फेरि सगरमाथा चढ्दै कीर्तिमानी आरोही कामिरिता
सगरमाथाको २८ पटक आरोहण गरी विश्व कीर्तिमान बनाएका कामिरिता शेर्पा फेरि आरोहणमा जान लागेका छन्।
शेर्पाले गत वर्ष २८औं पटक सगरमाथाको आरोहण गरेका थिए। फेरि सगरमाथा आरोहणका लागि उनी आधारशिविर पुगेका छन्।
वसन्त यामको सगरमाथा आरोहणका लागि एक साताअघि काठमाडौंबाट लुक्ला, नाम्चे हुँदै सगरमाथा आधारशिविर पुगेका छन्। २८ जना आरोहीको समूहसँगै सगरमाथाको चुचुरोतिर लाग्ने तर्खरमा रहेको उनले बताए। शेर्पाले भने, “यो वर्ष २९औं पटक सगरमाथा आरोहणमा जान लागेको हुँ। यतिउति पटक आरोहण गर्छु भन्ने कुनै योजना छैन, चुचुरोतिर जाऊँ, कति सकिन्छ।”
सेभेन समिट ट्रेक्स प्रालि मार्फत उनी आरोहणका लागि आधारशिविर पुगेका हुन्। सेभेन समिट मार्फत मात्रै ८० आरोही सगरमाथा आरोहणका लागि गएका छन्। शेर्पाले आरोहीको पथप्रदर्शकका रूपमा सगरमाथा आरोहण गर्दै आएका छन्।
सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका थामेमा जन्मिएका ५४ वर्षीय शेर्पा सगरमाथा आरोहणको ७१ वर्षे इतिहासमा सर्वाधिक आरोहण गर्ने कीर्तिमानी आरोही हुन्। गत वर्ष सोलुखुम्बुकै पासाङ दावा शेर्पाले २७ पटक सगरमाथा आरोहण गरेका थिए।
मौसमले साथ दिएमा यस वर्ष उल्लेख्य संख्यामा आरोहीले सगरमाथा चुचुरोमा पाइला टेक्ने शेर्पाको विश्वास छ। “अघिल्लो आरोहणमा बढी चिसो भएको थियो, त्यसैले आरोहणमा केही असहजता थियो, आशा गरौं, यस पटक मौसमले साथ दिनेछ,” उनले भने। -रासस