डढेलो निभाउँदा घाइते भएका दुवै जनाको मृत्यु
ललितपुरको गोदावरी नगरपालिका-४, बडिखेलस्थित तपेश्वर सामुदायिक वनमा लागेको डढेलो निभाउने क्रममा घाइते भएका अर्का एक व्यक्तिको पनि मृत्यु भएको छ।
मंगलबार डढेलो निभाउन गएका शंकर र रमेश पहरी आगोले जलेर गम्भीर घाइते भएका थिए। शंकरको मंगलबारै कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो भने रमेशको आज बिहान मृत्यु भएको जिल्ला प्रहरी परिसर, ललितपुरका प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए।
गोदावरी नगरपालिका-६, टीकाभैरवको सामुदायिक वन, सोही नगरपालिकाको वडा नं ५ मा रहेको महादेव खोला सत्य सामुदायिक वन, वडा नं ४ मा रहेको बडिखेलको तपेश्वर मन्दिर वन, वडा नं ९ मा रहेको छेडा सामुदायिक वन, वडा नं ३ मा रहेको जयभद्र सामुदायिक वन, वडा नं १० मा रहेको चारघरे सामुदायिक वन, वडा नं ९ मा रहेको ढुंगेनी पातले सामुदायिक वन, वडा नं २ मा रहेको ताप्लेछाप सामुदायिक वन, बागमती गाउँपालिका-५, कुँडुल्लेको सरकारी वन र महालक्ष्मी नगरपालिका-३ को लुभु पातले सामुदायिक वनमा गए रातिदेखि आगलागी भएको प्रहरी उपरीक्षक सुवेदीले बताए।
आगो निभाउन नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बलको टोली परिचालन भएको उनले बताए।
यसैबीच, लेले जंगलमा लागेको डढेलो आनन्द वनमा फैलिएसँगै प्रहरी र स्थानीयको टोलीले त्यहाँ सञ्चालित कुष्ठरोग अस्पतालका ९३ जना बिरामीलाई बज्रबाराही अस्पतालमा स्थानान्तरण गरेको गोदावरी नगरपालिकाका प्रवक्ता मिलन सिलवालले जानकारी दिए।
डढेलोमा फसेका १५ जनाको मंगलबारै उद्धार गरिएको थियो।