जोनसनको शतक, नेपाललाई २२८ रनको लक्ष्य
जोनसन चार्ल्सले शतक प्रहार गरेपछि वेस्ट इन्डिजको ‘ए’ टोलीले तेस्रो टी-२० मा नेपाललाई २२८ रनको लक्ष्य दिएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बुधबार पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले तीन विकेटको क्षतिमा २२७ रन बनाएको हो। वेस्ट इन्डिजका लागि चार्ल्सले ११९ रन बनाए। उनले ६१ बलमा १३ चौका र सात छक्का प्रहार गरे।
कप्तान एन्ड्रु फ्लेचरले अर्धशतक बनाए। उनले ३३ बलमा चार चौका र तीन छक्का प्रहार गरे। त्यस्तै, फबिअन अलेनले १९, एलिक एन्थेनेजले १७ र किमो पउलले १३ रन बनाए।
नेपालका लागि करण केसी र सागर ढकालले एक-एक विकेट लिए। अन्य बलर महँगा सावित भए।
पाँच खेलको टी-२० शृंखलामा नेपाल र वेस्ट इन्डिजले एक-एक खेल जितेका छन्।