रूसी फौजमा आबद्ध नेपालीको जीवनरक्षार्थ अनशन बसेकाहरूको स्वास्थ्य नाजुक
‘रूसी फौजमा आबद्ध नेपालीको जीवनरक्षार्थ अभियान’ का अभियन्ताहरूको स्वास्थ्य अवस्था नाजुक बनेको छ।
विगत १२ दिनदेखि कृतु भण्डारी सहित रूसी फौजमा आबद्ध व्यक्तिका परिवारजनले भृकुटीमण्डपमा आमरण अनशन बसेका छन्। १२औं दिनसम्म पनि सरकारले उनीहरूको माग सम्बोधन गर्न पहल गरेको छैन।
यसबीच उनीहरूको स्वास्थ्य अवस्था पनि बिग्रिएको छ। अहिले अनशनको नेतृत्व गरेकी अभियन्ता भण्डारीलाई स्लाइन चढाइएको छ।
भण्डारीका अनुसार सरकारका तर्फबाट पीडितका परिवारका लागि कुनै पनि पहल भएको छैन। “यत्रा पीडित महीनौंदेखि बेपत्ता परिवार खोजिरहेका छन्, तर सरकारले माग सम्बोधन गर्नका लागि केही काम अघि बढाएको छैन,” भण्डारी भन्छिन्।
अनशनका क्रममा उनीहरू रूसी राजदूतावासअघि समेत धर्ना बस्न पुगेका थिए। तर प्रहरीले उनीहरूलाई रत्नपार्कस्थित शान्तिवाटिका पठाएको थियो।
उनीहरूले रूसी सेनामा रहेका नेपाली युवालाई सकुशल फिर्ता ल्याउन, घाइते भएकाहरूको उपचार, क्षतिपूर्ति र नेपाल ल्याउने व्यवस्था गर्न सरकारसँग माग गरेका छन्। त्यस्तै, युक्रेनी सेनाको कब्जामा रहेका पाँच जना नेपालीको सकुशल रिहाइको पहल गर्न, मृतकको शव ल्याउन र क्षतिपूर्तिको व्यवस्थाका लागि पहल गर्न पनि उनीहरूले माग गरेका छन्।