किन अशान्त छन् अमेरिकी विश्वविद्यालय?
प्यालेस्टाइनमा भइरहेको इजरायली आक्रमणको विरोधमा अमेरिकाका विभिन्न विश्वविद्यालयमा चलिरहेका आन्दोलनले विगतका युद्ध विरोधी र रंगभेद विरोधी आन्दोलनको झल्को दिएका छन्।
प्यालेस्टाइनमा भइरहेको इजरायली आक्रमणको विरोधमा प्रदर्शनको शृंखला बढ्दै गएपछि संयुक्त राज्य अमेरिकाका विश्वविद्यालय तनावग्रस्त छन्। द न्यूयोर्क टाइम्सका अनुसार वैशाख १५ मा मात्रै नर्थइस्टर्न युनिभर्सिटी, एरिजोना स्टेट युनिभर्सिटी, इन्डियाना युनिभर्सिटी र वाशिङटन युनिभर्सिटी गरी चार विश्वविद्यालयबाट २०० भन्दा बढी प्रदर्शनकारी गिरफ्तारीमा परेका छन्।
गत अक्टोबरमा प्यालेस्टाइनमा इजरायली आक्रमण शुरू भएदेखि नै यूरोप र अमेरिकाका विश्वविद्यालयमा विद्यार्थीले युद्ध विरोधी प्रदर्शन गरिरहेछन्। उनीहरूले र्याली, अनशन, भोकहडताल जस्ता विधि अपनाइरहेछन्।
पछिल्लो पटक विद्यार्थीले प्रदर्शनको नयाँ विधि अपनाएका छन्। उनीहरू क्याम्पस हाताभित्रै टेन्ट टाँगेर बस्न थालेका छन्। वैशाख ५ मा कोलम्बिया विश्वविद्यालयबाट यो शैलीको प्रदर्शन थालिएको हो। प्रदर्शन शुरू भएको दोस्रो दिन प्रहरीले ७०० विद्यार्थीलाई गिरफ्तार गर्यो।
यो शैलीको आन्दोलन अमेरिकाका अन्य विश्वविद्यालयमा पनि देखा पर्न थालेको छ। कम्तीमा १८ वटा विश्वविद्यालयमा प्रहरी हस्तक्षेप भएको छ भने ५० भन्दा बढी विश्वविद्यालय एवं क्याम्पसमा प्रदर्शन भएको छ।
के चाहन्छन् विद्यार्थी?
रोयटर्सका अनुसार विद्यार्थीको मुख्य माग प्यालेस्टाइनको गाजामा स्थायी युद्धविराम हो। साथसाथै उनीहरू इजरायललाई अमेरिकाले गरिरहेको सैन्य सहयोगको अन्त्य गर्नुपर्ने माग गरेका छन्।
उनीहरूले हतियार विक्रेता र युद्धबाट नाफा कमाउने अन्य कम्पनीबाट विश्वविद्यालयले वित्तीय सहयोग लिन बन्द गर्नुपर्ने माग गरिरहेछन्। आन्दोलनका क्रममा गिरफ्तार भएका विद्यार्थी र अध्यापकको रिहाइ अर्को माग हो।
प्रभाव र प्रतिक्रिया
अन्तर्राष्ट्रिय समाचार माध्यमका अनुसार विद्यार्थीको बढ्दो प्रदर्शनले अमेरिकाका विश्वविद्यालयमा नियमित पठनपाठन नै अवरुद्ध हुने अवस्था आएको छ। रोयटर्सका अनुसार वैशाख १० मा कोलम्बिया विश्वविद्यालयले सबै कक्षा भर्चुअल माध्यमबाट सञ्चालन गरेको थियो। सेमेस्टरका बाँकी कक्षा भर्चुअल वा नियमित तवरबाटै सञ्चालन गर्ने विश्वविद्यालयले जनाएको छ। अन्य विश्वविद्यालयले पनि नियमित कक्षा बन्द गरेर भर्चुअल कक्षा सञ्चालन गरिरहेछन्।
क्याम्पस प्रशासन र स्थानीय प्रहरीले प्रदर्शन विरुद्ध कठोर नीति अपनाएका छन्। कोलम्बिया विश्वविद्यालय र त्यसको सम्बन्धन प्राप्त बर्नार्ड कलेजले आन्दोलनमा सहभागी दर्जनभन्दा बढी विद्यार्थीलाई निलम्बन गरेको रोयटर्सले उल्लेख गरेको छ। देशैभर गिरफ्तारी र रिहाइको क्रम बढेको छ।
बीबीसीका अनुसार आन्दोलनको लहर फैलिन थालेपछि ‘युनिभर्सिटी अफ साउदर्न क्यालिफोर्निया’ ले वैशाख २८ का लागि तोकिएको दीक्षान्त समारोह नै स्थगन गरेको छ।
अमेरिकी नेताले पनि प्रदर्शनको विरोध गरेका छन्। इजरायललाई हतियार र आर्थिक सहयोग गरेको भन्दै प्रदर्शनकारीबाट आलोचित अमेरिकी राष्ट्रपति जो बाइडेनले प्रदर्शनको निन्दा गरेका छन्। उनले प्रदर्शनकारीले प्यालेस्टाइनमा के भइरहेछ भन्ने नै नबुझेको दाबी गरेका छन्। अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि आन्दोलनलाई ‘गडबड’ को संज्ञा दिएका छन्।
शताब्दीकै ठूला प्रदर्शन
पर्यवेक्षकले अमेरिकामा भइरहेका यी प्रदर्शनलाई एक्काइसौं शताब्दीका ठूला प्रदर्शनका रूपमा व्याख्या गरेका छन्। भक्समा प्रकाशित एक सामग्रीमा यी प्रदर्शनलाई सन् १९६० को दशकमा भएको भियतनाम युद्ध विरोधी आन्दोलन र सन् १९८० को दशकमा भएको रंगभेद विरोधी आन्दोलनसँग तुलना गरिएको छ।
न्यूयोर्क विश्वविद्यालयका सामाजिक अध्ययन र इतिहासका प्राध्यापक रोबर्ट कोहेनका अनुसार ती आन्दोलन जत्तिकै उत्कर्षमा पुगिनसकेका भए पनि यी आन्दोलन ‘एक्काइसौं शताब्दीकै ठूला’ विद्यार्थी प्रदर्शन हुन्। एक्काइसौं शताब्दी शुरू भएयता अमेरिकामा इराक युद्ध विरोधी, अकुपाई वालस्ट्रीट आन्दोलन र एक अश्वेत युवा जर्ज फ्लोडको हत्यापछि उठेको रंगभेद विरोधी आन्दोलन चर्चित छन्।