इलाम र बझाङमा एमाले र कांग्रेसकै प्रतिस्पर्धा, कसको कति मत?
प्रतिनिधि सभा र प्रदेश सभा सदस्यका लागि भएको उपनिर्वाचनको आइतबार मध्यरातिको मत परिणाम अनुसार दुवै क्षेत्रमा एमाले र कांग्रेसकै प्रतिस्पर्धा देखिएको छ।
इलाम २ मा आइतबार राति १२ बजेसम्म ११ हजार ८९१ मत गणना भएको छ। जसमा एमालेका सुहाङ नेम्वाङले पाँच हजार २७ मत पाएका छन्।
उनीसँग कांग्रेसका डम्बरबहादुर खड्काले प्रतिस्पर्धा गरिरहेका छन्। उनले तीन हजार ७५९ मत पाएका छन्।
स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बू तेस्रो नम्बरमा छन्। उनले एक हजार ८१५ मत पाएका छन्। चौथो नम्बरमा रहेका रास्वपाका मिलन लिम्बूको ७६० मत छ।
इलाममा १७ प्रतिशत मत गणना भएको छ। यस क्षेत्रमा ६९ हजार २८७ मत खसेको थियो।
बझाङ १ ‘क’ मा प्रदेश सभा सदस्यका लागि भने एमाले र कांग्रेसका उम्मेदवारबीच तीव्र प्रतिस्पर्धा देखिएको छ। राति १२ बजेसम्म १२ हजार ४८३ मत गणना भएको छ।
एमालेका दमनबहादुर भण्डारीले चार हजार ४६४ मत पाएका छन्। उनका प्रतिस्पर्धी कांग्रेसका अभिषेकबहादुर सिंहले चार हजार १०६ मत पाएका छन्।
तेस्रो नम्बरमा रहेका माओवादीका जनकबहादुर बुढाले दुई हजार २२५ मत पाएका छन्। त्यस्तै, एकीकृत समाजवादीका दिलबहादुर सिंहले एक हजार ४७१ मत पाएका छन्।
बझाङमा एकतिहाइभन्दा बढी मत गणना भएको छ। यस क्षेत्रमा ३० हजार ३२८ मत खसेको थियो।