भान्सामै पुस्तकालय बनाउने जनकलाल शर्मा
एक दर्जनभन्दा बढी पुस्तकका लेखक एवं समाज र संस्कृतिका अध्येता जनकलाल शर्माको लोभलाग्दो पाटो हो, पुस्तक संकलन।
नेपाली साहित्य र समाजका अध्येतालाई चिनाउनुपर्ने नाम होइन, जनकलाल शर्मा। जोसमनी सन्त परम्परा र साहित्य पुस्तकका लागि २०२० सालमा मदन पुरस्कार पाएका उनका हाम्रो समाजः एक अध्ययन, कौतुकमय डोल्पो, ललितकला र साहित्य, भूमिकै भूमिका, राप्ती उपत्यका, राम्रो नेपाली साहित्य लगायत पुस्तक प्रकाशित छन्। त्यस्तै, उनका संस्मरणात्मक निबन्धहरूको सँगालो जनकलाल शर्माका संस्मरण पनि नेपाली पाठकमाझ लोकप्रिय छन्।
पुरातत्त्व, साहित्य, इतिहास र संस्कृतिमा कलम चलाएका जनकलालको पुस्तक संकलन पनि त्यत्तिकै फराकिलो थियो। उनका छोरा सुमन ढकालका अनुसार दैनिक १० घण्टाभन्दा बढी लेखपढमै बिताउने जनकलालले २०५६ सालमा भौतिक संसारबाट बिदा हुने वेलासम्म करीब १० हजार पुस्तक जम्मा गरेका थिए। किताब मात्र होइन, पर्चा, पम्पलेट पनि बाइन्डिङ गरेर राख्ने गरेको बताउँछन् सुमन।
ती पुस्तकलाई उनले समाज, अर्थ, संस्कृति, इतिहास, व्याकरण, पत्रपत्रिका जस्ता शीर्षकमा वर्गीकरण गरेर राखेका थिए। पुस्तकका लागि गाँसै काटेर पनि खर्च गर्ने स्वभाव थियो उनको। “बरु घरखर्च चलाउन समस्या परे पनि वास्ता नगर्ने तर पुस्तक खरीद गर्न भनेपछि सस्तो हैन, बाक्लो र हार्डकभर नै लिने स्वभाव थियो,” सुमन सम्झिन्छन्।
त्यसरी जम्मा गरिएका पुस्तक राख्न भान्सामा समेत र्याक बनाइएको सुनाउँछन् उनी। सुमनका अनुसार ठमेलको डेरामा बस्ने गरेका जनकलालले २०२१ सालमा पानीपोखरी, महाराजगन्जमा घर किने। घर किनेपछि उनले सबैभन्दा धेरै स्थान पुस्तकालयलाई छुट्याए, शयनकक्ष साँघुरो बनाएर। सबै कोठाको भित्तामा पुस्तक राख्ने र्याक बनाइएको थियो।
“पुस्तक नभएको ठाउँ कहीं पनि थिएन,” सुमन सुनाउँछन्, “भान्सामा पनि अध्ययन र छलफल हुनुपर्छ भन्नुहुन्थ्यो। भान्सामा हुने पुस्तकको र्याकबाट पुस्तक लिएर आफै त्यहीं पढ्न बस्नुहुन्थ्यो। बुहारीलाई पनि भान्सामा भएका पुस्तक पढेर चपाउनुपर्छ भन्नुहुन्थ्यो।”
त्यसरी संकलन गरिएका पुस्तक वा कुनै पनि पाठ्यसामग्री पढेपछि त्यसबारे डायरीमा लेख्ने बानी थियो जनकलालको। पुस्तकका लेखकलाई चिठी लेखेर होस् वा फोन गरेर आफ्नो टिप्पणी सुनाउने, आलोचना गर्ने र सुधार्न सुझाव समेत दिने गरेको सुमन बताउँछन्। तथ्यमा टेकेर लेख्ने वा बोल्ने आँटिला लेखक समेत थिए जनकलाल। कतिसम्म आँटिला भने, २०५२ वैशाख ४ गतेको जनभावना साप्ताहिकमा उनले दिएको अन्तर्वार्ता ‘हिन्दूहरू गौमांस भक्षण गर्दथे’ शीर्षकमा प्रकाशित भयो।
त्यति वेला नेपाल हिन्दू अधिराज्य नै थियो। उनको त्यो अन्तर्वार्ताले बौद्धिक जगत्मा मतमतान्तर भएको सम्झिन्छन् सुमन। तर तथ्यमा टेकेर बोलेकैले जनकलाललाई संस्कृतिविद् सत्यमोहन जोशी लगायत बौद्धिकहरूले स्पष्ट र आँटिला वक्ताको उपमा दिएका थिए।
पुस्तक संकलन र लेखनमा जति नै संरक्षणमा पनि कटिबद्ध थिए जनकलाल। उनको संकलनमा रहेका पुस्तक जोकोहीले घर लगेर पढ्ने छूट पाउँदैनथे। साह्रै सीमित मानिसलाई मात्र उनी पुस्तक दिने गर्थे जसमध्ये एक थिए नयराज पन्त। “नयराज पन्तले पनि सितिमिति आफ्ना पुस्तक अरूलाई नदिने भएकाले बुबासँग स्वभाव मिलेर होला, उहाँसँग चाहिं लिनेदिने गर्नुहुन्थ्यो,” सुमन भन्छन्।
त्यस्तै, योगी नरहरिनाथ, लक्ष्मीप्रसाद देवकोटा, राहुल सांकृत्यायन, बालचन्द्र शर्मासँग मात्र पुस्तक आदानप्रदान गर्ने गरेको उनी सुनाउँछन्।
पुस्तक नदिनुको मुख्य कारण चाहिं फिर्ता नआउने डर थियो। त्यसैले करैले पुस्तक दिन परे तमसुक नै गराउने गरेको सुमन बताउँछन्। उनका अनुसार त्यसरी तयार पारिएको तमसुकमा प्रापक, पुस्तक विवरण, पुस्तक लिएको मिति, फर्काउने मिति र हस्ताक्षर हुने गर्थ्यो।
कसैले तमसुक गरी लगेका पुस्तक फिर्ता नगरे जनकलाल चिठी लेख्थे। पटक पटक चिठी लेख्दा पनि फिर्ता नआए तमसुकमा ‘भगवान्को नाममा चढाएको पुस्तक’ लेखेर बन्द गर्ने गर्थे। “यसरी लेखिएका तमसुकहरू सयौंको संख्यामा थिए, तर केही वर्षअघि नयाँ घर निर्माण र व्यवस्थापनको काममा हराए,” सुमन भन्छन्, “हामीले केही वर्ष त ती तमसुकहरू हेरेरै कति जनासँग किताब फिर्ता पनि लिएका थियौं। नामी लेखकहरू पनि हुनुहुन्थ्यो।”
पुस्तक लैजान नदिए पनि आफूसँग भएका सामग्री अरूलाई पढाउन कन्जुस भने थिएनन् उनी। बरु पुस्तक पढ्न माग्नेहरूलाई घरमा आएर आफ्नै पुस्तकालयमा बसी पढ्न अनुरोध गर्थे।
त्यसरी पढ्न आउने धेरैलाई खाना र खाजा खुवाएको सम्झिन्छिन् जनकलालकी बुहारी रम्भा शर्मा। “घरमै पुस्तक पढ्न आउनेमा विदेशी राजदूतहरू धेरै हुन्थे। मैले नै उनीहरूलाई खाजा, खाना दिन्थें। बुबासँगै पढेर उनीहरू साँझ घर फर्किन्थे,” रम्भा भन्छिन्।
पुस्तकलाई असाध्य प्रेम गर्थे जनकलाल। कीरा नलागोस् भनेर पनि पुस्तक चलाइरहने गर्थे। वेलावेला आफ्ना छोराबुहारीलाई भन्थे, “कति वेला कुन पुस्तक आवश्यक पर्छ, फेरि कहाँ लिन जानु? चाहिएको वेला पुस्तक पाइएन भने म भात खान पनि सक्दिनँ।”
पुस्तक मात्र होइन, कलमका पनि उत्तिकै सोखिन थिए उनी। लेख्नका लागि ‘मूड’ र राम्रो कलम चाहिन्छ भन्ने गरेको सम्झिन्छन् सुमन। त्यसैले उपहार माग्दा पनि कलम नै माग्थे। उनको रहर बुझेरै २०१५ सालमा तत्कालीन प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाले ‘पार्कर पेन’ त्यो पनि उनको नाम नै खोपाएर ल्याइदिएका थिए।
विडम्बना! जनकलालले यति प्रेमले जतन गरेका पुस्तकको संकलन अहिले सुरक्षित छैन। कतिसम्म भने जीवनको अन्तिम क्षणसम्म पनि उनले प्रेमले राखेको त्यो पार्कर कलम पनि हरायो। त्यसैको ग्लानि छ, उनका छोरा राजनीतिशास्त्रका विद्यावारिधि प्राध्यापक सुमन ढकाललाई।
उनका अनुसार पिताको निधनपछि अध्ययनका क्रममा सपरिवार विदेशमा बस्न थालेकाले हेरविचार नहुने भएपछि २०७८ वैशाख ५ गते नेपाल प्रज्ञा-प्रतिष्ठानलाई तीन हजार ५२९ वटा पुस्तक दिएका थिए। तर ती पुस्तक बजारमा बिक्रीमा पाइएको साथीहरूले सुनाएपछि चिन्ता लागेको उनी बताउँछन्। “बुबाले ज्ञानको पहुँच सबैमा पुग्नुपर्छ भनेकै भएर पुस्तकहरू प्रतिष्ठानलाई दिएका थियौं, तर बजारमा ती पुस्तक पाइएको सुनेपछि चिन्ता लागेको छ,” सुमन भन्छन्।
जीवनको अन्तिम क्षणमा जनकलाललाई जेको पिरलो थियो, त्यही भएको देख्दा सुमन पछुतो मान्छन्। उनका अनुसार आखिरी दिनहरूमा जनकलालले छोरालाई घरिघरि गाली गर्दै भन्थे, “कुनै दिन बुर्जुवा साहित्य भनेर यो सुमनले मेरो सबै किताब जलाइदिन्छ।”
अनि कहिले युवाकालमा सुमनले चुरोट खाएको देखेका जनकलालले भन्थे रे, “यसको सिगरेट खाने बानी छ, पछि यसले सबै किताब बेचेर सिगरेट खान्छ।”
दुई दिदीबहिनी विवाह भएर गएपछि पुरानै घरमा रहेका छोरा सुमन अहिले आफ्ना पिताका ती वचन सम्झिँदै पुस्तक संरक्षणमा लागिपरेका छन्। त्यसो त ३९ वर्षसम्म त्रिभुवन विश्वविद्यालयमा राजनीतिशास्त्रका प्राध्यापक रहेका सुमन जनकलाल शर्माका पुस्तकका सम्पादक पनि हुन्। जनकलाल शर्माका संस्मरणहरू उनी र माधवप्रसाद पोखरेलको संयुक्त सम्पादनमा प्रकाशन भएको हो।
हाल उनी २००४ सालदेखि २०४१ सालसम्म जनकलालले लेखेका डायरीहरूको खोज र अध्ययन गरिरहेछन्। त्यही खोजको परिणामस्वरूप छिटै नयाँ पुस्तक प्रकाशन हुँदै छ- ‘जनकलाल शर्मालाई महापण्डित राहुल सांकृत्यायनका चिठी।’
अहिले जनकलालका डायरी संकलनमा खटिएका सुमन भन्छन्, “कुनै समय बुबाले यति पढेको छोराले डोकोमा हालेर किताब चाहिं फाल्दैन भन्नुहुन्थ्यो। बुबाको यो भनाइले पनि सधैंभरि उहाँको संकलनलाई जोगाउनुपर्छ भन्ने लागेर उब्रिएका डायरीहरू संकलन गर्न थालेको छु।”