इलाममा डम्बर र सुहाङबीच २८ मतको अन्तर
इलाम २ को पछिल्लो मतगणनामा कांग्रेसका डम्बरबहादुर खड्का एमालेका सुहाङ नेम्वाङभन्दा २८ मतले अगाडि छन्।
निर्वाचन आयोगका अनुसार, चार हजार १०६ मत गणना हुँदा खड्का र नेम्वाङबीच प्रतिस्पर्धा देखिएको हो। खड्काले एक हजार ६५८ मत पाएका छन् भने नेम्वाङले एक हजार ६३० मत पाएका छन्।
त्यस्तै, स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बूको ४३० मत छ भने राष्ट्रिय स्वतन्त्र पार्टीका मिलन लिम्बूको ३०८ मत छ। मंगोल न्याशनल अर्गनाइजेशनका मणिबहादुर लिम्बूले १९ र नेपाली जनता दलका रेशमबहादुर सुनारले १७ मत पाएका छन्।
अन्य उम्मेदवारको दोहोरो अंक पनि पुगेको छैन। इलाममा १९ उम्मेदवार छन् भने कुल ६९ हजार २८७ मत खसेको छ।
बझाङमा माओवादी दोस्रो
बझाङ १‘क’को पछिल्लो मतगणनामा नेकपा (माओवादी केन्द्र)का जनकबहादुर बुढा दोस्रो नम्बरमा आएका छन्। उनले नेपाली कांग्रेसका अभिषेकबहादुर सिंहलाई तीन मतले पछि पारेका छन्। बुढाको ९९८ छ भने सिंहको ९९५ मत छ।
नेकपा (एमाले)का दमनबहादुर भण्डारी झण्ड दोब्बर मतले अगाडि छन्। उनको एक हजार ५९३ मत छ।
चौथो नम्बरमा रहेका नेकपा (एकीकृत समाजवादी)का दिलबहादुर सिंहको ५९५ मत छ। अहिलेसम्म चार हजार २१४ मत गणना भएको छ। बझाङमा ३० हजार ३२८ मत खसेको हो।