यस वर्ष आर्थिक वृद्धिदर मध्यमस्तरको हुने अनुमान
यस वर्ष आर्थिक वृद्धिदर ३.८७ प्रतिशत हुने भएको छ।
राष्ट्रिय तथ्यांक कार्यालयले चालू आर्थिक वर्ष २०८०/८१ को राष्ट्रिय लेखा अनुमान सार्वजनिक गर्दै मध्यमस्तरको आर्थिक वृद्धिदर हुने जनाएको हो। देशको अर्थतन्त्र मन्दीमा रहेको व्यवसायीहरूले बताइरहेका वेला तथ्यांक कार्यालयले मध्यमस्तरको आर्थिक वृद्धिको अनुमान सार्वजनिक गरेको हो।
कार्यालयले गत आव २०७९/८० मा १.८६ प्रतिशत आर्थिक वृद्धि हासिल भएको जनाएको छ। यसअघि गत वर्ष २.१६ प्रतिशतको आर्थिक वृद्धि हुने अनुमान कार्यालयले सार्वजनिक गरेको थियो।
बहुपक्षीय विकास साझेदार विश्व ब्यांकले चालू आव २०८०/८१ मा नेपालको आर्थिक वृद्धिदर ३.३ प्रतिशतमा सीमित रहने उल्लेख गरेको थियो। एशियाली विकास ब्यांकले भने यस वर्ष ३.६ प्रतिशतको आर्थिक वृद्धिको प्रक्षेपण गरेको थियो।
देशमा वस्तु र सेवाको उपभोग तथा माग घटेकाले अर्थतन्त्रको वृद्धिदर सुस्त हुन पुगेको हो। भन्सार विभागका अनुसार चैतसम्ममा विदेशबाट वस्तु आयात २.८४ प्रतिशतले घटेको छ। यसले बजारमा माग कमजोर भएको बुझाउँछ। खुद्रा तथा थोक व्यापार, घरजग्गाको कारोबार, निर्माण गतिविधि अपेक्षाकृत चलायमान हुन नसक्दा अर्थतन्त्र शिथिल बन्न पुगेको छ।
यस वर्षको आर्थिक वृद्धिदर नेपालको विगतको सरदरको तुलनामा थोरै हो। नेपालको पछिल्लो तीन दशकको औसत आर्थिक वृद्धिदर सरदरमा हरेक वर्ष ४.३ प्रतिशत छ।
आगामी असारसम्म प्रतिव्यक्ति आय एक लाख ९४ हजार २६ रुपैयाँ पुग्ने पनि कार्यालयको अनुमान छ। गत वर्ष प्रतिव्यक्ति आय नेपाली रुपैयाँमा एक लाख ८२ हजार ६८३ थियो।
अमेरिकी डलरमा यस वर्ष प्रतिव्यक्ति आय एक हजार ४५६ पुग्दै छ। गत वर्ष यो एक हजार ३९९ डलर थियो।