ग्लोबल आईएमई ब्यांकमा एक अर्ब लगानी गर्ने सम्झौता
स्वीस इन्भेस्टमेन्ट फन्ड फर इमर्जिङ मार्केटले ग्लोबल आईएमई ब्यांंक लिमिटेडमा १० मिलियन अमेरिकी डलर अर्थात् करीब एक अर्ब ३२ करोड रुपैयाँ लगानी गर्ने भएको छ।
लगानी सम्बन्धी सम्झौतामा ग्लोबल आईएमई ब्यांकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र स्वीस इन्भेस्टमेन्ट फन्ड फर इमर्जिङ मार्केटका अध्यक्ष जोर्ग फ्रिडेनले हस्ताक्षर गरेका छन्। यो लगानीलाई ब्यांकले कृषि, लघु, साना तथा मझौला व्यवसायमा वित्तीय पहुँच बढाउन परिचालन गर्ने जनाएको छ।
ब्यांकका अनुसार यस लगानीको उद्देश्य कृषि, लघु, साना तथा मझौला उद्यमलाई वित्तीय पहुँच प्रदान गर्दै बजारमा प्रतिस्पर्धी बनाउन सहयोग गर्ने, वित्तीय समावेशीकरणमा सुधार गर्ने र रोजगारी सिर्जना गर्ने रहेको छ। स्वीस इन्भेस्टमेन्ट फन्ड फर इमर्जिङ मार्केटसँगको लगानी सम्झौताबाट नेपालको कृषि, लघु, साना तथा मझौला उद्यमको विकासमा सहयोग पुग्ने ब्यांकको विश्वास छ।
देशका सबै जिल्लामा ग्लोबल आईएमई ब्यांकका शाखा छन्। ब्यांकले ३५४ शाखा कार्यालय, ३७९ एटीएम, २७७ शाखारहित ब्यांकिङ सेवा, ६८ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा तीन वटा वैदेशिक प्रतिनिधि कार्यालय मार्फत सेवा दिइरहेको छ।