विद्यार्थीसँग भ्यागुता संरक्षण दिवस
मधेश प्रदेशको सिमरामा विद्यार्थी, शिक्षक र सामुदायिक वनका कर्मचारीहरूको सहभागितामा भ्यागुता संरक्षण दिवस मनाइएको छ।
भ्यागुता विश्वभर फैलिएको उभयचर प्राणी हो। यसको रूप, रङ, आकार र प्रकार फरक फरक हुन्छ। मलिक्युलर कल्क डेटिङ अनुसार यिनीहरूको उत्पत्ति करीब दुई करोड ६५ लाख वर्ष अगाडि भएको थियो।
नेपालमा हालसम्म ५६ प्रजातिका भ्यागुता पाइएको अभिलेख छ। यीमध्ये कुनै पनि भ्यागुता विषालु छैनन्। हरेक भ्यागुताले छुट्टै किसिमको आवाज निकाल्ने गर्छ। त्यही पृथक् आवाजको प्रयोग गरेर उनीहरू एकअर्कालाई सम्पर्क र आकर्षित गर्छन्।
तर आजभोलि भ्यागुताहरू संकटमा छन्। खाद्यचक्र सन्तुलन राख्न तथा कीराफट्यांग्राको संख्या नियन्त्रण गर्न मद्दत गर्ने, घर वरपरका लामखुट्टेको बच्चा खाइदिएर विभिन्न रोगबाट बचाउने भ्यागुता संरक्षणको प्राथमिकतामा परेको छैन।
भ्यागुताको संरक्षण आवश्यक छ भन्ने सचेतना जगाउनकै लागि हरेक वर्ष अप्रिल २८ मा ‘सेफ द फ्रग्स डे’ अर्थात् भ्यागुता संरक्षण दिवस मनाइने गरिएको छ। यसै अन्तर्गत गत आइतबार श्री थानीमाई वन उपभोक्ता समूह र सिमरा पब्लिक इङ्लिस स्कूलको सहकार्यमा मधेश प्रदेशको सिमरामा भ्यागुता संरक्षण दिवस मनाइएको छ।
कार्यक्रममा ५६ जना विद्यार्थी, शिक्षक र सामुदायिक वनका कर्मचारीको सहभागिता थियो। कार्यक्रममा भ्यागुता सम्बन्धी पावरपोइन्ट प्रेजेन्टेशन, फेस पेन्टिङ, भ्यागुताको आहारा सम्बन्धी खेल, नेचर वक र हरपिङ, भ्यागुता सम्बन्धी डकुमेन्ट्री प्रदर्शनी गरिएको थियो।
कार्यक्रम आयोजना गर्न सेभ द फ्रग्स संस्था, नेपाल कन्जर्भेशन एन्ड रिसर्च सेन्टर, बायोडाइभर्सिटी रिसर्च एन्ड कन्जर्भेशन सोसाइटी र केटी एडम्सन कन्जर्भेशन फन्डले सहयोग गरेका थिए।
कार्यक्रमले समुदायमा भ्यागुता संरक्षण गर्न सचेतना फैलाउने आश गरिएको छ। भ्यागुता संरक्षण दिवसको मुख्य कार्यक्रम आइतबारै सकिए पनि संरक्षण अभियान अन्तर्गतका सहायक कार्यक्रमहरू भने अझै सञ्चालन भइरहेका छन्।