नेपालमा भेटिएको सानो सिंगी माछा
हेटेरोप्न्युस्ट जाति अन्तर्गत जम्मा ६ प्रजाति सिंगी माछा पाकिस्तान, नेपाल, भारत, बाङ्लादेश, भूटान, श्रीलंका, थाइल्यान्ड र म्यानमारमा मात्र प्राकृतिक अवस्थामा पाइएको जानकारी छ।
गत असोज दोस्रो साता विराटनगर महानगरपालिका-१९ स्थित सिंगिया खोला नजिक एक व्यक्ति माछा मार्दै थिए। छेउमै एक महिला सानो रातो प्लास्टिकको बाल्टिन बोकेर उभिरहेकी थिइन्। बाल्टिनमा आधा किलो जति पाँच/सात प्रजातिका माछा थिए।
कौतूहल लागेर मैले माछाको तस्वीर खिचें। त्यसमध्ये एउटा सिंगी माछा थियो। माछा वयस्क थियो र त्यसको लम्बाइ माझी औंलाभन्दा केही लामो थियो। तर आकृति अन्यत्र पाइने सिंगी माछाभन्दा फरक थियो।
खरानी र हल्का कालो रङको माछाको घाँटीमुनि हल्का पहेंलो जस्तो थियो। बाहिरबाटै यसको आन्द्राभुँडी पो देखिन्छ कि जस्तो थियो।
यस्तै माछा झापाको जलथल जंगल नजीक २०७९ श्रावणमा देखेको थिएँ। झापामा वन्यजन्तु अध्येता अस्मित सुब्बाले त्यो सिंगी माछा हत्केलामा राख्ने बित्तिकै ‘नेपालका लागि नयाँ प्रजाति हो’ भनेका थिए। झापाबाट फर्केपछि थाहा भयो- नेपालमा सिंगी माछाको एक मात्र प्रजाति अभिलेख रहेछ। त्यसैले विराटनगरमा देखिएको सिंगी माछा नेपालका लागि नयाँ हुन सक्छ भनेर अस्मितलाई तस्वीर पठाएँ। उनले तुरुन्तै यो झापामै भेटिएको प्रजाति भएको बताए।
झापामा त्यस वेला बच्चा फेला परेको र पछि झापाकै विभिन्न ठाउँमा वयस्क पनि फेला पारेको उनले सुनाए। अध्ययनपश्चात् नेपालका निम्ति नयाँ अभिलेख राख्न जर्नलमा प्रकाशन गर्न पठाइसकेको पनि उनले जानकारी दिए।
सिंगी माछा
सिंगी माछा पूर्वी नेपालमा पाइनेमध्ये सबैभन्दा स्वादिष्ट र पौष्टिक माछा मानिन्छ। यसलाई ‘स्टिङगिङ क्याटफिश’ वा ‘एशियन क्याटफिश’ पनि भनिन्छ। ‘स्टिङ’ भनेको डस्नु हो। यसको घाँटी नजिक पलाएको ‘पेक्टोरल फिन’ मा रहेको ‘स्पाइन’ अर्थात् घाँटीको पखेटामा विष उत्पन्न गर्ने कोषहरू हुन्छ।
सिंगी माछाले शत्रुबाट बच्न पेक्टोरल फिन प्रयोग गर्छ। सिंगी माछा मिलाएर समाउन जानिएन भने यसको पेक्टोरल फिनबाट घाउ लाग्छ। यसको विष शरीरमा प्रवेश भयो भने दुई/तीन दिन ज्वरो आउँछ। अत: यसलाई डस्ने माछा भनिन्छ।
सिंगी माछासँग ‘क्याटफिश’ शब्द जोडिनुको खास कारण छ। यसको मुख वरिपरि चार जोडी लामा मासुको जुँगा (बार्बल) हुन्छ। बिरालाको मुख वरिपरि पनि थुप्रै जुँगा (ह्वीस्कर) हुन्छन्। तर बिरालाका जुँगा रौं हुन्। यसले नजिकको वातावरण थाहा पाउन जुँगा प्रयोग गर्छ। सिंगी माछामा पाइने जुँगाले पनि बिरालाकै जस्तो सेन्सरका रूपमा काम गर्छ। यसैले यो माछालाई डस्ने र जुँगा हुने अर्थमा स्टिङगिङ क्याटफिश भनिएको हो।
यस्तै, एशिया बाहेक अन्य महादेशमा नपाइने भएकाले यसलाई ‘एशियन क्याटफिश’ पनि भन्ने गरिन्छ।
नेपालमा करीब २५० प्रजाति माछा छन्। तीमध्ये तेजकुमार श्रेष्ठ लिखित इच्थियोलोजी अफ नेपाल, २०१९ दो.सं. शीर्षकमा प्रस्तुत विवरण अनुसार नेपालमा पाइने १४ जाति अन्तर्गतका २१ प्रजाति माछालाई क्याटफिश भनिन्छ। गोंचमाछा भनिने क्याटफिश त ५०/६० केजीसम्म हुन्छ। तर भिन्नभिन्न जातिका क्याटफिशमा जुँगाको संख्या र आकृति फरक फरक किसिमको हुन्छ। एक जाति अन्तर्गतका प्रजातिहरूमा पनि फरक प्रकृतिका हुन्छन्।
जीव विज्ञानमा सिंगी माछालाई ‘हेटेरोप्न्युस्ट’ जाति अन्तर्गत समावेश गरिएको छ। हेटेरोप्न्युस्टको पनि विशेष अर्थ छ।
यो शब्द ग्रीक भाषाका दुई शब्द मिलेर बनेको छ। माछाले पानीमा ‘गिल्स’ बाहेक अन्य तरीकाबाट पनि श्वास फेर्न सक्ने अर्थमा सिंगी माछाको जातिलाई यो भाषामा हेटेरोप्न्युस्ट नाम दिइएको पाइन्छ। यो जातिको माछामा ल्याब्रिन्थ अर्ग्यान रहेको हुन्छ। अर्थात् यो जातिको माछा पानी बाहिर रहँदा वायुमण्डलमा रहेको अक्सिजन ग्यास उपयोग गर्न सक्छ। यो माछा जमीन चिसो रहेको अथवा यसको शरीर सुक्खा नभइन्जेल पानी बाहिर बाँच्न सक्छ।
हेटेरोप्न्युस्ट जाति अन्तर्गत जम्मा ६ प्रजाति पाकिस्तान, नेपाल, भारत, बाङ्लादेश, भूटान, श्रीलंका, थाइल्यान्ड र म्यानमारमा मात्र प्राकृतिक अवस्थामा पाइएको जानकारी छ। नेपालमा सन् २००८ मा सिंगी माछाको एक प्रजाति हेटेरोप्न्युस्ट फोसिलिज पाइने सार्वजनिक भएको थियो।
सानो सिंगी माछा
अस्मित सुब्बा, जसहाङ लिम्बू र लक्ष्मण खनाल लिखित एक लेख पन्जाब युनिभर्सिटी जर्नल अफ जूलोजी वर्ष ३९ अंक १ मा प्रकाशित भएको छ। उक्त लेखमा नेपालका निम्ति सिंगी माछाको थप एक प्रजाति थपिएको सचित्र जानकारी छ।
सुब्बा र अरूहरूले झापामा फेला पारेको सिंगी माछा हेटेरोप्न्युस्ट नानी भएको बताएका छन्। यो प्रजाति सन् २०१३ मा बाङ्लादेशमा पहिलो पटक पत्ता लागेको थियो। यसको वैज्ञानिक नाम सामुद्रिक विज्ञान तथा मत्स्यपालन विभाग चटगाउँ विश्वविद्यालयका प्राध्यापक नानीगोपाल दासको सम्मानमा हेटेरोप्न्युस्ट नानी राखिएको हो।
सन् २०२४ को अप्रिल २२ मा प्रकाशन भएको सुब्बा र अरूहरू लिखित उक्त लेख अनुसार हेटेरोप्न्युस्ट नानी झापाको जम्मा आठ ठाउँमा फेला परेको छ। यो प्रजातिको माछा हेटेरोप्न्युस्ट जातिकै अन्य पाँच प्रजातिभन्दा सानो आकारको हुन्छ। यसको लम्बाइ ९८ मिलिमिटरसम्म हुने रहेछ। त्यसैले यसलाई सानो सिंगी माछा नै भन्दा उपयुक्त हुन्छ।
यो जाति अन्तर्गत सबैभन्दा लामो सिंगी माछा भारतको केरलामा सन् २०२२ मा फेला परेको थियो। हेटेरोप्न्युस्ट फुस्कस नाम दिइएको उक्त प्रजाति २२९ मिलिमिटरसम्म लामो हुने जनाइएको छ।
झापामा सानो सिंगी माछा कन्काई, कमला, बिरिङ, ठाडे पोखरी, केचना झिल ताल, जलथल सिमसार, तिनढ्वाङ क्षेत्रमा पाइएको थियो। यी क्षेत्रभन्दा झन्डै ५० किलोमिटर पश्चिममा रहेको मोरङ जिल्लामा मैले यसलाई गत वर्ष नै फेला पारेको थिएँ। त्यसैले अनुमान गर्न सकिन्छ- यो माछा मोरङको सीमावर्ती सुनसरीमा पनि हुनुपर्छ।
विराटनगरका केही स्थानीयलाई यो माछाको तस्वीर र विवरण बताउँदा उनीहरूले विराटनगरका हाटमा यो माछा बेच्न राखिने गरेको बताएका थिए। यसको अर्थ, मोरङमा यो माछा उल्लेख्य मात्रामा छ। तर माछा अध्येताहरूले यसलाई हेटेरोप्न्युस्ट फोसिलिज नै भन्दै आएका थिए।
सिंगी र मुंग्रीमा समानता
सिंगी माछा जस्तै देखिने अर्को माछा मुंग्री हो। यो आकारमा सिंगीभन्दा ठूलो हुन्छ। मुंग्री अलग्गै जाति र अलग्गै परिवारको माछा हो। मुंग्री कहिलेकाहीं पानी बाहिर पनि घस्रेर हिंड्न सक्छ। यसैले एउटा पोखरीमा पालेको मुंग्री माछा नजिककै अर्को पोखरीमा जमीनबाटै गइदिन्छ।
यसो हुनुको कारण यसको घाँटीनेर पलाउने पेक्टोरल फिन ज्यादै मजबूत हुन्छ। यसैको सहायताले यो सर्प झैं बिस्तारै घस्रेर यताउता गर्छ। मुंग्री जातिको माछामा पनि ल्याब्रिन्थ अर्ग्यान हुन्छ।
यसले पानी बाहिर त्यसैको सहायताबाट श्वास फेर्छ। यसकारण मुंग्री माछालाई ‘वकिङ क्याटफिश’ भनिन्छ।
नेपालमा मुंग्री जातिका जम्मा दुई प्रजाति प्राकृतिक रूपमा छन्। त्यसमध्ये ‘क्लारिआज मगुर’ भनिने मुंग्री माछा प्राकृतिक र ठिमाहा दुवै प्रकृतिका पाइन्छन्। प्राकृतिक रूपमा पाइने खैरो र ठिमाहा चाहिं खैरो कालो हुन्छ। ठिमाहाको टाउकोको हाड चौडा हुन्छ। ठिमाहाको पेक्टोरल फिन त्रिकोणात्मक गोलाकार हुन्छ। जबकि प्राकृतिक क्लारिआज मगुरको पेक्टोरल फिन लाम्चो आकारको हुन्छ। ठिमाहा अत्यन्त चाँडै फैलन्छ। यो स्वास्थ्यका लागि पनि लाभदायक हुँदैन भनिन्छ।
मुंग्री माछालाई सिंगीभन्दा अलग्गै चिनिने आकृति भनेको यसको ढाडमा सर्लक्कै पुच्छरसम्म पखेंटा (डर्सल फिन) हुन्छ। यस्तै, मुंग्रीको आकार ठूलो र टाउको पनि सिंगीको तुलनामा निकै चौडा हुन्छ।
नानी र फोसिलिजको अन्तर
एकै जाति अन्तर्गतका भिन्न प्रजातिहरू छुट्याउन गाह्रै हुन्छ। परम्परागत जीव वर्गीकरण अनुसार एकै जात अन्तर्गतका प्रजातिहरूबीच प्रस्टै देखिने कम्तीमा दुई/तीन वटा बाहिरी स्वरूपमा फरकपन हुनुपर्छ।आनुवंशिक अध्ययनमा भने सजिलै फरक पत्ता लाग्छ र त्यसमा देखिने भिन्नता बढी भरपर्दो मानिन्छ।
नेपालका निम्ति भर्खरै सूचीकृत भएको सिंगी माछा र सन् २००८ मा सूचीकृत गरिएको सिंगी माछाबीच प्रस्ट फरक आकृति छ। पहिलो त हेटेरोप्न्युस्ट नानीको तुलनामा हेटेरोप्न्युस्ट फोसिलिज निकै ठूलो हुन्छ। यी दुई प्रजातिबीच मुख्य फरक भनेको तिनमा हुने पेक्टोरल स्पाइन काँडाको आकार हो। हेटेरोप्न्युस्ट नानीका दायाँबायाँ पाँच/पाँच वटा अलगअलग पेक्टोरल स्पाइन हुन्छ। जबकि हेटेरोप्न्युस्ट फोसिलिजमा यी, पाँच/पाँच वटा स्पाइन मेम्ब्रेनबाट जोडिएको हुन्छ।
यस्तै, यी दुई प्रजातिबीच गुदा-पुच्छ अर्थात् पुच्छरतिरको पखेंटा पनि प्रस्ट फरक हुन्छ। हेटेरोप्न्युस्ट नानीको गुदा-पुच्छको टुप्पो फिनको टुप्पोतिर बढेको हुन्छ। हेटेरोप्न्युस्ट फोसिलिजको गुदा-पुच्छको टुप्पो फिनको फेदतिर टुंगिएको हुन्छ।
यी दुई प्रजातिहरूमा यस्ता फरक अन्य पनि थुप्रै छन्। तर हाम्रा मत्स्यविज्ञहरूले यस्ता फरक थाहा पाएका थिएनन्। यसो हुनुको कारण नेपालको विश्वविद्यालयहरूमा जीव विज्ञानतर्फ जन्तु पहिचान, वर्गीकरण सम्बन्धी पढ्नुपर्ने ट्याक्सोनोमी सेक्सन अहिलेसम्म राखिएको छैन।
ज्ञान उत्पादन गर्ने संस्थाले आवश्यक ज्ञान होइन, कतिपय सन्दर्भमा व्यापारीले झैं प्रमाणपत्र मात्रै बाँडिरहेको छ। यसै कारण नेपालमा स्तनधारी, पक्षी, मत्स्य समूहका भरपर्दा ट्याक्सोनोमिस्ट छैनन्। यद्यपि, एकाधले स्वाध्ययनबाट विशेष दक्षता हासिल गरेका छन्।
उसो त जन्तु संकायमै शंखेकीराका एक दर्जन बढी विश्वका निम्ति नयाँ शंखेकीरा नेपालबाट पत्ता लगाउने धुरन्धर शंखेकीराको ट्याक्सोनोमिस्ट पनि छन्। कमिलाको सन्दर्भमा पनि विश्वका निम्ति नेपालबाटै नयाँ खोज गर्ने कमिलाका ट्याक्सोनोमिस्ट पनि त्रिभुवन विश्वविद्यालयमै कार्यरत छन्। वनस्पति विज्ञानमा पनि एकसे एक प्लान्ट ट्याक्सोनोमिस्ट छन्।
यस्तो अवस्थामा जन्तु विज्ञानमा एमएस्सी पढ्दै गरेका विद्यार्थीको अगुवाइमा सिंगी माछामा भएको फरक स्वरूप खुट्याई नेपालका निम्ति सिंगी माछाको प्रजाति थप्ने काम अत्यन्तै सराहनीय छ। त्यसैले अझ मिहिन ढंगबाट अन्वेषण गरे नेपालमा हाल सूचीकृत २५० प्रजातिका माछामा अझै १५/२० प्रजाति थपिन सक्छन्।