‘जिन्दगीभर दुःख गरेरै मरिन्छ जस्तो लाग्छ’ (भिडिओ रिपोर्ट)
मजदूरी गरेर दैनिकी सुधारिएला र आरामको जिन्दगी बाँच्न सकिएला भन्ने विश्वास गर्न सकिराखेका छैनन्, श्रमिक।
संसारभर १ मे अर्थात् आज अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै छ। श्रमिक दिवस मनाउन थालेको पनि १३५ वर्ष भएको छ। तर श्रमिकको जीवनमा खासै परिवर्तन आएको छैन। उनीहरू मजदूरी गरेर दैनिकी सुधारिएला र आरामको जिन्दगी बाँच्न सकिएला भन्ने विश्वास गर्न सकिराखेका छैनन्।
यस्तै श्रमिकमध्ये एक हुन, बुद्ध पाचे मगर। ज्यालामजदूरी गरेर गुजारा चलाउँदै आएका ४१ वर्षीय बुद्ध पाचे मगर भन्छन्, “हरेक बिहान ५ बजे काममा निस्कन्छु, बेलुका ७ बजे फर्कन्छु, अहिलेसम्म सुख भएको छैन, दुःख गरेरै मरिन्छ कि जस्तो लाग्छ।”
सर्लाही, बरहथवाका उनी विगत १५ वर्षदेखि बिहान-बिहानै ललितपुरको महालक्ष्मीस्थान चोकमा पुग्छन्। उनी जस्तै ज्यालामजूदरी गर्नेहरू महालक्ष्मीस्थानलाई ‘लेबर चोक’ भन्ने गर्छन्। बायाँ आँखा मधुरो देख्ने उनको परिवारमा श्रीमती र एक छोरी छन्।