इलाममा एमाले २६ सय मतले अघि, बझाङमा कांग्रेस अढाई सयले
प्रतिनिधि सभा सदस्यका लागि भइरहेको इलाम क्षेत्र नम्बर २ तथा प्रदेश सभा सदस्यका लागि भइरहेको बझाङ १ (क) को उपनिर्वाचन अन्तर्गत हाल मतगणना जारी छ।
इलाममा हालसम्म २१ हजार ८१० सदर मत गणना हुँदा नेकपा (एमाले)का सुहाङ नेम्वाङले अग्रता कायम राखेका छन्। पछिल्लो अद्यावधिक मत परिणाम अनुसार सुहाङले आठ हजार ८९८ मत प्राप्त गरेका छन्। उनलाई नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले ६ हजार २८० मत सहित पछ्याइरहेका छन्। यी दुईबीच दुई हजार ६१८ मतको अन्तर छ।
हालसम्मको गणनामा स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बू (मुढा छाप)ले चार हजार ६३४ मत प्राप्त गरेका छन्। चौथो स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टीका मिलन लिम्बू छन्। उनले एक हजार ३०५ मत प्राप्त गरेका छन्।
यस्तै, बझाङमा भने कांग्रेस उम्मेदवार अभिषेकबहादुर सिंहले २५९ मतको अग्रता बनाएका छन्। २३ हजार ३७३ सदर मत गणना हुँदा सिंहले आठ हजार ८७४ मत पाउँदा एमालेका दमनबहादुर भण्डारीले आठ हजार ६१५ मत पाएका छन्।
यहाँ तेस्रो स्थानमा नेकपा (माओवादी केन्द्र)का उम्मेदवार जनकबहादुर बुढा छन्। उनले तीन हजार २१५ मत पाएका छन्। दुई हजार ३१० मत सहित नेकपा (एकीकृत समाजवादी)का दिलबहादुर सिंह चौथो स्थानमा छन्।