खै हिमाल, तुवाँलोमा हरायो!
बाक्लो तुवाँलोले हिमाल र आकाश छोपिएको मात्रै छैन, सुन्दर हिमशृंखलालाई कुरूप बनाइरहेको छ भने जनस्वास्थ्यमा असर पनि पारिरहेको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ‘बोर्डिङ पास’ लिइसकेका विवेक पौडेल वैशाख १७ मा लामो समय विमानस्थलमै रोकिए। झन्डै ६ घण्टाको पर्खाइपछि जहाजमा त चढे, तर काठमाडौंबाट पोखरा उड्न पाएनन्। जहाजभित्र बसिसकेका उनी लगायत सबै यात्रुलाई ओरालियो।
त्यसको कारण थियो, पोखरामा लागेको तुवाँलो। वैशाखको शुरूआतसँगै पोखरा सहित आसपासको क्षेत्र बाक्लो तुवाँलोले छोपिएको छ। तुवाँलोका कारण ‘भिजिबिलिटी’ कम भएपछि काठमाडौं-पोखरा उडान रोकिएको थियो।
यो पहिलो पटक होइन, दुई सातायता नियमित उडान हुन सकेको छैन। यात्रुले पोखरा यात्रा गर्दा घण्टौं कुर्नु परिरहेको छ। अझ वैशाख दोस्रो साता त तीन दिन उडान नै ठप्प भए।
तुवाँलोका कारण आन्तरिक तथा बाह्य आगन्तुक पर्यटकीय राजधानी आउन सकिराखेका मात्रै छैनन्, पोखरा पुगेपछि पनि सन्तुष्ट छैनन्। प्रायः पर्यटक हिमशृंखलाका मनोरम दृश्यावलोकनका लागि पोखरा पुग्छन्। अहिले भने तिनै मनोरम दृश्य छोपिएका छन्, तुवाँलोमा।
हिमाल अवलोकन गर्न पोखरा पुग्ने पर्यटक निराश भएर फर्किरहेका छन्। गत एक महीनादेखि पोखराबाट सजिलै अवलोकन गर्न सकिने हिमशृंखला स्पष्ट देखिएका छैनन्। बाक्लो तुवाँलोमा छोपिएका छन्।
पोखराको जमीनमा उभिएर मात्रै होइन, आकाशमा उड्दा पनि हिमशृंखला र तालतलैया स्पष्ट देखिने गरेका छैनन्। पोखरा पुग्ने पर्यटक माछापुच्छ्रे, अन्नपूर्ण हिमशृंखलासँगै फेवा तालको दृश्यावलोकन गर्न प्याराग्लाइडिङ उडान भर्ने गरेका छन्। तर केही दिनयता प्याराग्लाइडिङ उडानबाट पनि हिमाल र तालतलैया राम्रोसँग नदेखिएको एक प्याराग्लाइड पाइलट सुनाउँछन्। उनी भन्छन्, “अहिले तुवाँलो बाहेक केही देखिंदैन, पर्यटक निराश भएर फर्किन्छन्।”
पोखराको सराङकोटबाट दैनिक ३०० प्याराग्लाइडिङ उडान हुने गर्छन्। तर अहिले पोखराको प्याराग्लाइडिङ उडान ५० प्रतिशतले घटेको नेपाल हवाई खेलकूद संस्थाका अध्यक्ष सुनील भट्टराई बताउँछन्। “हामीले उडान रद्द गरेका छैनौं, तर पर्यटकको संख्या घटेसँगै उडान पनि ५० प्रतिशतले घटेको छ,” भट्टराई भन्छन्, “तुवाँलोले प्याराग्लाइडिङ पनि प्रभावित बनेको छ।”
तुवाँलोले हिमाल छेकिंदा पोखराको पर्यटनमा पनि असर परेको छ। हवाई उडान नियमित नहुँदा आन्तरिक तथा बाह्य पर्यटकलाई कठिन भएको छ। यति वेला पोखरा पुग्ने सडक पनि विस्तारका क्रममा छ। हवाई उडान हुन नसक्दा र मुग्लिन-पोखरा सडकखण्ड विस्तारको कामले पोखरा भित्रिने पर्यटक प्रभावित बनेको पर्यटन व्यवसायी बताउँछन्।
नेपाल एशोसिएशन अफ टूर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा)की द्वितीय उपाध्यक्ष कमला गिरी उडान नहुँदा पोखरा आउने पर्यटकले यात्रा रोक्न थालेको बताउँछिन्। सडक विस्तारले गर्दा गाडीको यात्रा सहज छैन भने हवाई यात्रा पनि प्रभावित हुँदा पर्यटनमा असर परेको उनको भनाइ छ। “पोखरा घुम्ने योजना बनाएका पर्यटकले पनि हाल तुवाँलोको कारण टिकट रद्द गरिरहेका छन्,” गिरी भन्छिन्।
स्वास्थ्यमा पनि असर
हिमाल हेर्न पोखरा आउने पर्यटकलाई मौसमले निराश बनाइदिएको छ। पोखरा आइपुगेका कतिपय आन्तरिक तथा विदेशी पर्यटक मौसम खुल्ने र हिमाल देख्न पाउने आशमा छन्। तर वर्षात नहुन्जेल र जोडले हावा नचलुन्जेल पोखराको आकाश सफा नहुने मौसमविद् बताउँछन्।
धूलो, धूवाँ र रासायनिक पदार्थ लगायतको मिश्रणले पोखराको आकाशमा थुप्रिन पुगेको बाक्लो तुवाँलोले वायु प्रदूषण पनि बढाएको छ। संसारभरको वायुको गुणस्तर मापन गर्ने आईक्यूएअरले वैशाख १९ गते मध्याह्नसम्म पोखराको वायु गुणस्तर सूचकांक (एक्यूआई) १८१ मापन गरेको छ। जसलाई विश्व स्वास्थ्य संगठनले अस्वस्थ भनेको छ। सामान्यतया एक्यूआई ५० सम्म हुनु राम्रो मानिन्छ।
यस्तै, एक्यूआई ५० देखि १०० सम्म मध्यम अवस्था मानिन्छ। एक्यूआई १५० सम्म श्वासप्रश्वास सम्बन्धी रोग भएका व्यक्ति, वृद्धवृद्धा, बालबालिका, किशोरकिशोरीका लागि अस्वस्थ मानिन्छ। एक्यूआई २०० सम्म अस्वस्थ र त्यसभन्दा माथि ३०० सम्म हानिकारक मानिन्छ। अझ ३०० भन्दा माथिको अवस्था जोखिमयुक्त मानिने गरेको छ।
अहिले पोखराको मौसमी अवस्थाका कारण घाँटी दुख्ने, आँखा पोल्ने, रुघाखोकी, सास फेर्न गाह्रो हुने, टाउको दुख्ने समस्याका बिरामी बढेको छाती रोग विशेषज्ञ डा. सीपी आचार्य बताउँछन्। उनी भन्छन्, “दीर्घरोगी विशेषगरी दम, मुटु, श्वासप्रश्वास सम्बन्धी बिरामीलाई वायु प्रदूषणले अझ बढी प्रभाव पार्छ।”
डा. आचार्य अहिले पोखराको वायुको गुणस्तर सूचकांक अस्वस्थ रहेको बताउँछन्। त्यसैले यो समयमा घरबाट बाहिर सकेसम्म ननिस्कन, निस्कनुपरेमा मास्क लगाउन, चस्मा लगाउन समेत उनी सुझाउँछन्।
किन लाग्यो तुवाँलो?
जनस्वास्थ्यसँगै सबैतिर असर पार्ने गरी पोखरामा लागेको तुवाँलोले सबैभन्दा ठूलो असर पर्यावरणमा पारिरहेको छ। यसले हिमाल छेकेको मात्रै छैन, असर पनि पारिरहेको छ। तुवाँलोका कारण हिमाल पग्लिने, कुरूप बन्ने वातावरणविद् बताउँछन्। एकाएक पोखरामा कसरी तुवाँलो लाग्यो?
पोखरास्थित पृथ्वीनारायण क्याम्पस विज्ञान संकायका प्राध्यापक जीवन रेग्मी वायु प्रदूषण बढ्नुका चार कारण रहेको बताउँछन्। हालको मौसमी अवस्था, स्थानीय प्रदूषण, भूगोल र अन्तरदेशीय प्रदूषण।
पहिलो, अहिलको मौसमी अवस्थाले पोखरामा प्रदूषण बढेको प्राध्यापक रेग्मी बताउँछन्। उनी भन्छन्, “हालको मौसमी अवस्था सुक्खा, हावाहुरी, खडेरी लाग्नु। यसले डढेलो लागिरहेको छ।”
वैशाख १७ मै पनि पोखरा-२७ अर्चले काफ्लेस्वारा वनमा भीषण डढेलो लागेको थियो। पोखरा सहित गण्डकी प्रदेशको वन क्षेत्रमा यस वर्ष ४६७ स्थानमा डढेलो लागेको छ। गण्डकीमा मुस्ताङ जिल्ला बाहेक १० जिल्लाका करीब आठ हजार २७७ हेक्टर जमीनमा डढेलो लागेको हो।
सुक्खा याम लागेसँगै त डढेलो लागेकोलाग्यै छ। डढेलोले गर्दा पनि पोखरामा बाक्लो तुवाँलो लाग्न पुगेको विज्ञ बताउँछन्। डढेलोका कारण हावामा रहेका ससाना कण बाक्लो तुवाँलो बन्ने स्थिति हुन्छ।
राम्रो घाँस पलाउने आशमा कतिले जानाजान त कतिले अन्जानवश वनमा आगो लगाउने गरेका छन्। प्रदेश वन निर्देशक रामकाजी श्रेष्ठ भन्छन्, “वनमा आगो लगाउनु हुन्न भन्ने थाहा भएकै व्यक्तिहरूले नै डढेलो लगाउने गरेका छन्।”
जसले गर्दा डढेलो नियन्त्रण गर्न नसकिएको उनी बताउँछन्। हुन पनि पोखरा आसपासका क्षेत्रमा लागेको डढेलो नियन्त्रणमा आउन सकेको छैन भने डढेलो लगाउनेहरू कारबाहीमा पनि परेका छैनन्। “वनमा आगो लगाउने व्यक्तिमाथि कारबाही नहुँदा डढेलोका घटना झन् बढेका छन्,” श्रेष्ठ भन्छन्।
दोस्रो स्थानीय प्रदूषणले पोखरा क्षेत्रमा वायु प्रदूषण बढाएको प्राध्यापक रेग्मी बताउँछन्। उनी उदाहरण दिंदै भन्छन्, “जस्तो फोहोरको व्यवस्थापन कसरी भइरहेका छ? विकास निर्माणका काम, सवारीसाधनबाट निस्कने धूवाँ लगायतका कारण वायु प्रदूषण बढ्छ।”
पोखरासँगै शहरी क्षेत्रमा फोहोर व्यवस्थापनमा समस्या छ भने जथाभावी विकास निर्माणका काम भइरहेका छन्। यससँगै नियमन नहुँदा धूवाँको मुस्लो फाल्ने सवारीसाधन पनि गुडिरहेकै छन्।
तेस्रो, भूगोल। पोखरा, काठमाडौं, सुर्खेत लगायत उपत्यकामा हावाको प्रवाह कम हुन्छ। जसले गर्दा प्रदूषण आकाशमाथि थुप्रिने गरेको उनी सुनाउँछन्।
चौथो, अन्तरदेशीय प्रदूषण। भारतको हरियाणा, पन्जाब लगायत ठाउँमा कृषिजन्य फोहोर जलाउँदा वायु प्रदूषण हुने गरेको छ। जुन हावाले बगाएर ल्याउँदा नेपालको आकाशमा तुवाँलो बन्ने गरेको उनी बताउँछन्।
सचेतनाको खाँचो
वातावरणकर्मी हुम गुरुङ पोखराको मौसमी अवस्थालाई कोभिड-१९ को समयसँग दाज्छन्। “कोभिडको समय जस्तै हो यो, हामी सतर्क हुनुपर्ने अवस्था छ,” गुरुङ भन्छन्, “अहिलेको अवस्थाले आमनागरिकको स्वास्थ्यसँगै आर्थिक पाटो तथा पर्यटनमा असर पारेको छ।”
तुवाँलोले पोखरामा मात्रै नभएर पर्यटकीय गाउँमा पनि असर पारेको उनी सुनाउँछन्। सिक्लेस हुँदै क्हफुचे ताल पुगेर वैशाख १३ मा फर्किएका गुरुङ प्रदूषणबाट हिमशृंखलाको दृश्यावलोकन गर्न सकिने गाउँ सबैभन्दा बढी प्रभावित बनेको बताउँछन्। “पोखराको प्रदूषण सिक्लेस र ताङतिङमा क्षेत्रमा जम्मा भइबसेको छ,” वातावरणकर्मी गुरुङ भन्छन्, “सिक्लेसबाट पारीको गाउँ ताङतिङ पनि देखिएको छैन।”
तुवाँलोले अहिले त हिमाल छेकिएका मात्रै छन्, दीर्घकालीन रूपमा काला पत्थर बन्ने जोखिम रहेको विज्ञ बताउँछन्। प्राध्यापक रेग्मी वायु प्रदूषणको तत्कालीनभन्दा पनि दीर्घकालीन असर हानिकारक हुने बताउँछन्। उनी भन्छन्, “वायु प्रदूषणले मानवीय स्वास्थ्यमा गम्भीर असर पुर्याउनुका साथै पारिस्थितिक प्रणालीमा नकारात्मक असर पार्छ।”
उनी वायु प्रदूषण कम गर्नतिर नै लाग्नुपर्ने बताउँछन्। २०७७ सालमा वायु प्रदूषणका कारण पोखरा सहित देशभरका विद्यालय चार दिन बन्द नै गर्नुपरेको स्मरण गर्दै अब स्थानीय र प्रदेश सरकारले तत्काल वायु प्रदूषण कम गर्न कदम चाल्नुपर्ने उनको भनाइ छ। वायु प्रदूषण हुने एउटा कारण हाम्रो नियन्त्रणमा नभए पनि अन्य तीन वटा कारणबाट हुने प्रदूषण कम गर्न सकिने उनी बताउँछन्।
वायु प्रदूषण कम गर्न र अर्को वर्षका लागि तयार रहन स्थानीय तहका ससाना समूह पुगेर सचेतनाको काममा अघि बढ्नुपर्नेमा उनीे जोड दिन्छन्। प्राध्यापक रेग्मी भन्छन्, “धूवाँ कम गर्न बिजोर संख्यामा सवारी चलाउने, स्थानीय तहमा पुगेर टोल विकास संस्था, आमा समूहलाई वनमा आगो नलगाउन सचेतना जगाउने, घर वरपर फोहोर नजलाउन सचेत गराउने, प्लास्टिकको प्रयोग कम गर्न सचेतना जगाउने जस्ता तत्कालका लागि काम गर्न सकिन्छ।”
वातावरणकर्मी गुरुङ पनि स्थानीय वायु प्रदूषण कम गर्न सचेतनाको काम अघि बढाउनुपर्नेमा जोड दिन्छन्। त्यस्तै, अन्तरदेशीय प्रदूषण नियन्त्रणका लागि तुवाँलो कूटनीति अपनाउनुपर्ने उनको भनाइ छ। उनी सिंगापुरको उदाहरण दिन्छन्। इन्डोनेशियामा बर्सेनि हुने आगलागीका कारण सिंगापुरमा बाक्लो तुवाँलो लाग्ने गरेको थियो।
सिंगापुर सरकारले तुवाँलो कूटनीति अपनाएर अन्तरदेशीय वायु प्रदूषण नियन्त्रण गरेको उनी सुनाउँछन्। “तुवाँलो कूटनीतिमा सिंगापुरले रणनीतिहरू अपनाएको थियो,” गुरुङ भन्छन्, “नेपालमा लागेको तुवाँलो स्थानीय प्रदूषणसँगै भारतको हरियाणा लगायत ठाउँबाट आएको प्रदूषित वायु पनि हो। यसका लागि नेपालले पनि तुवाँलो कूटनीति अपनाउनुपर्छ, पहल गर्नुपर्छ।”
अहिले पोखरामा भने स्थानीय प्रदूषणले नै तुवाँलो निम्त्याएको छ। डढेलोका घटना बढिरहेकाले पोखराको वायु थप प्रदूषित बन्दै गएको छ। जसको असर पोखराको पर्यटनसँगै समग्र मानव स्वास्थ्यमा परेको छ।
गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले डढेलोको घटना रोकथाम र नियन्त्रण गर्न सचेत हुन प्रदेशवासीलाई अपील नै गरेका छन्। मुख्यमन्त्री अधिकारीले जारी गरेको अपीलमा भनिएको छ, ‘आफ्नो क्षेत्रको पर्यावरण संरक्षण गरी मानवीय अस्तित्वको रक्षा गर्नु हामी सबैको दायित्व र कर्तव्य भएकाले आगलागी र डढेलोका घटना रोकथाम र नियन्त्रण गर्नका लागि गण्डकी प्रदेशवासी सचेत हुनुपर्ने आवश्यकता देखिएको छ।’
वायु प्रदूषणका कारण पोखराको आकाशमा थुप्रिएको बाक्लो तुवाँलो केही समय रहने पक्का छ। जल तथा मौसम विज्ञान विभागका अनुसार केही समय वर्षा हुने देखिंदैन। हिमशृंखला, तालतलैयाले सुन्दर पोखरा यति वेला भने तुवाँलोमा छोपिंदा कुरूप बन्न पुगेको छ।
यो पनि पढ्नुहोस् : तुँवालो रोक्न कूटनीति