दुर्व्यसन छाडेर उदाहरणीय जीवन
कुनै समय लागूऔषधको कुलतमा फसेका युवाहरू नै अहिले सुधार केन्द्र सञ्चालन गर्दै सेवनकर्तालाई पुनर्जीवन दिने अभियानमा सक्रिय भएका छन्।
कक्षा ८ मा पढ्दापढ्दै हेटौंडाका सौजन डिसी लागूऔषध सेवनकर्ता भइसकेका थिए। उनी कक्षाकोठामै ब्राउनसुगर बोकेर जान्थे। साथीहरूसँग नशामा लिप्त हुन्थे।
गीतसंगीत र वाद्यवादनमा रुचि भएका सौजनले लागूऔषधको दलदलमा फसेकै कारण सांगीतिक यात्रा अघि बढाउन सकेनन्। सन् २०१० मा २० वर्षको उमेरमा उनी रोजगारीका लागि दुबई पुगे। त्यहाँ पनि उनले लत त्याग्न सकेनन्।
जसोतसो तीन वर्ष काटेर नेपाल फर्किए। तर लागूऔषधकै कारण वैवाहिक सम्बन्धमा खटपट आयो। यसपछि लत छुटाउन भनी उनी सन् २०१५ मा काठमाडौंको एक सुधार केन्द्र पुगे। तर त्यहाँ भर्ना भएकै रात दुईमहीने छोरा सिआन बिरामी परे, उपचारका क्रममा उनको मृत्यु भयो।
पुत्रवियोगले सौजनलाई झस्कायो, आफूमा सुधार अपरिहार्य भएको महसूस गरे। यसपछि तीन महीना अनुशासित भई सुधार केन्द्रमा बसे, लतबाट मुक्त भए अनि घर फर्के। तर परिवार र समाजले उनको रूपान्तरण सहजै स्विकारेनन्। सौजनले पनि हार मानेनन्।
३३ वर्षीय सौजन अहिले दिवंगत छोराको नाममा सिआन पुनःस्थापना केन्द्र सञ्चालन गरिरहेका छन्। आठ वर्षको अन्तरालमा यहाँबाट थुप्रै युवा पुनर्जीवन पाएर समाजमा पुनःस्थापित भइसकेका छन्।
“लागूऔषधमा लागेकै कारण आफ्नो पहिलो सन्तान गुमाएँ, सन्तान गुमाउँदाको पीडाले मलाई अरू युवा पनि जोगाउनुपर्छ भन्ने निष्कर्षमा पुर्यायो, अनि केन्द्र खोलें,” उनी भन्छन्, “सही समयमा ‘रिह्याब’ मा गएकै कारण म बँचेको हुँ, अरूलाई पनि बचाउन यो आवश्यक देखें।”
मन्त्रालयबाट सम्मान, पूर्व सेवनकर्तालाई रोजगारी
हेटौंडा उपमहानगरपालिका-९ मा रहेको यस सुधार केन्द्रलाई बागमती प्रदेशकै उदाहरणीय ठहर गर्दै प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयले २०७५ सालमा ५० हजार रुपैयाँ आर्थिक सहयोग समेत गरेको थियो। २०७५ सालमै प्रदेशको कृषि मन्त्रालयले पनि सम्मान गरेको थियो।
सिआन पुनःस्थापना केन्द्रमा खेलमैदान, व्यायामशाला समेतको व्यवस्था छ। केन्द्रमा भर्ना भएकाहरू बिहान व्यायाम र खेलमा सहभागी हुन्छन् दिउँसो अभिव्यक्ति र भाषण कलाको कक्षा लिन्छन्। साँझ परेपछि सबै मिलेर फूल र तरकारी बारीमा काम गर्छन्। यहाँको भान्सामा चाहिने तरकारी यहीं उत्पादन हुन्छ। केन्द्रमै गाई पालिएको छ, दूधदहीको पनि जोहो हुन्छ।
केन्द्रमा अहिले विभिन्न नेता र जनप्रतिनिधिका सन्तान सहित १९ वर्षदेखि ६७ वर्षसम्मका ५७ जना लत छुटाउने अभ्यास गरिरहेका छन्। उनीहरूमध्ये ५० प्रतिशतलाई मानसिक स्वास्थ्य समस्या छ।
सेवाग्राहीले तिरेको मासिक १८ हजार रुपैयाँ शुल्कबाटै केन्द्र चलेको छ। केन्द्रले वार्षिक दुई जनालाई निःशुल्क ६ महीने आवासीय सेवा उपलब्ध गराउने गरेको पनि सौजन बताउँछन्।
सौजनका अनुसार यहाँ बसेर लागूऔषधको लत छुटाएकाहरू पछि सरकारी सेवामा प्रवेश गरेका छन् भने कोही निजी विद्यालयका सञ्चालक समेत बनेका छन्। हाल ११ जना पूर्व सेवनकर्ताले त यहीं रोजगारी पाएका छन्।
तिनैमध्येका एक हुन् हेटौंडा-९ का २३ वर्षीय दीपसागर मिजार। कुनै समय दीपसागरको कुलतले आमा कमला डिप्रेशनको शिकार भएकी थिइन्। छरछिमेक, आफन्तले त छोरालाई पागलखाना राखिदिनू समेत भनेका थिए। तर उनले सात महीना सिआनमा भर्ना गरिदिइन्।
परिणामतः अहिले अवस्था फेरिएको छ। दीप लागूऔषध सेवनकर्तालाई पुनर्जीवन दिन सम्भव छ भनेर लागिपरेका छन्। कमला पनि छोराको रूपान्तरण देखेर प्रसन्न छिन्।
लागूऔषध दुर्व्यसन विरुद्धको अभियानमा सौजनलाई श्रीमती तान्या अग्रवालको पनि साथ छ। सौजनले पुरुष सेवनकर्ताका लागि अभियान सञ्चालन गरिरहँदा तान्याले सिआन महिला पुनःस्थापना केन्द्र स्थापना गरी महिला सेवनकर्ताका लागि सचेतना, रोकथाम कार्यक्रम तथा परामर्श दिने काम समेत गरिरहेकी छन्।
यहाँ ४७ महिलाले नियमित सेवा लिइरहेका छन्। “महिलाहरूमा प्रायः स्कूल-कलेजका छात्रा धेरै छन्,” उनी भन्छिन्, “पुनःस्थापना केन्द्रकै अभाव देखिन थालेको छ, उनीहरूलाई अब सम्पर्कमा राखेर रोकथामका लागि मात्रै पहल गरेर सम्भव छैन।”
युवालाई बाटो देखाउँदै विजय र सन्दीप
हेटौंडा-१०, कर्राका विजय हाडा पनि अहिले रूपान्तरित र उदाहरणीय जीवन बाँचिरहेका छन्। यी तिनै व्यक्ति हुन् जसलाई १२ वर्षअघिसम्म कुलतमा फसेकै कारण समाजले हेयको नजरले हेर्थ्यो। तर अहिले विजय लागूऔषध दुर्व्यसनमा फसेका युवालाई सही दिशा देखाउने अभियानमा सक्रिय छन्।
दुर्व्यसनका कारण मानसिक समस्या भएकाहरूलाई रेखदेख र परामर्श गर्ने, विद्यालय, क्याम्पस तथा समुदाय स्तरमा सचेतना अभियान चलाउने गर्दै आएका छन्। उनी सञ्चालक रहेको हेटौंडा-९ को पिरु फाउन्डेशन सुधार केन्द्र (लागूऔषध तथा मादक पदार्थ उपचार केन्द्र) मा अहिले १५ जनाले सेवा लिइरहेका छन्।
विजयका अनुसार दुर्व्यसनबाट मुक्त भइसकेकालाई समाजले खुला रूपमा स्वीकार नगर्दा उनीहरू पुनः दुर्व्यसनमा फस्ने जोखिम बढी हुन्छ। उनी आफैं आठ पटकसम्म पुनःस्थापना केन्द्र बसेका थिए। “आफूले बानी सुधार गरेर फर्क्यो, समाजले ट्यापे भनेर विभेद गर्थ्यो। खप्न नसकेर फेरि दुर्व्यसनमै फसें,” उनले भने, “छोराको बाउ भइसकेको थिएँ, परिवारले पत्याउँदैनथ्यो, यस्तो वातावरणकै कारण लत छुटाउन समस्या हुन्छ।”
यस्तै, १० वर्षअघिसम्म लागूऔषधकै कारण सन्दीप शाक्यको जीवन पनि तहसनहस भइसकेको थियो। तर अहिले उनी सेवनकर्तालाई पुनर्जीवन दिने कार्यमा लागेका छन्।
यद्यपि केही व्यक्ति पुनःस्थापना केन्द्रमा बसे पनि उनीहरूको बानी नसुध्रने सन्दीप बताउँछन्। “केही समय रिह्याबमा बसेर म आफ्नो दैनिकी सुधारेर घर फर्कें। मसँगै केही युवा पनि घर फर्किए, तर सबैको आदत टुटेन, पुनः लागूऔषधमा फस्ने साथीहरू देखें।”
उनका अनुसार शारीरिक र मानसिक रूपमा धेरै कमजोर भइसकेर सुधार केन्द्र आउँदा अवस्था बदलिन सक्दैन। त्यसैले अभिभावकले नै समयमै चासो दिएर सुधार केन्द्र पठाउनुपर्ने उनी बताउँछन्।
यी सुधार केन्द्र सञ्चालकहरूको अनुभवमा ९३ प्रतिशत पूर्व सेवनकर्ता समाजले स्वीकार नगरेर वा घुलमिल हुन नसकेर पुनः सुधार केन्द्रमै फर्कने गर्दछन्। तीमध्ये केहीले दिवाकालीन सेवा लिन्छन्, केही भने ‘कीप इन टच’ (खान मन लाग्दा मन भुलाउन केन्द्रमै आएर समय बिताउने) गर्छन्।
लागूऔषध समन्वय समिति मकवानपुरका संयोजक समेत रहेका सौजनका अनुसार अहिले जिल्लामा सात वटा सुधार केन्द्र छन्। जसमा २०० प्रयोगकर्ता केन्द्रमै बसेर सेवा लिइरहेका छन्। अन्य सम्पर्क सेवा लिनेहरूको यकीन तथ्यांक छैन।
समितिले केही समयअघि जिल्लामा झन्डै आठ हजार हाराहारीमा लागूऔषध प्रयोगकर्ता रहेको र सम्पर्कमा आएकामध्ये सुईबाट लागूऔषध प्रयोग गर्नेको संख्या मात्रै करीब ८०० रहेको बताएको थियो।
हाल मकवानपुरमा ५० जना पूर्व लागूऔषध प्रयोगकर्ताहरू सुधार केन्द्र मार्फत पुनःस्थापना अभियानमा सक्रिय छन्।
२०७६ सालको नेपाल लागूऔषध प्रयोगकर्ता सर्वेक्षण अनुसार नेपालमा एक लाख ३० हजार ४२४ जना सेवनकर्ता छन्। यीमध्ये ९३.३ प्रतिशत अर्थात् एक लाख २१ हजार ६९२ पुरुष तथा ६.७ प्रतिशत अर्थात् आठ हजार ७३२ महिला हुन्।
यसअघि २०६९ सालको सर्वेक्षणमा ९१ हजार ५३४ लागूऔषध प्रयोगकर्ता थिए। गृह मन्त्रालयका अनुसार वार्षिक रूपमा ५.०६ प्रतिशतका दरले प्रयोगकर्ता बढिरहेका छन्।
२०७६ सालकै सर्वेक्षण अनुसार बागमती प्रदेशमा मात्रै ४६ हजार ४८० लागूऔषध प्रयोगकर्ता छन्। जसमध्ये ४० हजार ८५५ पुरुष तथा पाँच हजार ६२५ महिला हुन्। जसमा धूवाँको माध्यमबाट सेवन गर्नेहरू सबैभन्दा बढी ३५ प्रतिशत छन्।
बागमती प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी मधुकर थापाका अनुसार चालू आर्थिक वर्षको फागुन महीनासम्म प्रहरीले प्रदेशभरबाट चार हजार ९५४ किलो विभिन्न किसिमका लागूऔषध बरामद गरेको छ। यही कारोबारमा संलग्न एक हजार ५३ जनालाई नियन्त्रणमा समेत लिएको छ। सोही अवधिमा मकवानपुर जिल्लाबाट मात्रै दुई हजार ३९५ केजी लागूऔषध बरामद र १९९ व्यक्ति पक्राउ परेका छन्।
मकवानपुर बहुमुखी क्याम्पसका समाजशास्त्र विषयका प्राध्यापक जगन्नाथ सापकोटा गलत संगत वा अन्य केही कारण लागूऔषधको नशामा फसिहाले पनि स्वयं व्यक्ति, परिवार (अभिभावक) तथा समाजको सही सहयोगले उनीहरूलाई सही बाटोमा फर्काउन सकिने बताउँछन्।
गृह मन्त्रालयका अनुसार हाल नेपालमा दुर्व्यसनमा फसेका व्यक्तिलाई कुलत छुटाएर समाजमा पुनःस्थापना गराउन नेपालभर २४० भन्दा बढी उपचार तथा सुधार केन्द्र सञ्चालनमा छन्।