रास्वपाका लिम्बू सहित १६ उम्मेदवारको धरौटी जफत
प्रतिनिधि सभा सदस्यका लागि इलाम क्षेत्र नम्बर २ मा भएको उपनिर्वाचनमा १६ उम्मेदवारको धरौटी जफत भएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), नेकपा (एकीकृत समाजवादी) लगायत दलका सहित स्वतन्त्र उम्मेदवार समेत १६ जनाको धरौटी जफत भएको हो।
कानून अनुसार ल्याउनुपर्ने न्यूनतम मत ल्याउन नसकेका उम्मेदवारहरूको धरौटी जफत भएको निर्वाचन आयोगले जनाएको छ। प्रतिनिधि सभा सदस्य निर्वाचन ऐनको दफा ७१ मा कुल सदर मतको १० प्रतिशत मत नपाएका उम्मेदवारको धरौटी फिर्ता नहुने व्यवस्था छ।
उपनिर्वाचनमा कुल ६८ हजार ४७२ मत सदर भएको थियो। सदर मतको १० प्रतिशत (६ हजार ८४७ मत) ल्याउन नसेकका उम्मेदवारले राखेको जनही रु.१० हजार जफत भएको हो।
वैशाख १५ गते सम्पन्न उपनिर्वाचनमा रास्वपाका उम्मेदवार मिलन लिम्बूले पाँच हजार ५०, राप्रपाका लक्ष्मी गुरुङले ४०४ र एकीकृत समाजवादीका जीतबहादुर राईले ४०८ मत प्राप्त गरे। त्यस्तै, नेपाल मजदूर किसान पार्टीका श्यामबहादुर दर्जीले ३३, राप्रपा नेपालका गणेशबहादुर चौहानले ४३, जनमत पार्टीका प्रेमबहादुर थाम्सुहाङले ११८ भोट ल्याए।
२७ हजार ७७२ मत पाएका नेकपा (एमाले)का सुहाङ नेम्वाङ इलाम-२ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित भइसकेका छन्। उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले २१ हजार ९४२ र स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले ११ हजार ४५७ मत पाएका थिए।