सामुदायिक वनमा डढेलो लगाउने दुई जना पक्राउ
डढेलो लगाएको आरोपमा गुल्मीमा दुई जना पक्राउ परेका छन्।
जिल्लाको रेसुंगा नगरपालिका-७, सिस्न्यारा पातल सामुदायिक वनमा डढेलो लगाउने सोही स्थानका ३८ वर्षीय राजकुमार पन्थी क्षेत्री र ४१ वर्षीय राजु जिसी पक्राउ परेको डिभिजन वन कार्यालय, गुल्मीका निमित्त वन अधिकृत पंकजकुमार ठाकुरले जानकारी दिए।
उनीहरूलाई वन ऐन, २०७६ मार्फत आगो लगाएको कसूरमा मुद्दा चलाउने तयारी गरिएको छ। उनीहरूलाई तीन वर्ष कैद र ६० हजार रुपैयाँ जरिवाना वा दुवै सजाय हुने निमित्त वन अधिकृत ठाकुरले बताए। दुवैले सामुदायिक वनमा आफूहरूले आगो लगाएको स्वीकार गरिसकेका छन्।
गत वैशाख ७ गते आगो लगाएर फरार भएका उनीहरूलाई नेटा बजारबाट आइतबार पक्राउ गरिएको थियो।
कुनै व्यक्तिको लापरवाहीबाट डढेलो लागेको र त्यसले ठूलो क्षति गरेको भन्दै जनचेतना जगाउनु नै मुख्य काम भएको ठाकुरले बताएका छन्। यस्तै, आगो लगाएको सुराकी दिने व्यक्तिलाई गोप्य रूपमा पुरस्कार प्रदान गरिने पनि उनले जानकारी दिए।
हाल गुल्मीका १२ स्थानीय तहका ८० सामुदायिक वनमा डढेलो लागेको छ। डढेलोबाट दुई हजारभन्दा बढी हेक्टर वन क्षेत्र नष्ट भएको डिभिजन वन कार्यालय, गुल्मीले जनाएको छ। जिल्लाका इस्मा, मदाने र गुल्मी दरबारका थुप्रै घरगोठमा क्षति भएको छ। घटनास्थलमा राहत र उद्धारको काम भइरहेको जनाइएको छ।