क्यासिनोले कंगाल बनाएका नागरिकका कथा खोज्दा
माओवादीका कारणले सिरिखुरी सिध्याएकाहरूको समाचार लेखे बापतको पुरस्कार माओवादी नेताकै हातबाट लिनुपर्दा निकै सकस भयो।
धरानबाट एक दशक पत्रकारिता गरेपछि म २०६२ सालमा काठमाडौं छिरें। हिमालखबर पत्रिकामा काम गर्न थालें। मेरा बिट थिए- वैदेशिक रोजगार, अपराध र सामाजिक विषयवस्तु।
हिमाल त्यति वेला पाक्षिक म्यागजिन भएकाले दैनिक घटनाको ‘कभरेज’ प्राथमिकतामा थिएन। किनकि ती घटनाबारे त दैनिक अखबारले भोलिपल्टै पूरै लेखिसकेकै हुन्थे। हामीले नयाँ र गहिरा विषयवस्तु खोज्नु थियो। तैपनि म प्रहरीका नियमित पत्रकार सम्मेलनमा गइरहन्थें। कारण- तिनमा कुनै कुनै आफूलाई काम लाग्ने विषय पनि हुन्थे।
एक पटक त्यस्तै भयो, प्रहरीले थुप्रै नेपालीले क्यासिनोमा घरबार, श्रीसम्पत्ति गुमाइरहेको सूचना दियो। मलाई राम्रो रिपोर्टिङको ‘क्लू’ भेटे जस्तो लाग्यो। यो २०६७ सालको कुरा हो।
क्यासिनोमा माओवादी पार्टीले ‘कब्जा’ जमाए जत्तिकै थियो त्यो वेला। २०६२-६३ को आन्दोलनबाट मूलधारको राजनीतिमा आए लगत्तै उसले क्यासिनोलाई कार्यकर्ता भर्ती गर्ने थलो बनाएको थियो। यससँगै विदेशी पर्यटकका लागि खोलिएका क्यासिनोमा नेपालीलाई खुलेआम प्रवेश दिइँदै थियो।
म जुवामा सम्पत्ति सिध्याएका नेपालीहरू खोज्न थालें। भेटिए पनि। तर उनीहरू आफ्नो परिचय खोल्न तयार थिएनन्। संयोगले एउटा स्रोतबाट सूचना पाइयो- मौलीधन राई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अगाडि सानो पसल थापेर बसेका छन्। उनले सोलुखुम्बु, लुक्लाको होटल, काठमाडौंको साढे पाँच करोड रुपैयाँको घरजग्गा, कार्गोबाट हुने दैनिक ५० हजारको कमाइ क्यासिनोमा सिध्याए।
हामी उनलाई खोज्दै सिनामंगल पुग्यौं। मम, चाउमिन, सुकुटी, रक्सी पाइने सानो कटेरोमा ग्राहक बनेर पस्यौं। स्रोतले सुनाएको हुलिया पसलेसँग मिले जस्तो लाग्यो। तर बातचित कसरी गर्ने, मेसो मिलिरहेको थिएन। त्यसैले सुकुटी र ‘कोल्ड ड्रिंक्स’ अर्डर गर्यौं। उनले केही छिनमै ल्याइहाले।
“तपाईं त ठूलो व्यापारी मान्छे, आज यहाँ पो देखिनुभयो त साहुजी,” मैले पहिल्यैदेखि चिने जसरी कुराको पोयो फुकाएँ।
उनले खानेकुराको प्लेट टेबलमा राखे। एक छिन रोकिए। अनि तरर्र आँसु झारे। शायद उनीभित्र ज्यादै उकुसमुकुस थियो। आँसु थामिएपछि हामीले आफ्नो परिचय दियौं। उनलाई भेट्न खोज्नुको प्रयोजन सुनायौं। क्यासिनोको लतले सिरीखुरी कसरी उड्यो, सुनाउन राजी भए उनी।
“क्यासिनोमा गएर अरू कंगाल नहुन् भन्नका लागि प्रमाण सहित समाचार लेख्न जरुरी छ। त्यसैले फोटो पनि खिच्छौं है,” कथा सुनिसकेपछि मैले भनें।
“मेरो सर्वस्व सकिइसक्यो। लुकाउनुपर्ने कुरा केही बाँकी छैन,” उनले सहजै माने।
अरू पात्र भने यति सजिला थिएनन्। पीडादायी कथा सबै सुनाउने तर फोटो छाप्न नमान्ने। तैपनि नचिनिने गरी छाप्ने शर्तमा थप केही व्यक्तिसँग गफ गरियो। हुन त पात्रको परिचयभन्दा क्यासिनोमा नेपालीलाई गैरकानूनी प्रवेश दिएर कंगाल बनाइएको विषय मात्रै पनि महत्त्वपूर्ण थियो।
म अर्का पात्र पनि सम्झिन्छु- विदुर। उनी ट्याक्सी चलाउँथे। मानिसलाई क्यासिनोको गेटसम्म पुर्याउन जाँदाजाँदा उनी आफैं लतमा परेछन्। पत्नी रोजगारका लागि इजरायलमा थिइन्। एक रात विदुर ३० हजार रुपैयाँ बोकेर क्यासिनो छिरे, छिनमै सकियो। फेरि एटीएम पुगेर पत्नीले पठाएको सबै पैसा झिकेर खेल्न गए। उज्यालो हुँदासम्म त्यो पनि सकिइसकेको थियो। निकै पछुतोमा थिए उनी।
यिनै कुरा समेटेर २०६७ कात्तिकमा हिमालखबरमा आवरण रिपोर्ट छापियो- क्यासिनोमा जिन्दगी हार्नेहरू। यससँगै मौलाएको अपराध कर्मलाई समेट्ने गरी पूरक सामग्री पनि तयार पारिएको थियो- ‘क्यासिनो अपराध कारखाना’।
रिपोर्ट सार्वजनिक भएपछि क्यासिनोले बर्बाद पारेका थप पात्र सम्पर्कमा आए। तीमध्ये एक जनाले घरजग्गा सिध्याएको मात्र होइन, मिटर ब्याजमा ऋण समेत लिएका रहेछन्। मिटरमा एक लाख रुपैयाँको दैनिक १० हजार ब्याज तिर्नुपर्थ्यो। त्यो भनेको १० दिनमा थप एक लाख। त्यो तिर्न नसकेर भागेका रहेछन् उनी।
काठमाडौं उपत्यकामा रहेका आठ वटा क्यासिनोले एकातिर नेपालीलाई कंगाल बनाइरहेका थिए त, अर्कातिर राज्यलाई ५० करोड रुपैयाँभन्दा बढी कर छलिरहेका थिए।
क्यासिनोको लतले मानिसलाई गम्भीर अपराधमा समेत धकेलिरहेको थियो। जस्तो- शिक्षक वीरेन प्रधानले विद्यार्थी ख्याति श्रेष्ठको अपहरणपछि हत्या गरेको घटनाको कारण क्यासिनोकै लत थियो। ट्यूसन पढाउन जाँदा परिवारले ख्यातिलाई पढ्न विदेश पठाउन ३० लाख रुपैयाँ जोहो गरिरहेको चाल पाएपछि प्रधानले अपहरण गरेर १० लाख फिरौती असुल्ने योजना बनाएका थिए। डा. उपेन्द्र देवकोटाकी छोरी, डा. भक्तमान श्रेष्ठ लगायतलाई अपहरण गरेर फिरौती माग्ने गिरोहका सदस्य राजु लामा पनि क्यासिनोकै लती थिए।
यो रिपोर्ट छापिएपछि अन्य दैनिक पत्रिकाले पनि क्यासिनोमा सम्पत्ति सखाप पारेकाहरूका कथा निरन्तर लेख्न थाले। क्यासिनो सञ्चालक, व्यवस्थापक विरुद्ध पक्राउ पुर्जी जारी भयो।
नेपालीलाई क्यासिनोमा बन्देज लगाउने कानूनी प्रावधान कार्यान्वयन गराउन तत्कालीन गृहमन्त्री वामदेव गौतम पनि लागिपरेका थिए, तर सकिरहेका थिएनन्। हामीसँगको अन्तर्वार्तामा उनले छापा मार्नुअघि नै प्रहरी अधिकृतहरूले क्यासिनोवालालाई सूचना दिने गरेको भन्दै लाचारी प्रकट गरेका थिए।
देखावटी नै सही, प्रहरीले छापा मार्न थालेपछि क्यासिनोमा नेपाली जाने क्रम केही समय रोकियो। माओवादीसमर्थित मजदूर संगठन चाहिं नेपालीलाई क्यासिनोमा रोक्न हुँदैन भनी आन्दोलनमा उत्रियो। यो त्यही माओवादी थियो जो द्वन्द्वकालमा जुवातास खेल्नेहरूको मुखमा तास कोचिदिन्थ्यो, भाटे कारबाही गर्थ्यो। त्यतिवेला भने ऊ नै नेपालीलाई अवैध रूपमा जुवा खेलाउने धन्दाको मूल संरक्षक बनेको थियो।
राज्य र समाजलाई झकझकाउने खालको भएकैले होला, यो समाचारले आर्थिक पत्रकार समाज (सेजन)को अवार्ड जित्यो। तर त्यो अवार्ड वितरणका प्रमुख अतिथि थिए, तत्कालीन अर्थमन्त्री वर्षमान पुन। आफ्नो स्वार्थका लागि नेपालीलाई जुवाको लतमा धकेल्न वकालत गरिरहेको पार्टीका नेता। उनको हातबाट पुरस्कार थाप्दा मलाई निकै सकस भयो। आफ्नो बोल्ने पालोमा त्यसलाई बिसाई पनि हालें।
मैले भनें, “हिजो गाउँ गाउँमा जुवातास खेल्नेलाई भाटे कारबाही गर्ने माओवादी आज शहरमा गैरकानूनी तवरमा नेपालीलाई क्यासिनो छिराउने कार्यमा छ। यही पार्टीका नेताबाट मैले पुरस्कार थाप्ने अमिल्दो अवस्था बेहोर्नुपर्यो। यो हाम्रो विडम्बना र नियति दुवै हो।”
स्वदेशका क्यासिनोमा नेपालीलाई प्रवेश गराउन नपाइने कानूनी व्यवस्था सोझै उल्लंघन भइरहेको थियो। नेता, पार्टी र सरकारसँग साँठगाँठ मिलाएर नेपालीलाई क्यासिनो छिराएपछि माओवादीमा रहेकाहरूको कमाइ बढेको बढ्यै भयो। कमाइ गरेर खाने वर्ग चाहिं कंगाल बन्दै गयो।
क्यासिनोमा जुवा खेल्नेलाई मिटरब्याजमा ऋण दिने बलराम सापकोटा ‘बले’ आज काँकडभिट्टाको क्यासिनोका मालिक भएका छन्। क्यासिनोका अवैध गतिविधिलाई संरक्षण गर्ने माओवादीको तत्कालीन मजदूर संगठनका नेता शालिकराम जम्कट्टेल मुख्यमन्त्री छन्। पैसाको तागत अगाडि कानून, विधिको केही नलाग्ने यी प्रमाण हुन्। अहिले मुलुकका प्रायः ठूला शहरमा क्यासिनो विस्तार भएको छ। यससँगै अवैध धन्दा पनि विस्तार भएको हुन सक्छ। नेपाली सञ्चारमाध्यमले खोजे जस्तो लाग्दैन।
नेपालमा बन्देज लगाइँदा यो लतमा लागेकाहरू भारतको सिक्किम, गोवासम्म पुगेर जुवा खेल्ने गरेका थिए। यसमा नेपालबाट पैसा विदेश गइरहेको तर्क गर्दै स्वदेशमै खेल्ने अनुमति दिनुपर्ने तर्क पनि गरिएको सुनिन्छ। तर यो सही होइन। विश्वकै ठूला शहरमा पर्ने हङकङकै उदाहरण लिऔं। त्यहाँ क्यासिनो छैन। हङकङवासी जुवा खेल्नुपरे एक घण्टा टाढाको मकाउ जान्छन्। विश्वका समुद्री क्रूजहरू क्यासिनो खेलाउन त्यहाँ आउँछन्। हङकङको सीमा कटेपछि समुद्रको बीचमा क्रूजभित्र रातभरि जुवा खेलाइन्छ।
तत्कालीन गृहमन्त्री गौतमले हामीसँग धनीमानीलाई उसको सम्पत्तिको निश्चित अंश चाहिं क्यासिनोमा जुवा खेल्न सक्ने गरी ‘लाइसेन्स’ दिने धारणा राखेका थिए, बन्दूक राख्न राज्यले लाइसेन्स दिए जस्तै। तर त्यो पनि सही हो जस्तो मलाई लाग्दैन। हामीकहाँ क्यासिनो खोल्न अनुमति दिइएकै विदेशी पर्यटकलाई खेलाउने प्रयोजनले हो। नेपालीलाई पनि खुला गर्ने हो भने त खाडी, मलेशियामा ५० डिग्रीको तातोमा खटिएर कमाएकाहरूको पैसा जुवामै सकिन्छ।
रामेशले जुराइदिएको ‘अनुशील’
फिल्म, कला, साहित्य र संगीतमा सानैदेखि मेरो रुचि थियो।
२०५१ सालमा एसएलसी दिनासाथै म लेख्न थालें। २०५३ सालपछि अग्निशिखाको सम्पादकत्वमा काठमाडौंबाट निस्कने प्रतिपक्ष साप्ताहिकमा पूर्वाञ्चलबाट लेख्थें। त्यही वेला ‘गाउँ गाउँबाट उठ’ भन्ने गीतका गायक रामेश श्रेष्ठ सहितको टीम बलिदान फिल्मको छायांकन गर्न धरान आयो। जनगायक श्रेष्ठसँग चिनापर्ची भयो।
प्रतिपक्षमा लेख्ने फुच्चे म नै रहेको सुन्दा रामेश छक्क पर्नुभयो।
“डम्बरकृष्ण श्रेष्ठ त बूढो मानिस होला भनेको, बच्चै हुनुहुँदो रहेछ। यो नाम भएन,” केही दिनको संगतपछि रामेशले भन्नुभयो, “अनुशील राख्नोस्।”
मलाई स्थापित गायकले दिएको नाम लेख्नुपर्छ भन्ने लाग्यो।
त्यसपछि मैले बाइलाइन डम्बरकृष्ण श्रेष्ठ (अनुशील) लेखेर पठाउन थालें।
तर कोष्ठकको नाम छापिएन।
बलिदानकै सिलसिलामा कलाकारहरू मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य पनि धरान आउनुभएको थियो। मैले उहाँहरूसँग कुराकानी गरेर अर्काे पनि रिपोर्ट तयार पारेको थिएँ। त्यो रिपोर्टमा बाइलाइन अनुशील मात्र लेखेर पठाएँ। त्यो चाहिं छापियो।
पछि हिमालका तत्कालीन सम्पादक राजेन्द्र दाहालले मलाई धरानबाट लेख्न भन्नुभयो। मनोरञ्जन बिटमा अनुशील र अन्य समाचारमा डम्बरकृष्ण श्रेष्ठ नाम लेख्न थालें।
धरानका पत्रिकाहरूमा त अनुशील नामबाट स्तम्भ नै लेख्न थालें। त्यही नाममा पाठकका चिठीपत्र पनि आउँथे। कोही भेट्नै आउँथे। हकरले पनि ‘अनुशीलले लेखेको छैन भने कम प्रति दिनू, बिक्री कम हुन्छ’ भन्थे। यसले गर्दा मलाई पनि दिनैपिच्छे ‘कोलम’ लेख्न दबाब पर्थ्यो।
तर दुइटा नाम हुँदाका अप्ठ्यारा पनि रहेछन्।
एक जना चलचित्रकर्मीले मलाई सुनाए, “अनुशीलको नाममा त कसैले पैसा उठाइरहेको रहेछ।”
म झस्किएँ।
नभन्दै श्रीकृष्ण गुरुङले अनुशील मै हो भनेर कलाकारहरूसँग पैसा उठाएको खुल्यो।
आफू बदनाम भएपछि प्रहरीमा जाहेरी दिएँ र हनुमानढोकास्थित प्रहरीले उनलाई पक्राउ गर्यो।
पत्रकारिताको नियास्रो
वैदेशिक रोजगारको रिपोर्टिङ गर्न म २०६१ सालमा हङकङ, २०६३ सालमा कतार, २०७० सालमा मलेशिया, सिंगापुर पुगें। यसबीच चाइना डेलीको निम्तोमा दुई पटक चीन भ्रमणमा गएँ। यूरोप, अमेरिका पनि पुगेर नेपालीले गरिरहेको दुःखको रिपोर्टिङ गरें। धेरै देशमा रहेका नेपालीको काम र प्रवासनबारे सोसल साइन्स बहाःबाट नेपाली प्रवासन, नियति र रहर पुस्तक पनि प्रकाशन भएको छ।
संयोग भनौं वा विडम्बना, विदेशिने नेपालीका कथाव्यथा खोतल्दाखोतल्दै कालान्तरमा आफैं प्रवासी बनें। २०७२ सालपछि म मूलधारको पत्रकारितामा छैन। हङकङमा छु। निर्माण क्षेत्रमा ‘स्क्याफोल्डर’ को काम गर्छु। धेरै समय काममै बित्छ।
भौतिक रूपमा पत्रकारिताबाट टाढिए पनि दिमागमा पत्रकारिता छँदै छ। किशन राईले हङकङबाटै एभरेस्ट मिडियामार्फत म्यागजिन र अनलाइन चलाउनुहुन्थ्यो। म हङकङमा त्यसमा जोडिएँ। किशन दुई वर्षअघि दुर्घटनामा बित्नुभयो। मेरो पत्रकारिताको निरन्तरता चुँडियो।
कोभिड-१९ महामारीको समयमा नेपालीका कथाव्यथा र कामको अनुभव समेटेर ‘नेपालीलाइफ’ नामक यूट्यूब च्यानल चलाएँ। छोटो समयमा २२ हजारभन्दा बढी ‘सब्स्क्राइबर’ कमाएको थिएँ। अहिले भिडिओहरू बनाएर ‘अपलोड’ गर्न मसँग पर्याप्त समय छैन। यसबीच हिमाल, कान्तिपुरका साथीहरूले हङकङबाट समाचार लेख्न भन्थे। तर नेपाली सञ्चारमाध्यम र यूट्यूबमा खटिने समयले हङकङको जीविका धान्न सक्दैनथ्यो।
त्यसैले अहिले वेलावेलामा नेपाली समुदायका स्मारिकामा काम गरेर पत्रकारिताको धीत मारिरहेको छु। तैपनि नेपाली पत्रकारितामा चासो राखिरहेकै हुन्छु। अहिले कतिपय विषयमा ‘फलोअप’ नै नहुने, लेख्नै छाडिए जस्तो लाग्छ। चिनेजानेका साथीहरूलाई त कहिलेकाहीं फोन गरेरै आफ्नो सकसक मेटाउँछु, यो विषयमा किन आएन भन्दै।
मैले हुलाकबारे थुप्रै स्टोरी लेखें। नेपालमा प्रविधिका कारण हुलाकको युग सकियो भन्ने धारणा छ। प्रविधि प्रयोगमा नेपालभन्दा धेरै अघि रहेको हङकङमा चाहिं हुलाक विना मानिसको दैनिकी नै चल्दैन। त्यहाँ बिजुली, टेलिफोन जस्ता घरायसी आवश्यकताको बिल तिर्न हुलाक नै उपयोगी भएको छ। यी बिलको क्यूआर कोड हुलाक मार्फत आउँछ र नजिकैको पसलबाट तिरिन्छ।
चुनावका वेला मतदान केन्द्रको सूचना, भोटिङ कोड हुलाक मार्फत आउँछ। ब्यांक खाता खोल्दा हुलाकबाट पत्राचार गर्ने ठेगाना खुलाउनुपर्छ। हाम्रोमा चाहिं हुलाकका कर्मचारी घाम तापेर बसिरहेका देख्छौं। यी र यस्ता थुप्रै विषयमा रिपोर्टिङ भइरहेको छैन।
प्रवासनको म्याद
मेरा बा दानबहादुर श्रेष्ठ अलि धार्मिक प्रवृत्तिका हुनुहुन्थ्यो। उहाँका हातमा प्रायः रामायण, महाभारत, गीता आदि हुन्थे। अक्षर चिन्ने भएपछि तिनै पुस्तक मेरा साथी बने। म चार-पाँच कक्षामा पढ्न थालेपछि आमाले खाजाका लागि दिने पैसा बचाएर मुना बालपत्रिका किनेर पढ्न थालें। पसलबाट सामान पोको पारेर ल्याइएका गोरखापत्र र हिन्दी पत्रिका पनि छाड्दैनथें।
आठ कक्षामा पढ्दा त मैले गाउँको किराना पसलको रद्दीमा भेटेको पञ्जाबकेशरीको हिन्दी संस्करणमा छापिएको ‘फूटबलका जादुगर पेले’ लेख उल्था गरेर काठमाडौंमा माधुरी नामक मनोरञ्जनात्मक पत्रिकामा पठाएको थिएँ। त्यो छापियो।
कलेज पढ्न थालेपछि पत्रकार राजकुमार दिक्पालको संगत भेटें। अनि पत्रिकामा लेख्न थालें। विमल शाक्यले चलाउने सयपत्री साप्ताहिकमा काम गरें। जनआस्था, नेपाल समाचारपत्र, साधनामा पनि लेखें। साधनामा लामा लामा स्टोरी लेखेको थिएँ।
२०५५-५६ सालतिर हिमालले दशैंविशेष अंक निकाल्यो। पूर्वतिर दशैं बहिष्कार गर्ने, सेतो टीका लगाउने अभियान बढ्दै थियो। हिमालमा यो कुरा समेटिएको थिएन। मैले सोही विषयमा रिपोर्ट तयार पारें। अनि त्यससँगै एउटा चिठी लेखेर कुरियर गरें, ‘हिमाल राम्रो लाग्यो। तर यो अंकमा पूर्वतिर भइरहेको दशैं बहिष्कारको विषय समेटिएन।’
सम्पादक राजेन्द्र दाहालले फोन गर्नुभयो, “तपाईंले पठाएको चिठी पाएँ। यसपालिको दशैं अंक सकियो। अर्को चोटि सोचौंला। बरु अरू केही विषय भए लेख्नू।”
एक-दुई महीनापछि मर्निङ पोस्टका सम्पादक आनन्द श्रेष्ठले ‘हिमालको सर आउनुभएको छ, भेट्न जाऔं’ भन्दै मलाई लैजानुभयो। उहाँ देशान्तर पत्रिकाका रिपोर्टर पनि हुनुहुन्थ्यो। म छेउमै बसिरहेको थिएँ। दाहालले श्रेष्ठलाई सोध्नुभयो, “डम्बरकृष्ण श्रेष्ठ को हो, धरानको पत्रकार?”
“यही भाइ हो, हाम्रो स्थानीय पत्रिका मर्निङ पोस्टमा कार्यकारी सम्पादक छ,” श्रेष्ठले मतिर देखाउँदै भन्नुभयो।
“अस्तिको त छापिएन। अब केही छ भने लेख न। राम्रो लेख्दा रहेछौ,” दाहालले भन्नुभयो।
मैले बूढासुब्बा गोल्ड कपको स्टोरी पठाएँ। दुई पेज छापियो। चार हजार ५०० रुपैयाँ पाएँ। महीनामा एक हजार ९०० रुपैयाँ खाइरहेको मान्छेले एउटा रिपोर्टकै यति धेरै पैसा पाउँदा अचम्म परें। त्यसले मलाई पत्रकारितामा लाग्न प्रेरणा मिल्यो। २०५७ सालमा हिमालको ‘स्ट्रिन्जर’ भएँ।
त्यसपछिका १५ वर्ष हिमालमै बिताएँ। पत्रकारिता छोडेर हङकङ गएपछि मलाई चार-पाँच महीना निकै गाह्रो भयो। पत्रकारिता नै सम्झनामा आइरहने। अब पनि मलाई विदेशमै बसिरहने इच्छा छैन। नेपाल आएर फेरि पत्रकारितामा जोडिन पनि सक्छु।
मैले कुनै पनि ठाउँमा बढीमा १० वर्ष मात्रै बिताएको रहेछु। २०५२ देखि २०६२ सालसम्म धरानबाट पत्रकारिता गरें। २०६२ देखि २०७२ सालसम्म काठमाडौं आएर काम गरें। २०७२ सालमा हङकङ आएँ। आफ्नै नजीर हेर्दा हङकङ बस्ने म्याद पुग्न लागिसकेछ, तर समय आफ्नो वशमा कहाँ हुन्छ र? मनले अहिल्यै फर्कूं भने पनि परिवार र जिम्मेवारी बढेकाले केही समय लाग्ला कि! तर अझै पनि मनले भनिरहन्छ, “धेरै गर्न बाँकी छ।”
(पत्रकार श्रेष्ठसँग मनबहादुर बस्नेतले गरेको कुराकानीमा आधारित। सम्पादन : प्रदीप खतिवडा, भाषा : प्रद्युम्न खनाल)
त्यो रिपोर्टका थप सामग्री :