इलाममा एमाले, बझाङमा कांग्रेस उम्मेदवार अगाडि
प्रतिनिधि सभा सदस्यका लागि भइरहेको इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचन अन्तर्गत हाल मतगणना जारी छ।
सोमबार बिहानसम्म कुल १८ हजार ९४८ सदर मत गनिसक्दा नेकपा (एमाले)ले अग्रता बनाइरहेको छ। एमाले उम्मेदवार सुहाङ नेम्वाङ सात हजार ६७७ मत प्राप्त गरेर अग्रस्थानमा छन् भने उनलाई नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्काले पाँच हजार ३९५ मतले पछ्याइरहेका छन्।
यस्तै, स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बू (मुढा छाप) चार हजार ५८ मत सहित तेस्रो स्थानमा छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका मिलन लिम्बूले भने एक हजार १६२ मत प्राप्त गरेका छन्।
एक लाख १५ हजार ८८९ मतदाता रहेको यस क्षेत्रमा ६९ हजार २८७ मत खसेको थियो। उपनिर्वाचनमा १२ राजनीतिक दल र सात स्वतन्त्र सहित १९ जना चुनावी प्रतिस्पर्धामा छन्।
उता, बझाङ १ (क) अन्तर्गत प्रदेश सभा सदस्यका लागि भइरहेको उपनिर्वाचनमा एमालेले लिइरहेको शुरूआती अग्रतालाई कांग्रेसले उछिनेको छ।
कुल २० हजार ३३ सदर मत गनिसक्दा कांग्रेसका उम्मेदवार अभिषेकबहादुर सिंहले सात हजार ४९२ मत प्राप्त गरेका छन्। उनलाई दोस्रो स्थानमा एमालेका दमनबहादुर भण्डारीले सात हजार २२८ मत सहित पछ्याइरहेका छन्।
यहाँ तेस्रो स्थानमा नेकपा (माओवादी केन्द्र)का उम्मेदवार छन्। माओवादीका जनकबहादुर बुढा दुई हजार ८९५ मत सहित तेस्रो स्थानमा छन्। नेकपा (एकीकृत समाजवादी) दुई हजार १०२ मत ल्याएर हालसम्म चौथो स्थानमा छ।
यहाँ भएको उपनिर्वाचनमा ४९.१२ प्रतिशत अर्थात् ३० हजार ३२८ मत खसेको थियो। यस क्षेत्रमा ६१ हजार ७४८ मतदाता थिए। उपनिर्वाचनमा ११ उम्मेदवारले चुनावी प्रतिस्पर्धामा भाग लिएका छन्।