सामुदायिक वनबाट सल्केको डढेलोले बस्ती नै खरानी, राहतको पर्खाइमा पीडित
दाङको हाडबास गाउँको सामुदायिक वनबाट सल्केको डढेलोले बस्ती नै खरानी भएको छ भने पीडित परिवार राहतको पर्खाइमा छन्।
गाईघाट सामुदायिक वनमा सल्किएको डढेलोले नजिकै रहेको राजपुर गाउँपालिका–७ स्थित हाडबास गाउँ खरानी भएको हो। २५ घर रहेको गाउँमा फुसका छाना भएका २४ घर र १० गोठ जलेका हुन्।
टिनले छाएको एउटा घर मात्रै जोगिएको राजपुर-७ का वडाध्यक्ष पुष्कर वलीले बताए। “टिनको छानो भएको घर मात्रै जोगिएको छ, फुसको छानो भएका घरगोठ पूर्ण रूपमा जलेर नष्ट भएका छन्।”
वडाध्यक्ष वलीका अनुसार आइतबार दिउँसो गाउँ नजिकै गाईघाट वनमा डढेलो लागेको थियो। पश्चिमबाट चलेको तीव्र हावाका कारण डढेलो हाडबास बस्तीमा छिरेको उनले बताए।
सामुदायिक वनमा सल्किएको डढेलो हाडबास गाउँमा सीता भण्डारीको घरसम्म पुगेको उनले बताए। त्यसपछि स्थानीय बासिन्दा आगो निभाउन भण्डारीको घरतर्फ दगुरे। “सबै गाउँले भण्डारीको घरमा आगो निभाउन खटिएका थिए, तीव्र हावाले गाउँका अन्य घरमा पनि फैलियो,” वडाध्यक्ष वलीले भने, “स्थानीयले आगो निभाउन त खोजेका थिए, तर सकेनन्, क्षणभरमा गाउँ सखाप भयो।”
हाडबास गाउँमा आगलागी भएपछि लमही नगरपालिका र गढवा गाउँपालिकाबाट दुई वटा दमकल आएका थिए। तर हाडबास गाउँसम्म दमकल पुग्ने बाटो नभएपछि फर्किएको इलाका प्रहरी कार्यालय, गढवाका प्रहरी निरीक्षक नवीन केसीले बताए। “आगो नियन्त्रणका लागि स्थानीय बासिन्दा दमकल कुरेर बसेका थिए,” केसीले भने, “तर बाटो राम्रो नभएका कारण हाडबास गाउँसम्म दमकल पुग्न सकेन।”
गाउँसम्म दमकल जाने बाटो भइदिएको भए केही घर जोगाउन सकिने केसीको भनाइ छ। यसरी, एक घरबाट अर्को घर हुँदै गाउँ नै खरानी भयो।
आगलागीबाट गाउँ नै विस्थापित भएको छ। स्थानीय बासिन्दा त्रिपाल टाँगेर बसिरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक जनकबहादुर मल्लले बताए। गाउँका ९९ जना बारीमै त्रिपाल टाँगेर बसेका छन्।
आगलागीबाट भएको क्षतिको विवरण संकलन भइरहेको छ। प्रारम्भिक विवरण अनुसार करीब एक करोड रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको मल्लले बताए।
आगलागीबाट पीडित परिवार राहतको पर्खाइमा छन्। केही संघसंस्थाले सहयोग गरेको भए पनि खानबस्नै समस्या भइरहेको उनीहरूले बताएका छन्।