विधेयक पारित नगरी अन्त्य भयो कर्णाली प्रदेश सभाको तेस्रो अधिवेशन
कर्णाली प्रदेश सभाको तेस्रो अधिवेशन ११ वटा बैठक बसेर अन्त्य गरिएको छ।
फागुन ३० गतेदेखि शुरू भएको दोस्रो कार्यकालको तेस्रो बैठकबाट विभिन्न विधेयक पारित हुने गरी बिजनेश पाउने भनिए पनि सरकार परिवर्तनका कारण कुनै पनि विधेयक पारित हुन नसकी गए राति १२ बजेदेखि लागू हुने गरी अधिवेशन अन्त्य गरिएको हो।
यस अधिवेशनमा मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत लिए। यस्तै, प्रदेश खेलकूद विकास ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक, कर्णाली प्रदेश प्रहरी सेवा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र कर्णाली प्रदेशको विद्युत् सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८०, विषयगत समितिमा विचाराधीन छन्। यी विधेयक संसद्मा टेबल नै हुन पाएनन्।
प्रदेश प्रमुख तिलक परियारले दोस्रो कार्यकालको तेस्रो अधिवेशन अन्त्य गरिएको पत्र प्रदेश सभा सचिवालयमा पठाएका थिए। संविधानको धारा १८३ को उपधारा २ बमोजिम अधिवेशन अन्त्य गरिएको पत्र सभामुख नन्दा गुरुङले पढेर संसद्लाई जानकारी गराएकी थिइन्।
प्रदेश मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले अधिवेशन अन्त्य गर्ने निर्णय गरेको थियो।