राणाकालीन पार्क ब्युँताउँदै ललितपुर महानगर
पुतली घर, सेतो घर र आनन्द गुफा जीर्णाेद्धार गरी उच्चस्तरीय विदेशी पाहुनालाई सत्कार गर्ने थलो बनाउने योजना।
ललितपुर, पुल्चोकस्थित इन्जिनीयरिङ अध्ययन संस्थान (आईओई) परिसरको एउटा भव्य राणाकालीन भवनलाई धेरैले डीनको कार्यालयका रूपमा चिन्छन्। इतिहासले चाहिं त्यसलाई भन्छ- आनन्द निकेतन अर्थात् आनन्द भवन। हरियालीले नाम जस्तै आनन्दित बनाएको छ त्यहाँको माहोल।
तर छेवैका तीन संरचना आँखामा बिझाउँछन्। ती हुन्- आनन्द गुफा, पुतली घर र सेतो घर। आनन्द भवन जस्तै १०० वर्ष नाघिसकेका यी सम्पदा संरक्षण अभावमा निकै जीर्ण देखिन्छन्।
आईओईकै आर्किटेक्ट टोलीले २०६७ सालमा गरेको अध्ययन अनुसार आनन्द निकेतन नवशास्त्रीय शैलीमा बनाइएको नेपालको दोस्रो दरबार हो जुन विसं १९४९ सालमा राणा प्रधानमन्त्री वीरशमशेरले छोरा आनन्दशमशेरका लागि बनाइदिएका थिए। भवन सहितका संरचनाहरूको डिजाइन त्यति वेलाका चर्चित इन्जिनीयर किशोरनरसिंह राणाले गरेका थिए। यूरोपबाट अध्ययन गरेर आएका नरसिंह दाजुभाइ (कुमारनरसिंह र किशोरनरसिंह)ले उति वेला केशरमहल, हरिहरभवन, श्रीमहल जस्ता यूरोपेली नवशास्त्रीय शैलीका भवन डिजाइन गरेको इतिहास छ।
परिसरभित्र फेला परेको अंग्रेजी भाषाको शिलालेखमा ‘आनन्द बाग-१९१५’ र टायलहरूमा ‘श्री ५ स्वागत’ लेखिएको पाइएको छ। यस आधारमा अध्ययन टोली त्यहाँका बगैंचा र अन्य संरचना चाहिं विसं १९७२ मा बनेको हुन सक्ने निष्कर्षमा पुगेको छ।
नेपाल कानून पत्रिकामा विसं २०२७ जेठमा प्रकाशित आनन्द निकेतन सम्बन्धी फैसला अनुसार जनरल आनन्दशमशेरले आनन्द निकेतन र परिसरको जग्गा सरकारलाई १० लाख ५७ हजार ४०६ रुपैयाँमा बेचेका थिए। उक्त सम्पत्ति २०२३ सालदेखि आईओईको अधीन आएको थियो।
आनन्द भवन पुरानै अवस्थामा सजिएर डीनको कार्यालय बने पनि पुरातात्त्विक दृष्टिले उत्तिकै महत्त्वपूर्ण सँगैका संरचना अलपत्र जस्तै छन्।
रहस्यमयी आनन्दशमशेर गुफा
आईओई परिसरभित्रै रहेको आनन्दशमशेर गुफामा विद्यार्थीहरूले वर्षमा एक पटक विभिन्न प्रदर्शनी गर्दै आएका छन्। तर यो गुफा किन बनाइएको थियो भन्नेबारे यकीन हुन नसकेको अध्ययन टोलीका नेतृत्वकर्ता प्रा. प्रज्वल हाडा बताउँछन्।
गुफा भित्र-बाहिर दुवैतिर इँटाले बनाइएको छ जसमा एउटा ढोकाबाट पसेर अर्कोबाट निस्कन मिल्ने बाटो छ। गुफाभित्र दुई वटा मुख्य कक्ष छन्। तर गुम्बज शैलीमा निर्माण गरिएका ती कक्ष निकै साँघुरा र अँध्यारा छन्।
अध्ययन टोलीले फेला पारेको अभिलेख अनुसार उक्त गुफा १९औं शताब्दीको अन्त्यतिर आनन्दशमशेरले निर्माण गरेका हुन्। “कतिपयले अपराधी राख्न जेलका रूपमा प्रयोग गर्न बनाइएको विश्वास गर्छन् त कतिपयले राजाले आपत्कालीन अवस्थामा शरण लिन र सम्पत्ति लुकाउन बनाएको अनुमान गर्छन्,” टोलीले तयार पारेको प्रतिवेदनमा उल्लेख छ।
पुतली र सेतो घर
आईओई प्रांगणमा रहेको पुतली घर ‘विन्टर पभेलियन’ भनेर पनि चिनिन्छ। कुपन्डोलबाट पुल्चोक जोडिने मुख्य सडकसँगै जोडिएको पुतली घर बर्खामा झाडीबीच हराउँछ भने हिउँदमा खण्डहर जस्तो देखिन्छ।
पुतली घरकै छेउमा रहेको सेतो घर ‘समर पभेलियन’ का नामले चिनिन्छ। यो घर चाहिं आंशिक रूपमा उपयोग पनि भइरहेकै छ। त्यहाँ यदाकदा आर्किटेक्चरका विद्यार्थीले ‘ड्रइङ’ गर्छन्। आईओईले २०६७ सालमै पुतली र सेतो घरबारे अध्ययन गरेको थियो। उति वेलै संरक्षणतर्फ ध्यान दिइएको भए पुतली घर अहिले जस्तो भग्नावशेषमा परिणत हुँदैनथ्यो भन्ने ठान्छन् आर्किटेक्चर विभागका सहायक प्राध्यापक हाडा। उनी भन्छन्, “हामीले अध्ययन गर्दा विन्टर पभेलियन जीर्णोद्धार गर्न मिल्ने अवस्थामा थियो। २०७२ सालको भूकम्पपछि भने त्यो संरचना पूरै भत्किसकेको छ।” उनका अनुसार सेतो घर र आनन्द गुफा मर्मत मात्र गरे पुग्छ। पुतली घर भने पुनर्निर्माण नै गर्नुपर्ने स्थितिमा छ।
अध्ययनपछि टोलीले ‘पुतली घर’ को थ्रीडी डिजाइन समेत सार्वजनिक गरेको थियो।
अर्को स्वप्न बगैंचा
आईओईको अध्ययन अनुसार त्यति वेला केशर महलको गार्डेन अफ ड्रीम्स पछिकै दोस्रो सुन्दर बगैंचा थियो, आनन्द निकेतनमा। विभिन्न प्रजातिका फूल थिए। मृग र मयूर नाच्थे। ‘गार्डेन अफ ड्रीम्स’ बारे समेत अध्ययन गरेका हाडा भन्छन्, “आनन्द निकेतनभित्रका संरचना व्यक्तिगत प्रयोजनले बनाइएको देखिन्छ। त्यति वेला बनाइएका साना पोखरी, फाउन्टेनहरू पनि अस्तित्वमै छन्। राणाकालपछि यहाँ झन्डै २५ वर्ष चन्दहरू बसे। त्यही वेलादेखि यी संरचना जीर्ण हुन थालेको हाम्रो अध्ययनले देखाउँछ।”
हाडाका अनुसार ती संरचना निर्माणमा स्वदेशीसँगै विदेशी सामग्री र प्रविधि प्रयोग गरिएको छ। “विन्टर पभेलियनमा १८ वटा बाक्लो इँटा र एक इन्च बाक्लो सुर्की प्रयोग गरिएको पाइएको छ,” उनी भन्छन्, “त्यहाँका ट्वाइलेट, बाथटब, टायल, धारा जस्ता सामग्री भने फ्रान्स, बेलायत र कलकत्ताबाट ल्याएको देखिन्छ। किनकि त्यति वेला नेपालमा यस्ता सामग्री र कंक्रिट पाइँदैनथ्यो।”
पुतली घरको भुइँतलामा तीन वटा कोठा छन् भने माथिल्लो तलामा एउटा ठूलो कोठा छ। “यी संरचना ठ्याक्कै कुन प्रयोजनले बनाइएका हुन् भन्ने चाहिं थाहा हुन सकेको छैन,” हाडा भन्छन्, “विन्टर पभेलियनको सन्दर्भमा भुइँतला नुहाउने र ट्वाइलेट जाने प्रयोजनले र माथिल्लो कोठा जाडोमा घाम ताप्न या समय बिताउन बनाइए जस्तो देखिन्छ।” गुफा चाहिं ध्यान गर्ने प्रयोजनले पनि बनाइएको हुन सक्ने हाडा अनुमान गर्छन्।
महानगरको चासो
आईओई प्रशासनले यी संरचना संरक्षणका लागि प्रयास गरे पनि बजेट अभावमा प्रबलीकरण वा जीर्णोद्धार गर्न नसकेको जनाएको छ। ललितपुर महानगरले भत्केका संरचना बनाइदिने भने पनि काम नथालेको आईओई पुल्चोक क्याम्पस प्रमुख इन्द्रप्रसाद आचार्य भन्छन्। “हामीसँग त बजेट नै छैन। त्रिभुवन विश्वविद्यालयले त्यसका लागि बजेट दिंदैन,” उनी भन्छन्, “फेरि १०० वर्ष पुरानो संरचना हामीले जथाभावी भत्काउन पनि मिल्दैन।”
जीर्णोद्धार कार्य अघि बढाउन ललितपुर महानगर, क्याम्पस प्रशासन र अन्य सरोकारवालाहरूबीच झन्डै डेढ महीनाअघि छलफल पनि भएको थियो। त्यति वेला उक्त ठाउँलाई ‘बियर पार्क’ का रूपमा विकास गर्ने प्रस्ताव समेत आएकोमा आईओईले अस्वीकार गरेको क्याम्पस प्रमुख आचार्य बताउँछन्। “विद्यार्थीको छेउमा बियर गार्डेन खोल्नु ठीक नहुने भएकाले त्यो प्रस्ताव अस्वीकार गर्यौं,” उनी भन्छन्।
महानगरले भने आनन्द निकेतनभित्रका संरचना जीर्णोद्धारको काम अघि बढिसकेको जनाएको छ। परामर्शदाता छनोट भइसकेको र डीपीआर तयार पारी चाँडै निर्माण थालिने मेयर चिरीबाबु महर्जन बताउँछन्।
“परामर्शदाता नियुक्त गरेका छौं। यो आर्थिक वर्षमा डीपीआर टुंगो लगाएर अर्को आर्थिक वर्षमा पुतली घर र सेतो घरको निर्माण कार्य अघि बढाउने योजना छ,” उनी भन्छन्। आईओईले तयार गरेको थ्रीडी डिजाइनलाई आधार मानेर डीपीआर तयार गर्न सकिनेमा मेयर महर्जन सकारात्मक छन्।
संरचना बनिसकेपछि उच्चस्तरीय विदेशी पाहुनाको स्वागतका लागि ‘सत्कार पार्क’ बनाइने महर्जन बताउँछन्। उनी भन्छन्, “ ‘सत्कार या गेस्ट पार्क’ नामकरण गर्ने सोचेका छौं। ललितपुरमा कुनै रोयल वा भीआईपी पाहुना आउँदा चियापानी खुवाउने र सम्मान गर्ने थलो हुनेछ।”