किर्गिस्तानमा नेपालीहरू अलपत्र, गिरोहको प्रलोभनमा नफस्न दूतावासको आग्रह
इस्लामावादस्थित नेपाली राजदूतावासले किर्गिस्तानमा आकर्षक रोजगारीको प्रलोभन देखाएर केही समययता धेरै नेपाली ठगिएका र त्यहाँ पुगेका नेपालीहरू हाल अलपत्र परेको जानकारी प्राप्त भएको जनाएको छ।
दूतावासका अनुसार यसरी ठगीमा परेकामध्ये केहीलाई किर्गिस्तानको बाटो प्रयोग गरी अन्य मुलुक पठाउने आश्वासन समेत दिइएको छ। यसबीच अलपत्र परेका नेपालीमध्ये केहीलाई उद्धार गरी हाल नेपाल फर्काइसकिएको र केही नेपालीहरू फर्कने क्रममा रहेको भए पनि किर्गिस्तान पुग्ने नेपालीहरू अझै देखिएको दूतावासले जनाएको छ।
‘नेपालीहरूलाई राम्रो रोजगारीको प्रलोभन देखाई ठगी गर्ने र अलपत्र पार्ने काममा संलग्नहरूमा केही नेपाली र केही विदेशी समेत रहेको बुझिन आएको छ। यसरी गलत प्रलोभनमा नेपाली नागरिकलाई विदेश पुर्याएर अलपत्र पार्ने जस्तो गैरकानूनी काममा संलग्न हुने व्यक्ति/समूहले प्रचलित कानूनको सामना गर्नु नै पर्ने हुन्छ,’ दूतावासले जारी गरेको सूचनामा भनिएको छ।
दूतावासले यस सन्दर्भमा ठगी गर्ने गिरोहको प्रलोभनमा नफस्न र वैदेशिक रोजगारीमा जानका लागि नेपाल सरकारले व्यवस्था गरेको स्थापित र कानूनी बाटो मात्र प्रयोग गर्न पनि अनुरोध गरेको छ।