता बनाउन सकिनँ। त्यहीबीचमा प्रवेशिकाको नतीजा पनि आयो। म उत्तीर्ण भएँ। पढ्न काठमाडौं आएँ। यो २०३२ सालको कुरा हो।
काठमाडौंमा कानून विषय पढिरहेको थिएँ, २०३३ सालमा गाउँ गाउँमा सरकारले नागरिकता टोली खटायो। जिल्ला पुगेर नागरिकता बनाउन नसक्ने, नागरिकता बनाउन सदरमुकाम जानुपर्छ भन्ने थाहा नभएका, अशक्त र अपांगता भएकाको घरआँगनमै प्रशासन पुग्ने र दैलो दैलोमा नागरिकता दिने- सरकारले राम्रो काम गरेको थियो।
मैले थाहा पाएसम्म त्यति वेला हाम्रो देहाततिर नागरिकता बनाउने चलनै थिएन। नागरिकता ‘किन चाहिन्छ र!’ भन्थे मानिसहरू। उनीहरूका लागि पनि सरकार घरआँगनमै पुगेको थियो।
टोलीले गाउँ गाउँमा जन्म र वंशजका आधारमा नागरिकता पाउनेहरूको नाम छुट्टाछुट्टै दर्ता गराएको थियो। छुट्टाछुट्टै अभिलेख राखेको थियो।
यसका अतिरिक्त अंगीकृत नागरिकताको पनि निवेदन उठाइरहेको रहेछ।
गाउँमा टोली आएको थाहा पाएपछि म पनि काठमाडौंबाट गाउँ पुगें। यही माटोमा जन्मिएपछि नागरिकता उसको नैसर्गिक अधिकार हो। नेपालमा जन्मिएका मानिसलाई नागरिकता लिन वञ्चित गरिनेछैन भनेर त्यति वेला नेपालको संविधान २०१९ र कानूनमै भएको व्यवस्था थियो।
फुरुङ्ङ हुँदै मैले जन्मको आधारमा निवेदन दिएँ।
मेरो निवेदन जन्मसिद्धका आधारमा खडा गरिएको रेकर्डको ८७ नम्बरमा दर्ता गरिएको थियो। त्यति वेला बबरगन्ज गाउँ पञ्चायतका प्रधानपञ्च शंकरसिंह दनुवारको सिफारिश समेत टोलीलाई बुझाएको थिएँ। तर अस्थायी निस्सा वितरण गर्ने समयमा काठमाडौंमै भएकाले म छुटें।
पछि काठमाडौंबाट गाउँ गएँ। त्यहाँबाट सीडीओ (प्रमुख जिल्ला अधिकारी) कार्यालय मलंगवा पुगेँ। टोलीले पनि सबै रेकर्ड सीडीओ कार्यालयमा बुझाएको रहेछ। प्रशासकीय अधिकृत रामरतन मिश्रा थिए। उनलाई म काठमाडौंको बागबजारमा डेरा गरी बस्दा नै चिन्थें।
“हाकिम साहेब, अस्थायी निस्सा वितरण गर्न टोली गाउँ गएका वेला काठमाडौंमा भएकाले लिन पाइनँ,” मैले यति भनें।
उनले नागरिकता टोलीले बुझाएको रेकर्ड हेरे। जन्मसिद्ध आधारमा खडा गरिएको अभिलेख पल्टाउँदै गए।
मैले दाजुभाइको नागरिकताको प्रतिलिपि, आवश्यक अन्य कागजात पनि लगेको थिएँ। उनले सबै विवरण रुजु गरे। कैफियत नभेटेपछि सीडीओ हेमराज शर्माको कार्यकक्षमा फाइल पठाए। उनले सबै कागजात रुजु गरेपछि मलाई ना.प्र.नं. ८७ को नागरिकता प्रदान गरियो।
त्यस ताका अस्थायी नागरिकताका निस्सा लिइसकेकाको हकमा निस्सा नम्बरलाई नै ना.प्र.नं. लेख्ने चलन थियो। अस्थाथी निस्सा नलिएकाको हकमा भने जन्मसिद्धको दर्ता रजिस्टरमा लेखिएको नम्बरलाई नै ना.प्र.नं. का रूपमा लेखिन्थ्यो।
यसरी विधिवत् रूपमा मैले २०३४ असोज २९ गतेका दिन नागरिकता प्रमाणपत्र प्राप्त गरें।
नेपालको संविधान २०१९ को व्यवस्था अनुसार संविधान लागू भएको बखत जसको जन्म नेपालमा भएको हो, उसले जन्मसिद्ध नागरिकता पाउने व्यवस्था थियो। त्यसैमा टेकेर मैले नागरिकता प्राप्त गरेको थिएँ।
२०१५ मंसीर ४ गते यही धर्तीमा जन्मेको र उमेर पुगी नागरिकता ऐन, २०२० अनुसार सगौरव जन्मको आधारमा जन्मसिद्ध नागरिकता प्राप्त गरेको धर्तीपुत्र हुँ म। म कुनै पूर्वजको नाताले नेपालको नागरिक भएको हैन, त्यसैले यहाँ पूर्वजको चर्चा जरुरी रहेन।
आफूले नागरिकता पाए पनि नागरिकताको अधिकारबारे मेरो संघर्ष भने जारी नै रह्यो।
२०४६ सालमा प्रजातन्त्र पुनःस्थापनापछि नेपाल सद्भावना परिषद्लाई पार्टीको रूपमा २०४७ वैशाख ३ गते रूपान्तरित गरियो। पार्टीको स्थापना नै मधेशको गर्भबाट भयो।
मधेशका प्रायः नागरिकसँग नागरिकता थिएन। गरीब, निमुखा, कृषकसँग एक धुर जग्गा थिएन। त्यहाँका विपन्नसँग भूमिमा पहुँच त थिएन नै, नागरिकता समेत पाउन सकेका थिएनन्। उनीहरूलाई नागरिकता दिनुपर्ने आवाज उठाउनासाथ ‘भारतीयलाई किन नागरिकता चाहियो?’ भन्ने जस्ता तीखो वचनको सामना गर्नुपर्थ्यो।
त्यसैले पार्टी स्थापनादेखि नै हामीले नागरिकताको मुद्दा उठायौं।
सद्भावनादेखि समयक्रममा म आबद्ध पार्टीका हरेक कार्यक्रममा मधेशीको पहिचान, राष्ट्रियता र नागरिकताका सवाल जोडतोडका साथ उठ्ने गरेका छन्। ती सार्वजनिक रूपमा सुरक्षित छन्।
यहाँका एकल राष्ट्रिय राज्यका मूल्यमान्यतामा विश्वास गर्ने नश्लवादी शासक, सम्भ्रान्त तथा उनीहरूका मिडियाले मधेशीलाई ‘भारतीय’ का रूपमा देखाउँछन्। मैले मेरा मधेशी जनताका लागि गरेको संघर्षलाई भारतीयलाई नागरिकता दिलाउन गरेको भन्ने भाष्य बनाउँछन्। पहाडेका लागि बोल्ने नेता नेपाली हुने अनि यही देशको मधेशमा बस्ने मधेशीबारे कसले बोल्ने? बोल्यो भने भारतीय भनिहाल्ने! यो कस्तो मानसिकता हो?
संविधानसभाबाट संविधान जारी हुँदाको समयमा पनि मैले त्यो विभेद सहनुपर्यो। संविधानसभाबाट नेपालको संविधान, २०७२ बनाउँदा मधेशी, दलित, जनजाति, मुस्लिम, थारू, खस लगायत जनताको अधिकार, पहिचान प्राप्तिको चाहना, भावना विपरीत कांग्रेस, कम्युनिस्टहरूबाट संविधान बन्न शुरू भयो। उता विरोधमा मधेशमा तेस्रो मधेश आन्दोलन शुरू भयो। त्यति वेला नेपाल-भारत सीमानाकामा बसी नाका अवरोध गर्न बाध्य भयौं।
समस्या समाधानतर्फ पहल नगरी आन्दोलनकारी र मधेशीमाथि सबै दोष थुपार्ने, मधेश र मधेशीलाई अझ नराम्रो बनाउने मौका शासकहरूले किन छोड्थे! काठमाडौंको आपूर्ति प्रायः वीरगन्ज नाकाबाट हुने र वीरगन्ज नाकामा मेरो नेतृत्वमा आन्दोलन भएकाले यो सबै समस्याको जड राजेन्द्र महतो नै हो भनेर बदनियतपूर्वक मेरा विरुद्ध व्यापक प्रचार गरियो।
६ महीनासम्म चलेको मधेश आन्दोलनमा गरिएको नाकाबन्दीको सम्पूर्ण रिस काठमाडौंले ममाथि नै पोख्यो। ‘राजेन्द्र महतो भारतीय दलाल मात्रै होइन, भारतीय नै हो, ऊ देशद्रोही हो, देशनिकाला नै गर्नुपर्छ’ सम्म भनियो। यस प्रकारका गैरजिम्मेवार, राष्ट्रघाती, मधेशी विरोधी अभिव्यक्ति तथा व्यवहार पूर्वाग्रही नश्लीय मानसिकता बोकेका टाउकाहरूबाट भोग्दै-झेल्दै आएको छु। तर यस्ता प्रायोजित पूर्वाग्रहले भरिएको षड्यन्त्र र आरोपबाट म कहिले पनि विचलित भइनँ र हुने पनि छैन। मेरो लडाइँ यस्ता झिंगे अवरोधले लम्बिन सक्छ, तर रोकिनेवाला छैन।
नश्लवादी साम्प्रदायिकता यो देशका लागि विष हो। त्यसकारण सबैमा यो ज्ञान हुन आवश्यक छ।
एउटा औंला कसैलाई उठाउँदा बाँकी औंला आफैंतिर फर्किएका हुन्छन् र भनिरहेका हुन्छन्- अरूलाई हेर्नु अगाडि आफूलाई हेर एक पटक। बुझ्ने गर। केही अध्ययन गर। चेतनालाई फराकिलो पार। अनि सबै अटाउने मानसिकता राखेर प्रिय वाणीमा सम्बोधन गर। केवल औंला नउठाऊ।
कसैको राष्ट्रियतामाथि प्रश्न उठाउनुभन्दा पहिले नागरिकताबारे राम्रोसँग बुझ्न जरूरी छ। एक विशेष सामाजिक, राजनीतिक, राष्ट्रिय वा मानव संसाधन समुदायको एक नागरिक हुने अवस्था हो। सामाजिक अनुबन्धका सिद्धान्त मातहत नागरिकताको अवस्थामा अधिकार र उत्तरदायित्व दुवै सामेल हुन्छन्। राज्यसँग कानूनी सम्बन्ध स्थापित गरी अधिकारको रक्षा गर्ने दस्तावेज नै नागरिकता हो। सोही दस्तावेजकै आधारमा टेकेर मैले मधेश र मधेशीको अधिकार खोजी गरिरहेको छु।
नागरिकता र राष्ट्रियता धेरै हदसम्म मिल्दाजुल्दा शब्दहरू हुन्, तर पनि यी दुई शब्दहरू अर्थमा फरक छन्। प्रायः यूरोपियन मुलुकहरू एउटै राष्ट्रियतामा आधारित भएर निर्माण भएका छन्। तर संसारमा आज पनि यस्ता थुप्रै देशहरू छन् जुन देशमा एकभन्दा बढी राष्ट्रियताहरू अस्तित्वमा छन्।
बहुराष्ट्रिय राज्यको अवधारणा अनुसार वा संघीयताको अवधारणा अनुसार त्यस्ता देशमा उनीहरूको आआफ्नो राष्ट्रियताको पहिचान सहित उक्त देशका नागरिकताधारी रहेका छन्। नागरिकता भनेको व्यक्तिले समाजमा पाउने राजनीतिक र कानूनी अधिकार हो।
(पाइन प्रकाशनले प्रकाशन गरेको राजेन्द्र महतोको जीवनी अधुरा क्रान्तिबाट सम्पादित अंश।)