इलाममा शुरू भयो मतगणना
प्रतिनिधि सभा सदस्यका लागि इलाम २ मा भएको उपनिर्वाचनको मतगणना शुरू भएको छ।
सर्वदलीय बैठकमा बिहान ११ बजे मतगणना शुरू गर्ने निर्णय भएको थियो। तर केही व्यवस्थापन कार्यले गर्दा एक घण्टा ढिलो शुरू भएको हो।
इलाम नगरपालिका–७ स्थित गौतम बुद्ध सभागृहका छुट्टाछुट्टै दुई स्थानमा मतगणना शुरू गरिएको छ। यस क्षेत्रका ६ वटा स्थानीय तहमध्ये फाकफोकथुम गाउँपालिकाको मतपत्रबाट गणना शुरू भएको मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले बताए।
त्यसपछि क्रमशः चुलाचुली र माङसेबुङ गाउँपालिका, माई, देउमाई र इलाम नगरपालिकाको मतपत्र गणना गरिने यादवले बताए। सोमबार साँझसम्म अन्तिम मतपरिणाम आउने गरी तयारी गरिएको उनले बताए।
मतगणनास्थल सिटी हलमा सुरक्षा व्यवस्था कडा बनाइएको छ। मतगणनास्थलमा ११ वटा सीसी क्यामेरा जडान गरिएको तथा भीडभाड हुन नदिन चोकबजारमा डिस्प्ले मार्फत मतगणनाको अपडेट गरिनेछ।
१२ राजनीतिक दलका र सात स्वतन्त्र गरी १९ उम्मेदवार प्रतिस्पर्धामा रहेको उपनिर्वाचनमा ६९ हजार २८७ जनाले मतदान गरेका छन्।