हँसाई हँसाई ढोंग उजागर गर्ने ‘टिकट टु हलिउड’
‘सर्रियल ह्युमर’ विधामा बनेको यस नाटकले नेपाली सिने जगत्का विकृति, विसंगतिसँगै अति महत्त्वाकांक्षाको कथा भन्छ।
अभिनय कौशल शून्य छ, तर चर्चा अत्यधिक। विवेक शून्यप्रायः, तर जयजकार गर्नेहरू भरपूर। त्यसमाथि अवसरवादी अनि ढोंगी पनि।
सागर खाती कामीको निर्देशनमा बनेको नाटक टिकट टु हलिउडका मुख्य पात्र मोन्टी (सुदीप खतिवडा)को चरित्रचित्रण हो यो। वैशाख ८ गतेदेखि थापागाउँस्थित मण्डला थिएटरमा मञ्चन भइरहेको यो नाटक ‘हलिउड’ प्रवेश गर्ने तीव्राकांक्षा पालेको एक ‘स्टार’ नेपाली अभिनेताको कथा हो।
‘सर्रियल ह्युमर’ विधामा बनेको यस नाटकले दर्शकलाई हसाउँदै हसाउँदै नेपाली सिने जगत्का विकृति अनि विसंगतिसँग परिचित गराउँछ। कलाकारहरूको आडम्बरी जीवनशैली र अवसरवादी चरित्रलाई उद्घाटित गर्छ। कला जगत्को चर्तिकला उजागर गर्दै नारीको लुप्त यौन चाहना, अन्धभक्ति, महत्त्वाकांक्षा, पश्चिमाकरण र नेपालीपनको महत्त्वसम्म अन्वेषण गर्छ। यी पक्ष खोतल्ने क्रममा नाटकलाई संगीतले मजैले साथ दिएको छ। वेलावेला कलाकारले संगीतको तालमा ताल मिलाएर गरेको भावभंगी उम्दा लाग्छ।
नाटकले अतिरञ्जित हाउभाउ र अतार्किक गतिविधि मार्फत कथावाचन अघि बढाउँदै जान्छ। तर यसको विधा नै सर्रियल भएकाले अस्वाभाविक लाग्दैन। बहुचरित्र निभाएका कलाकारहरू मिलन कार्की, सन्तोष गिरी, दिग्गज खत्री र निर्देशक स्वयंको अभिनयले नाटकलाई अविच्छिन्न बगिरहन दिएको छ।
‘सिद्धार्थ मम मेड इन नेपाल’,‘हलिउड’ लेखेको ढोका, ‘बुद्धि बंगारा’ जस्ता विम्बात्मक प्रयोगहरूले नाटकलाई उचाइ दिलाएका छन्। नाटकमा हलिउड शब्द एक विम्ब हो जसले उचाइ हासिल गर्न जुन तहमा पनि गिर्न सक्नेहरूलाई जनाउँछ।
यस्तै, नाटकमा उपकथाहरूको सिलसिला राम्रोसँग उनिएको छ। एकछिनपछिको आन्दोलनको दृश्यका लागि आधार तय गर्न खाजाको उपकथाको प्रस्तुति सहज रूपमा गाँसिएको छ।
कला अभिव्यक्तिको माध्यम भएकाले त्यसमा सर्जकको मान्यता त हुन्छ नै। तर टिकट टु हलिउडले निर्देशकको विचार थोपर्ने बोझ बोकेको छैन। नाटक मनोरञ्जनप्रधान छ।
नाटकमा केही कमीकमजोरी पनि छन्। जस्तो- सिंगो नाटक एउटै सेटमा समेटिएको छ। जसले गर्दा एउटा दृश्यका लागि प्रयोग भइसकेको ‘प्रप्स’ अन्तिमसम्मै सेटमा रहिरहँदा यसले कथावाचनमा अवरोध गरेको महसूस हुन्छ। प्रकाशको प्रयोगमा पनि यस्तै समस्या छ। समागमको दृश्य देखाउँदा प्रयोग गरेकोमा बाहेक अन्य सबै दृश्यमा एकैखाले प्रकाश प्रयोग गरिएको छ।
उत्तरार्द्धतिर पुगेपछि नाटकको तालमेल झनै बिग्रिन्छ। नाटकको केन्द्रीय विचार एउटा साधनाविहीन र कलाप्रति सम्मान नभएको र नेपालीपन गुमाउनुमा सफलता देख्ने पात्रको रूपान्तरण नै हो। तर यस रूपान्तरणमा मुख्य पात्रको संघर्षका पाटो वा उसलाई रूपान्तरित हुन बाध्य बनाउने कारक गौण हुँदा नाटकको अवतरण प्रभावकारी भएको छैन। नाटकको मूल विषयको प्रस्तुतीकरण नै हल्का हुँदा यसले दर्शकलाई आशा गरे अनुरूप प्रभाव पार्न सक्दैन।
मुख्यतः मोन्टी पात्रलाई आफ्नोपनको महत्त्व महसूस गराउने वेला स्क्रिप्ट, अभिनय र निर्देशन तीनै पक्ष चुकेको भान हुन्छ।
यस्तै, अन्त्यहीन अनि चर्का संवाद, छरितो हुन नसकेको उपकथा अनि ‘स्टेजिङ’ र ‘ब्लकिङ’ जस्ता निर्देशकीय शिल्पको प्रयोग उल्लेख्य नहुँदा पनि खल्लो महसूस हुन्छ।
पश्चिमा जगत्को प्रभावले सिर्जना गरेको अति महत्त्वाकांक्षा जस्तो गहिरो अर्थ-सामाजिक विषय केन्द्रीय विषयवस्तु रहेको नाटकका कतिपय संवाद भने सामाजिक विषयकै सन्दर्भमा चुकेका छन्। जस्तो- नाटकमा एउटा आन्दोलनको सन्दर्भ छ। जहाँ मोन्टीले आन्दोलनमा जान लागेको भन्दा एक वृद्ध पात्र (मिलन कार्की) ‘देशभक्ति त मर्दैन चुत्थै देश भए पनि’ भन्ने संवाद प्रयोग गर्दै आन्दोलनमा नजाने बताउँछन्। उक्त दृश्यमा मोन्टी पात्रले आन्दोलनलाई प्रचारको साधन बनाउन खोजे पनि नागरिक आन्दोलनहरू देशभक्ति विरुद्धको गतिविधि भने होइनन्।
यस्ता कमीकमजोरीका बावजूद सवा घण्टासम्म हसाउँदै व्यंग्यात्मक शैलीमा दर्शकसँग अन्तरक्रिया गर्दै कथा भन्ने भएकाले नाटक दर्शनीय नै बनेको छ। नाटक आगामी आइतबार (वैशाख २३) गतेसम्म मञ्चन गरिनेछ।