चार वटा परियोजनाका लागि नौ अर्ब लगानी स्वीकृत
तेस्रो लगानी सम्मेलनका क्रममा उद्योग विभाग मार्फत विभिन्न चार वटा परियोजनाका लागि नौ अर्ब १३ करोड रुपैयाँ बराबरको लगानी स्वीकृत भएको छ।
उद्योग विभाग अन्तर्गतको विदेशी लगानी तथा प्रविधि हस्तान्तरण शाखाका निर्देशक शंकरसिंह धामीले दिएको जानकारी अनुसार भक्तपुरमा लगानी कम्पनी स्थापनाका लागि रु.६ अर्ब, काठमाडौंमा व्यावसायिक भवन निर्माणका लागि रु.तीन अर्ब स्वीकृत भएको छ।
त्यस्तै, बेलायतको एकेलस इनर्जी लिमिटेडको ८५ प्रतिशत र कैलालीको मोहन्याल गाउँपालिकाको १५ प्रतिशत लगानीमा २०० किलोवाट क्षमताको जलविद्युत् आयोजना निर्माणका लागि रु.सात करोड ६६ लाख र ललितपुरमा होटल तथा रेस्टुरेन्ट निर्माणका लागि रु.६ करोड २५ लाख बराबर लगानी स्वीकृत भएको छ।
विभागले आज स्वचालित मार्ग (अटोमेटिक रूट) मार्फत विदेशी लगानी स्वीकृति हुने प्रणालीको उद्घाटन गरेको छ। सरकारले स्वचालित मार्गबाट विदेशी लगानी स्वीकृत गर्ने व्यवस्थाका लागि विदेशी लगानी तथा प्रविधि हस्तान्तरण नियमावली, २०७७ को पहिलो संशोधन गरी यही वैशाख ७ गते राजपत्रमा प्रकाशित गरेको थियो।
जस अनुसार शतप्रतिशत शेयर स्वामित्व वा संयुक्त लगानीमा नयाँ कम्पनी संस्थापना गर्न वा विदेशी लगानीमा संस्थापना भई सञ्चालनमा रहेको विदेशी लगानीकर्ताले त्यस्तो कम्पनीमा पूँजी वृद्धिका लागि लगानी गर्न स्वचालित मार्ग मार्फत निवेदन दिने तथा स्वीकृत गर्ने व्यवस्था रहेको छ।
तेस्रो लगानी सम्मेलनलाई दृष्टिगत गर्दै उद्योग विभागले स्वचालित मार्गबाट विदेशी लगानी स्वीकृत गर्नका लागि विद्युतीय प्रणाली तयार गरिसकेको छ। विदेशी लगानीकर्ताले उक्त प्रणालीबाट आजकै मितिबाट आवेदन दिई विदेशी लगानी स्वीकृति गरिएको पत्र इमेल मार्फत आवेदन दिने बित्तिकै प्राप्त गर्न सक्नेछन्।
सूचना प्रविधिमा आधारित उद्योगका लागि स्वचालित मार्गबाट विदेशी लगानी स्वीकृत गर्दा लगानीको न्यूनतम सीमा लागू गरिएको छैन। स्वचालित मार्गबाट विदेशी लगानी स्वीकृत हुँदा लगानीकर्ताको समय र खर्चको बचत हुन गई लगानीको वातावरण बढ्ने अपेक्षा गरिएको छ। -रासस