इलाम र बझाङमा कसको मत कति?
इलाम २ र बझाङ १ ‘क’ मा भएको उपनिर्वाचनको पछिल्लो मत परिणाम अनुसार कांग्रेस र एमालेबीच प्रतिस्पर्धा देखिएको छ।
इलाममा दुई हजार ८०६ मत गणना हुँदा नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्काले एक हजार १५५ मत पाएका छन्। उनीसँग प्रतिस्पर्धा गरिरहेका नेकपा (एमाले)का सुहाङ नेम्वाङले एक हजार ७२ मत पाएका छन्।
त्यस्तै, स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बू तेस्रो नम्बरमा छन्। उनले ३१३ मत पाएका छन्। चौथो नम्बरमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार मिलन लिम्बूले २११ मत पाएका छन्।
नेपाली जनता दलका रेशमबहादुर सुनारले ११ मत पाएका छन्। अन्य उम्मेदवारको दोहोरो अंक पनि पुगेको छैन। इलाममा १९ उम्मेदवार छन् भने कुल ६९ हजार २८७ मत खसेको छ।
यसैगरी, बझाङमा दुई हजार ७६३ मत गणना हुँदा एमालेका दमनबहादुर भण्डारी प्रतिस्पर्धी कांग्रेसका अभिषेकबहादुर सिंहभन्दा दोब्बर मतले अगाडि छन्। एमालेका भण्डारीको एक हजार ३०३ मत छ भने कांग्रेसका सिंहको ६५६ मत छ।
त्यस्तै, तेस्रो नम्बरमा रहेका नेकपा (माओवादी केन्द्र)का जनक बुढाले ४०१ मत पाएका छन् भने ३६९ मत पाएर नेकपा (एकीकृत समाजवादी)का दिलबहादुर सिंह चौथो नम्बरमा छन्। राष्ट्रिय प्रजातन्त्र पार्टीका किशोरकुमार खड्काले २० मत पाएका छन्।
अन्य उम्मेदवारको मत १० भन्दा कम छ। बझाङमा ११ उम्मेदवार छन् भने कुल ३० हजार ३२८ मत खसेको छ।